
आईसीसी पुरुष टी-२० विश्वकपको १० औं संस्करण शुरू हुन पाँच दिनमात्र बाँकी छ । प्रतियोगिता फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।
यसअघि टी-२० विश्वकपको नौवटा संस्करण सम्पन्न भइसकेको छ । नेपाली टोलीले पनि यसअघि दुईपटक टी-२० विश्वकप खेलिसकेको छ । त्यसैले नेपालको यो तेस्रो सहभागिता हो ।
प्रतियोगिताको नौवटा संस्करण सम्पन्न हुँदासम्म ६ वटा टोलीले मात्र उपाधि जित्न सकेका छन् । भारत, वेस्ट इन्डिज र इङ्ल्यान्डले दुई–दुईपटक उपाधि चुमेका छन् ।
यसका अतिरिक्त, पाकिस्तान, अस्ट्रेलिया र श्रीलंकाले एक–एकपटक उपाधि जितेका छन् । यसपटक विश्वकपमा २० टोलीको सहभागिता रहने छ ।
अन्तिम समयमा आएर सुरक्षाको कारण देखाउँदै बंगलादेशले भारतीय भूमिमा विश्वकप नखेल्ने निर्णय लिएपछि आईसीसीले रिक्त स्थानमा स्कटल्यान्डलाई सहभागी गराएको छ ।
यसैगरी, पाकिस्तान क्रिकेट बोर्डले पनि अन्तिम समयमा आएर चिरप्रतिद्वन्द्वी भारतविरुद्धको खेल बहिष्कार गर्ने निर्णय लिएको छ । यद्यपि, भारत र पाकिस्तानबीचको खेल श्रीलंकामा राखिएको थियो ।

१० औं संस्करण शुरू हुन केवल पाँच दिन बाँकी रहँदा टी–२० विश्वकपको १९ वर्ष लामो इतिहास, यो विश्वकपबाट अन्तर्राष्ट्रिय क्रिकेटमा उदाएका खेलाडी, विश्वकपमा बनेका रोचक कीर्तिमानलगायतका विषयमा यहाँ संक्षिप्त रूपमा चर्चा गरिएको छ ।
रोहित शर्मादेखि सोहेल तनवीरसम्मले टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यू’ गरेको पहिलो संस्करण
० सन् २००७ को सेप्टेम्बर ११ देखि २४ तारिखसम्म दक्षिण अफ्रिकामा आयोजना ।
० दक्षिण अफ्रिका, बंगलादेश, वेस्ट इन्डिज, अस्ट्रेलिया, इङ्ल्यान्ड, जिम्बाब्वे, श्रीलंका, न्युजिल्यान्ड, भारत, पाकिस्तान, केन्या र स्कटल्यान्डगरी १२ टोलीको सहभागिता ।
० चिरप्रतिद्वन्द्वी पाकिस्तानमाथि पाँच रनको रोमाञ्चक जित निकाल्दै भारतद्वारा उपाधिमाथि कब्जा ।
० टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू : भारतका रोहित शर्मा, जोगिन्दर शर्मा र युसुफ पठान, दक्षिण अफ्रिकाका भेर्नन फिलान्डर र मोर्ने मोर्केल, वेस्ट इन्डिजका रामनरेश श्रवण र फिडेल एडवार्डस, जिम्बाब्वेका तातेन्डा ताइबु, भुसी सिवान्डा र तावान्डा मुपारिवा, अस्ट्रेलियाका ब्राड हज र मिचेल जोन्सन, इङ्ल्यान्डका ल्यूक राइट, ड्यारेन मेडी, क्रिस स्कोफिल्ड, जेरेमी स्नेप र क्रिस ट्रेमलेट, न्युजिल्यान्डका क्रिस मार्टिन, ड्यानियल भेट्टोरी र नाथन म्याककुलम, श्रीलंकाका जेहान मुबारक र गायन विजेकुन, पाकिस्तानका सोहेल तनवीर तथा बंगलादेशका जुनैद सिद्दकी ।

० वेस्ट इन्डिजका क्रिस गेल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा शतक प्रहार गर्ने पहिलो खेलाडी । उनले पहिलो दिन खेलिएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा केवल ५७ बलमा एक सय १७ रन बनाएका थिए ।
० पाकिस्तानविरुद्धको खेलमार्फत् स्कटल्यान्डले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेको ।
