
भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आज संघीय बजेट प्रस्तुत गर्दैछिन्। बिहान ११ बजे संसदमा पेश हुने यस बजेटमा मध्यम वर्ग, कर्मचारी र किसानहरूका लागि केही ठूला घोषणाहरू हुने अपेक्षा गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बजेटमा नयाँ कर प्रणाली अन्तर्गत 'स्ट्यान्डर्ड डिडक्सन' ७५ हजारबाट बढाएर १ लाख पुर्याउन सक्ने सम्भावना छ। यसो भएमा जागिरे वर्गको १३ लाख रुपैयाँसम्मको वार्षिक आम्दानी करमुक्त हुनेछ।
यसैगरी सरकारले सुन र चाँदीमा लाग्ने आयात शुल्क ६ प्रतिशतबाट घटाएर ४ प्रतिशतमा झार्न सक्ने अनुमान गरिएको छ। यदि यसो भएमा सुन प्रति १० ग्राम करिब ३ हजार र चाँदी प्रति किलो ६ हजार भारुले सस्तो हुन सक्छ।
यसैगरी'पीएम–किसान सम्मान निधि' अन्तर्गत किसानहरूले पाउँदै आएको वार्षिक ६ हजार रुपैयाँलाई बढाएर ९ हजार पुर्याइने सम्भावना छ। विगत २-३ वर्षदेखि यो रकम बढाउने चर्चा चल्दै आएको छ।
यसैगरी वेटिङ लिस्टको समस्या समाधान गर्न ३०० भन्दा बढी नयाँ 'अमृत भारत' र 'वन्दे भारत' रेलहरूको घोषणा हुन सक्छ। यस वर्ष रेलवेले अहिलेसम्मकै ठूलो बजेट पाउने अनुमान छ।
'पीएम सूर्य घर योजना' अन्तर्गत सोलार सिस्टममा दिइने अनुदान ३० हजारबाट बढाएर ४० हजार पुर्याइने र 'आयुष्मान भारत' स्वास्थ्य योजनाको लाभ लिने उमेर हद ७० बाट घटाएर ६० वर्ष कायम गरिने अपेक्षा समाचारमा गरिएको छ।