०६ साउन २०८३, बुधबार

इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ३२ प्यालेस्टिनीको मृत्यु

माघ १८, २०८२
काठमाडौं
इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ३२ प्यालेस्टिनीको मृत्यु

इजरायलले शनिबार गाजा पट्टीभर गरेको हवाई आक्रमणको शृंखलामा कम्तीमा ३२ प्यालेस्टिनीको मृत्यु भएको स्थानीय उद्धार अधिकारीहरूले जनाएका छन् ।

हमासद्वारा सञ्चालित नागरिक सुरक्षा निकायका अनुसार मारिनेमा महिला र बालबालिकासमेत छन् । निकायले जनाएअनुसार दक्षिणी शहर खान युनिसमा विस्थापितहरू बसिरहेको एउटा टेन्टमा हेलिकोप्टरबाट आक्रमण गरिएको थियो ।

प्यालेस्टिनीहरूका अनुसार गत अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्धविरामको दोस्रो चरण यसै महिना लागू भएयता यस्ता आक्रमण सबैभन्दा भीषण रहेका छन् ।

इजरायली सेनाले भने शुक्रबार हमासले युद्धविराम सम्झौता उल्लंघन गरेपछि त्यसको जवाफस्वरूप यी आक्रमण गरिएको दाबी गरेको छ । 

गत वर्षदेखि युद्धविराम लागू भएयता इजरायल र हमासले एक–अर्कामाथि सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै आएका छन् ।

इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पूर्वी रफाहमा रहेको भूमिगत आतंककारी संरचनाबाट आठ आतंककारी बाहिर निस्किरहेको अवस्थामा पहिचान गरिएको थियो  ।’

उक्त क्षेत्र अक्टोबरको सम्झौताअनुसार इजरायली सेनाको तैनाथी रहेको गाजा क्षेत्र हो ।

आईडीएफका अनुसार इजरायल सुरक्षा एजेन्सी (आईएसए)सँग मिलेर गाजाका विभिन्न स्थानमा आक्रमण गरिएको थियो । ती आक्रमणमा ‘चार जना कमान्डर र थप आतंककारी’, हतियार भण्डारण केन्द्र, हतियार उत्पादन स्थल तथा मध्य गाजा क्षेत्रमा हमासका ‘दुई प्रक्षेपण स्थल’ लक्ष्य बनाइएको जनाएको छ ।

हमासले आक्रमणको निन्दा गर्दै अमेरिकालाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेको छ । उसले ‘यी निरन्तर उल्लंघनहरूले इजरायली सरकारले गाजा पट्टीविरुद्ध नरसंहारको क्रूर युद्ध जारी राखेको पुष्टि गर्छ’ भनेको छ ।

हमासका अनुसार खान युनिसमा विस्थापित एकै परिवारका सात सदस्यको मृत्यु भएको छ । नागरिक सुरक्षा निकायका एक प्रवक्ताले आक्रमणले आवासीय अपार्टमेन्ट, टेन्ट, आश्रयस्थल र एक प्रहरी चौकीसमेत प्रभावित भएको बताए ।

गाजा सिटीस्थित शिफा अस्पतालका अधिकारीहरूका अनुसार शहरमा भएको एक हवाई आक्रमणले आवासीय अपार्टमेन्टमा प्रहार गर्दा तीन बालबालिका र दुई महिलाको मृत्यु भएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार मृत बालबालिकाका काका सामेर अल–अतबाशले भने, ‘हामीले मेरा तीन साना भतिजीहरू सडकमा भेट्टायौं । सबैले ‘युद्धविराम’ भन्छन् । ती बालबालिकाले के गल्ती गरेका थिए? हामीले के गरेका थियौं ?’

गाजाभरका विभिन्न स्थानबाट आएका भिडियो र तस्वीरमा भग्नावशेषबाट शव निकालिँदै गरेको र धेरै भवन ध्वस्त भएको देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्