० भारतका युवराज सिंहद्वारा इङ्ल्यान्डका स्टुअर्ट ब्रोडलाई एउटै ओभरमा ६ वटा छक्का प्रहार ।
० अस्ट्रेलियन बलर ब्रेट लीद्वारा बंगलादेशविरुद्धको खेलमा ह्याट्रिक । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि बलरले लिएको पहिलो ह्याट्रिक ।
० अस्ट्रेलियामा म्याथ्यू हेडन (२६५ रन) सर्वाधिक रन बनाउने ब्याट्सम्यान र पाकिस्तानका उमर गुल (१३ विकेट) सर्वाधिक विकेट लिने बलर ।
रिकी पोन्टिङले सन्न्यास घोषणा गरेको दोस्रो संस्करण
० सन् २००९ को जुन ५ देखि २१ तारिखसम्म इङ्ल्यान्डमा आयोजना ।
० भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इङ्ल्यान्ड, श्रीलंका, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, आयरल्यान्ड, नेदरल्यान्ड्स र स्कटल्यान्ड गरी १२ टोलीको सहभागिता ।
० फाइनलमा श्रीलंकालाई आठ विकेटले हराउँदै पाकिस्तानद्वारा उपाधिमाथि कब्जा ।
० टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू : इङ्ल्यान्डका आदिल रसिद, इयोन मोर्गन, जेम्स फोस्टर र रोब की तथा पाकिस्तानका मोहम्मद आमिर र साहजेब हसन ।
० अस्ट्रेलियाका कप्तान रिकी पोन्टिङको अन्तिम टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता । उनले समूहगत चरणमा श्रीलंकाविरुद्ध आफ्नो अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेलेका थिए ।
० पाकिस्तानका उमर गुल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच विकेट लिने पहिलो बलर । उनले ‘सुपर–८’ चरणको न्युजिल्यान्डविरुद्धको खेलमा पाँच विकेट लिएका थिए ।
० श्रीलंकाका तिलकरत्ने दिल्लास (३१७ रन) सर्वाधिक रन बनाउने ब्याट्सम्यान र पाकिस्तानका उमर गुल (१३ विकेट) सर्वाधिक विकेट लिने बलर ।
इङ्ल्यान्डसँगै भारतका सुरेश रैनाले इतिहास रचेको तेस्रो संस्करण
० सन् २०१० को अप्रिल ३० देखि मे १६ तारिखसम्म वेस्ट इन्डिजमा आयोजना ।
० अस्ट्रेलिया, पाकिस्तान, बंगलादेश, न्युजिल्यान्ड, श्रीलंका, जिम्बाब्वे, भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, इङ्ल्यान्ड, अफगानिस्तान र आयरल्यान्ड गरी १२ टोलीको सहभागिता ।
० अस्ट्रेलियालाई सात विकेटले हराउँदै इङ्ल्यान्डद्वारा उपाधिमाथि कब्जा ।
० इङ्ल्यान्डको टोलीले पहिलोपटक आईसीसीद्वारा आयोजित ठूलो प्रतियोगिताको उपाधि जितेर इतिहास रचेको ।
० टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू : तेस्रो संस्करणमार्फत कुनै पनि खेलाडीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिएनन् ।
० सुरेश रैना टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो भारतीय ब्याट्सम्यान । उनले समूहगत चरणको दक्षिण अफ्रिकाविरुद्धको खेलमा एक सय एक रन बनाएका थिए ।
० श्रीलंकाका माहेला जयाबर्द्धने (३०२ रन) सर्वाधिक रन बनाउने ब्याट्सम्यान र अस्ट्रेलियाका डर्क नान्स (१४ विकेट) सर्वाधिक विकेट लिने बलर ।
सेहवागदेखि जहिरसम्मको सन्न्यासले भारतीय समर्थकलाई निराश बनाएको चौथो संस्करण
