
चीनले विद्युतीय सवारी साधन (ईभी) मा प्रयोग हुने हिडन डोर ह्यान्डलमाथि प्रतिबन्ध लगाएको छ। सुरक्षासम्बन्धी बढ्दो चिन्ता र दुर्घटनाका बेला ढोका नखुल्ने समस्या देखिएपछि यस्तो डिजाइन रोक्ने चीन विश्वकै पहिलो देश बनेको छ।
टेस्लाका मालिक इलन मस्कले लोकप्रिय बनाएको यो आधुनिक डिजाइन हाल चीनको 'न्यू इनर्जी भेइकल' (एनईभी) बजारमा निकै प्रचलित छ। तथ्याङ्कअनुसार चीनमा सर्वाधिक बिक्री हुने १०० वटा विद्युतीय र हाइब्रिड गाडीमध्ये ६० प्रतिशतमा यस्ता लुकेका ह्यान्डलहरू प्रयोग भइरहेका छन्।
पछिल्लो समय चीनमा साओमीका विद्युतीय गाडीहरू दुर्घटनामा पर्दा 'पावर फेल' (विद्युत् आपूर्ति बन्द) भएर ढोका नखुलेका कारण केही व्यक्तिको मृत्यु भएको थियो। यस्ता प्राणघातक घटनाहरूपछि सुरक्षा नियामकहरूले यसमाथि कडाइ गर्ने निर्णय गरेका हुन्।
चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको नयाँ नियमअनुसार सन् २०२७ को जनवरी १ देखि चीनमा बिक्री हुने सबै गाडीका ढोकाहरू भित्र र बाहिर दुवैतर्फबाट 'मेकानिकल' (यान्त्रिक) माध्यमबाट खोल्न मिल्ने हुनुपर्नेछ। नयाँ नियममा बाहिरी ह्यान्डलका लागि निश्चित आकारको खाली ठाउँ छोड्नुपर्ने र भित्रपट्टि ढोका कसरी खोल्ने भन्नेबारे स्पष्ट चिन्हहरू राख्नुपर्ने अनिवार्य गरिएको छ।
पहिले नै स्वीकृत भइसकेका र बजारमा आउन लागेका नयाँ मोडलहरूलाई भने यो डिजाइन परिवर्तन गर्न थप दुई वर्षको समय दिइएको छ। चीनको यो निर्णयले विश्वव्यापी अटोमोबाइल उद्योगमा ठूलो प्रभाव पार्ने देखिएको छ, किनकि चीन विश्वकै ठूलो सवारी साधन उत्पादक र उपभोक्ता हो।
यसैबीच, अमेरिकाको 'नेसनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशन'ले पनि टेस्लाका विद्युतीय डोर ह्यान्डलहरूमाथि अनुसन्धान सुरु गरेको छ।