० सन् २०१२ को सेप्टेम्बर १८ देखि अक्टोबर ७ तारिखसम्म श्रीलंकामा आयोजना ।
० भारत, इङ्ल्यान्ड, अफगानिस्तान, अस्ट्रेलिया, वेस्ट इन्डिज, आयरल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका, जिम्बाब्वे, पाकिस्तान, न्युजिल्यान्ड र बंगलादेश गरी १२ टोलीको सहभागिता ।
० फाइनलमा श्रीलंकालाई ३६ रनले हराउँदै वेस्ट इन्डिजद्वारा उपाधिमाथि कब्जा ।
० टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डब्यू : अफगानिस्तानका नजिबुल्लाह जदरान, श्रीलंकाका दिल्सान मुनाविरा र अकिला धनन्जय तथा जिम्बाब्वेका ब्रायन भिटोरी ।
० भारतका लक्ष्मीपथी बालाजी, जहिर खान, इरफान पठान र वीरेन्द्र सेहवागको अन्तिम टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता । यी चारैजना खेलाडीले ‘सुपर–८’ चरणमा दक्षिण अफ्रिकाविरुद्ध आफ्नो अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेल खेले ।
० पाकिस्तान लगातार चारवटा टी–२० विश्वकपको सेमिफाइनलमा पुग्ने एकमात्र टोली ।
० अस्ट्रेलियाका सेन वाट्सन (२४९ रन) सर्वाधिक रन बनाउने ब्याट्सम्यान र श्रीलंकाका अजन्था मेन्डिस (१५ विकेट) सर्वाधिक विकेट लिने बलर ।
नेपाल पहिलो पटक विश्वकप मञ्चमा उभिएको ऐतिहासिक पाँचौं संस्करण
० सन् २०१४ को मार्च १६ देखि अप्रिल ६ तारिखसम्म बंगलादेशमा आयोजना ।
० पहिलो पटक १२ बाट बढाएर टोलीको संख्या १६ पुर्याइएको ।
० बंगलादेश, अस्ट्रेलिया, इङ्ल्यान्ड, भारत, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, आयरल्यान्ड, अफगानिस्तान, नेपाल, यूएई, नेदरल्यान्ड र हङकङको सहभागिता ।
० नेपालसँगै हङकङ र यूएईले पहिलो पटक आईसीसी विश्वकपमा सहभागिता जनाएको ।
० नेपालले मार्च १६ तारिखमा हङकङविरुद्ध विश्वकपको पहिलो खेल खेलेको । टी–२० विश्वकपको आफ्नो पहिलो खेलमै नेपाल ८० रनले विजयी ।

० हङकङविरुद्धको खेलमार्फत् नेपाली टोलीका पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, सागर पुन, सुवाष खकुरेल, विनोद भण्डारी, शरद भेषावकर, वसन्त रेग्मी, नरेश बुढाऐर, शक्ति गौचन, सोमपाल कामी र जितेन्द्र मुखियाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेको ।
० हङकङविरुद्धको खेलमा नेपाली टोलीका कप्तान पारस खड्काले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको आफ्नो पहिलो बलमै विकेट लिएको ।
० नेपाली टोली आफ्नो दोस्रो खेलमा बंगलादेशसँग आठ विकेटले पराजित भएको र तेस्रो खेलमा अफगानिस्तानलाई नौ रनले हराएको । समान अंक भए पनि नेट रन रेटमा बंगलादेशसँग थोरै अन्तरले पछि पर्दै नेपाली टोली अघिल्लो चरणमा पुग्न असफल भएको छ ।
० प्रारम्भिक चरणको खेलमा हङकङले बंगलादेशलाई दुई विकेटले हराएको । अन्तर्राष्ट्रिय क्रिकेटमा त्यो हङकङको पहिलो जित ।
० प्रारम्भिक चरणमा यूएई र नेदरल्यान्ड्सबीचको खेल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यूएईको पहिलो खेल थियो ।
० प्रारम्भिक चरणमा यूएई र आयरल्यान्डबीच खेल भइरहँदा फ्लडलाइट बिग्रिएर केही समय खेल अवरुद्ध भएको । अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो घटना विरलै हुन्छ ।
० फाइनलमा भारतलाई ६ विकेटले हराउँदै श्रीलंकाद्वारा उपाधिमाथि कब्जा ।
० टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू : अफगानिस्तानका तारकी, भारतका मोहम्मद सामी र मोहित शर्मा तथा बंगलादेशका तास्किन अहमद ।
० सुपर–१० चरणको न्युजिल्यान्डविरुद्धको खेलमा अम्पायरको निर्णयमाथि प्रश्न उठाएपछि इङ्ल्यान्डका कप्तान स्टुअर्ट ब्रोडमाथि जरिवाना ।
० न्युजिल्यान्डका ब्रेन्डन म्याककुलुम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई हजार रन पूरा गर्ने पहिलो ब्याट्सम्यान ।
० सुपर–१० चरणको खेलमा भारतले वेस्ट इन्डिजलाई सात विकेटले हराएको । आईसीसी टी–२० विश्वकपको इतिहासमा वेस्ट इन्डिजमाथि भारतको पहिलो जित ।
० पाकिस्तानका अहमद सेहजाद टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो पाकिस्तानी खेलाडी । उनले बंगलादेशविरुद्ध अविजित एक सय ११ रन बनाएको ।
० भारत र श्रीलंकाबीचको फाइनल श्रीलंकाका दुई प्रभावशाली खेलाडी कुमार सांगाकारा र माहेला जयाबर्द्धनेको अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेल ।
० श्रीलंकामा माहेला जयाबर्द्धने टी–२० विश्वकप क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडी ।
० भारतका विराट कोहली (३१९ रन) सर्वाधिक रन बनाउने ब्याट्सम्यान तथा दक्षिण अफ्रिकाका इमरान ताहिर र एहसान मलिक (१२–१२ विकेट) सर्वाधिक विकेट लिने बलर ।
४४ वर्षको उमेरमा विश्वकप ‘डेब्यू’ र क्रिस गेलको प्रदर्शनले चर्चित बनेको छैटौं संस्करण
० सन् २०१६ को मार्च ८ देखि अप्रिल ३ तारिखसम्म भारतमा आयोजित ।
० भारत, अस्ट्रेलिया, इङ्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज, बंगलादेश, जिम्बाब्वे, स्कटल्यान्ड, नेदरल्यान्ड्स, आयरल्यान्ड, हङकङ, अफगानिस्तान र ओमान गरी १६ टोलीको सहभागिता ।

० फाइनलमा इङ्ल्यान्डलाई चार विकेटले हराउँदै वेस्ट इन्डिजद्वारा उपाधिमाथि कब्जा ।
० टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू : वेस्ट इन्डिजका एभिन लुइस, बंगलादेशका सक्लिन साजिब र न्युजिल्यान्डका हेनरी निकोल्स ।
० समूहगत चरणको खेलमा ओमानले आयरल्यान्डलाई दुई विकेटले हराएको । टी–२० विश्वकपमा ओमानको पहिलो जित ।
० ओमानविरुद्धको खेलमा बंगलादेशका तामिम इक्वालको शतक । उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो बंगलादेशी ब्याट्सम्यान । उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पनि पहिलो बंगलादेशी खेलाडी ।
० हङकङका रायन क्याम्पबेल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्ने सबैभन्दा बढी (४४ वर्ष ३० दिन) उमेरका खेलाडी । उनले जिम्बाब्वेविरुद्धको खेलमा डेब्यू गरेको ।
० समूहगत चरणमा स्कटल्यान्डले हङकङलाई डकवर्थ एन्ड लुइस नियमका आधारमा आठ विकेटले हराएको । आईसीसीद्वारा आयोजित प्रतियोगितामा स्कटल्यान्डको पहिलो जित ।
० सुपर–१० चरणको इङ्ल्यान्डविरुद्धको खेलमा वेस्ट इन्डिजका क्रिस गेलले केवल ४७ बलमा शतक बनाएको । टी–२० विश्वकपको इतिहासमा हालसम्मकै सबैभन्दा कम बलमा शतकको कीर्तिमान । उनी टी–२० विश्वकपमा दुईवटा शतक प्रहार गर्ने पहिलो खेलाडी ।
० अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तान र वेस्ट इन्डिजबीच पहिलो पटक भिडन्त ।
० अस्ट्रेलियाका शेन वाट्शनको अन्तिम अन्तर्राष्ट्रिय खेल । उनले अन्तिम अन्तर्राष्ट्रिय खेल भारतविरुद्ध खेले ।
० बंगलादेशका तामिक इक्वाल (२९५ रन) सर्वाधिक रन बनाउने ब्याट्सम्यान र अफगानिस्तानका मोहम्मद नाबी (१२ विकेट) सर्वाधिक विकेट लिने बलर ।
० सन् २०१६ को अप्रिल ३ तारिखमा फाइनल जितेसँगै वेस्ट इन्डिजको अनौठो कीर्तिमान । अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा वेस्ट इन्डिजलाई एकै दिन दुईवटा विश्वकप उपाधि जित्ने पहिलो टोली । सोही दिन वेस्ट इन्डिजको महिला टोलीले समेत महिला टी–२० विश्वकपको उपाधि चुमेको थियो । वेस्ट इन्डिजले महिलातर्फको फाइनलमा अस्ट्रेलियालाई आठ विकेटले हराएको थियो ।
अस्ट्रेलियाले उपाधि कुम्ल्याएको र क्रिस गेलले विश्राम लिएको सातौं संस्करण
० सन् २०२१ को अक्टोबर १७ देखि नोभेम्बर १४ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा संयुक्त रूपमा आयोजना ।
० पहिलो पटक संयुक्त रूपमा दुई राष्ट्रद्वारा टी–२० विश्वकपको आयोजना ।
० भारत, अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज, आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स, ओमान, पपुवा न्यू गिनी (पीएनजी) र स्कटल्यान्ड गरी १६ राष्ट्रको सहभागिता ।
० न्युजिल्यान्डलाई आठ विकेटले हराउँदै अस्ट्रेलियाद्वारा उपाधिमाथि कब्जा ।
० टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू : ओमानका आयान खान र कस्यप प्रजापती तथा वेस्ट इन्डिजका रोस्टन चेज ।
० वानिन्दु हसरंगा टी–२० विश्वकपमा ह्याट्रिक विकेट लिने पहिलो श्रीलंकाली बलर । उनले दक्षिण अफ्रिकाविरुद्धको खेलमा ह्याट्रिक विकेट लिएका थिए ।
० वेस्ट इन्डिजका प्रभावशाली ब्याट्सम्यान क्रिस गेलको अन्तिम टी–२० खेल । उनले नोभेम्बर ६ तारिखमा अस्ट्रेलियाविरुद्ध अन्तिम खेल खेले ।
० कागिसो राबडा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक विकेट लिने पहिलो दक्षिण अफ्रिकी बलर । उनले इङ्ल्यान्डविरुद्ध ह्याट्रिक विकेट लिएका थिए ।
० अक्टोबर २४ तारिखमा भारत र पाकिस्तानबीच २००औं अन्तर्राष्ट्रिय खेल ।
० एकदिवसीय विश्वकप र टी–२० विश्वकपको इतिहासमा १३औं प्रयासमा पाकिस्तानद्वारा भारत पराजित । भारत टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक १० विकेटले पराजित ।
० अफगानिस्तानका मजिब उर रहमान टी–२० विश्वकप क्रिकेटको ‘डेब्यू’मै पाँच विकेट लिने पहिलो खेलाडी ।
० पाकिस्तानका बाबर आजम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम (२६) पालीमा एक हजार रन पूरा गर्ने पहिलो कप्तान । अफगानिस्तानविरुद्धको खेलमा यो उपलब्धि हासिल ।
० मोहम्मद सहजाद टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई हजार रन पूरा गर्ने अफगानिस्तानका पहिलो खेलाडी । नामिबियाविरुद्धको खेलमा यो उपलब्धि हासिल ।
० पाकिस्तानका बाबर आजम (३०३ रन) सर्वाधिक रन बनाउने ब्याट्सम्यान र श्रीलंकाका वानिन्दु हसरंगा (१६ विकेट) सर्वाधिक विकेट लिने बलर ।
इङ्ल्यान्डले दोस्रो पटक उपाधि चुमे पनि विराट कोहलीले इतिहास रचेको आठौं संस्करण
० सन् २०२२ को अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म अस्ट्रेलियामा आयोजना ।
० अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, इङ्ल्यान्ड, भारत, नामिबिया, न्युजिल्यान्ड, पाकिस्तान, स्कटल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज, आयरल्यान्ड, यूएई, नेदरल्यान्ड्स र जिम्बाब्वे गरी १६ टोलीको सहभागिता ।

० पाकिस्तानलाई पाँच विकेटले हराउँदै इङ्ल्यान्डद्वारा उपाधिमाथि कब्जा ।
० टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू : यूएईका फाहद नवाज ।
० टी–२० विश्वकपमा यूएईको पहिलो जित । प्रारम्भिक चरणमा नामिबियालाई सात रनले हराएको ।
० साम कुर्रन टी–२० अन्तर्राष्ट्रियको एउटै पालीमा पाँच विकेट लिने इङ्ल्यान्डको पहिलो बलर । सुपर–१२ चरणको अफगानिस्तानविरुद्धको खेलमा यस्तो उपलब्धि हासिल ।
० अस्ट्रेलियाका प्रभावशाली खेलाडी एरोन फिन्चको अन्तिम टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता । उनले सुपर–१२ चरणमा आयरल्यान्डविरुद्ध अन्तिम खेल खेले ।
० आईसीसीद्वारा आयोजित प्रतियोगितामा पाकिस्तानविरुद्ध जिम्बाब्वेको पहिलो जित । सुपर–१२ चरणमा जिम्बाब्वेले पाकिस्तानलाई एक रनले हराएको ।
० अस्ट्रेलियन भूमिमा खेलिएको टी–२० अन्तर्राष्ट्रिय खेलमा पाकिस्तानको पहिलो जित । सुपर–१२ चरणको पर्थमा खेलिएको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको ।
० श्रीलंकाका माहेला जयाबर्द्धनेलाई पछि पार्दै भारतका विराट कोहली टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान । बंगलादेशविरुद्धको खेलमा अविजित ६४ रन बनाउँदै कोहलीले यो उपलब्धि हासिल गरेको ।
० भारतका विराट कोहली टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा चार हजार रन पूरा गर्ने पहिलो ब्याट्सम्यान । उनले सेमिफाइनलमा इङ्ल्यान्डविरुद्ध यो सफलता हात पारे । यद्यपि, उक्त खेलमा भारत १० विकेटले पराजित भयो ।
० इङ्ल्यान्डका जस बटलर र एलेक्स हल्सद्वारा पहिलो विकेटका लागि एक सय ७० रनको साझेदारी । टी–२० विश्वकपको इतिहासमा त्यो हालसम्मकै सबैभन्दा ठूलो साझेदारी । कप्तान बटलरले अविजित ८० र हल्सले अविजित ८६ रन बनाएको ।
० भारतका प्रभावशाली खेलाडी रविचन्द्रन आश्विनको अन्तिम टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता । उनले सेमिफाइनलमा इङ्ल्यान्डविरुद्ध अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेले ।
० भारतका विराट कोहली (२९६ रन) सर्वाधिक रन बनाउने ब्याट्सम्यान र श्रीलंकाका वानिन्दु हसरंगा (१५ विकेट) सर्वाधिक विकेट लिने बलर ।
१० वर्षको विश्रामपछि नेपाली टोली विश्वकपमा फर्किएको नवौं संस्करण
० सन् २०२४ को जुन १ देखि २९ तारिखसम्म वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रूपमा आयोजना ।
० दुई राष्ट्रले आईसीसी पुरुष टी–२० विश्वकप संयुक्त रूपमा आयोजना गरेको दोस्रो पटक ।
० सहभागी टोलीको संख्या १६ बाट बढाएर २० पुर्याइएको ।
० वेस्ट इन्डिज, अमेरिका, अस्ट्रेलिया, इङ्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, अफगानिस्तान, बंगलादेश, आयरल्यान्ड, स्कटल्यान्ड, पपुवा न्यू गिनी, क्यानडा, नेपाल, ओमान, नामिबिया र युगान्डाको सहभागिता ।
० टी–२० विश्वकपमा नेपाली टोलीको दोस्रो सहभागिता ।

० समूह ‘डी’ मा रहेको नेपाल नेदरल्यान्ड्ससँग ६ विकेट, दक्षिण अफ्रिकासँग एक रन र बंगलादेशसँग २१ रनले पराजित । नेपाल र श्रीलंकाबीचको खेल भने वर्षाका कारण रद्द ।
० फाइनलमा दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतद्वारा उपाधिमाथि कब्जा ।
० आईसीसी पुरुष टी–२० विश्वकपमा अमेरिका र क्यानडाको पहिलो सहभागिता । जुन १ तारिखमा समूह ‘ए’ को पहिलो भिडन्त नै यी दुवै टोलीबीच । कुनै पनि ढाँचाको आईसीसी विश्वकपअन्तर्गत अमेरिकी भूमिमा खेलिएको पहिलो खेल ।
० रोहित शर्मा भारतलाई कप्तानको भूमिकामा सबैभन्दा बढी टी–२० अन्तर्राष्ट्रिय खेल जिताउने कप्तान । समूहगत चरणमा आयरल्यान्डलाई हराउँदै रोहितले महेन्द्रसिंह धोनीको कीर्तिमान तोडे ।
० टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तान र अमेरिकाबीच पहिलो भिडन्त । जुन ६ तारिखमा खेलिएको उक्त खेलमा अमेरिका सुपर ओभरमा विजयी ।
० भारतका विराट कोहलीलाई पछि पार्दै पाकिस्तानका बाबर आजम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी । अमेरिकाविरुद्ध ४३ बलमा ४४ रन बनाएपछि बाबर आजमको नाममा यो कीर्तिमान जोडिएको । हालसम्म पनि यो कीर्तिमान बाबर आजमकै नाममा ।
० आईसीसी टी–२० विश्वकपमा क्यानडाको पहिलो जित । जुन ७ तारिखमा खेलिएको समूहगत चरणको खेलमा आयरल्यान्डलाई १२ रनले हराएको ।
० टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र अमेरिकाबीच पहिलो खेल । जुन १२ तारिखमा खेलिएको उक्त खेलमा भारत सात विकेटले विजयी ।
० नामिबियाका निको डाभिन टी–२० विश्वकप क्रिकेटको इतिहासमा ‘रिटायर्ड आउट’ हुने पहिलो ब्याट्सम्यान । जुन १५ तारिखमा खेलिएको इङ्ल्यान्डविरुद्धको खेलमा उनी ‘रिटायर्ड आउट’ भएको ।
० कुनै पनि ढाँचाको आईसीसी विश्वकपमा युगान्डाको पहिलो जित । जुन ५ तारिखमा खेलिएको समूहगत चरणको खेलमा युगान्डाले पीएनजीलाई तीन विकेटले हराएको ।
० टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्यान्डमाथि अफगानिस्तानको पहिलो जित । जुन ७ तारिखमा खेलिएको समूहगत चरणको खेलमा अफगानिस्तान ८४ रनले विजयी ।
० न्युजिल्यान्डका प्रभावशाली खेलाडी ट्रेन्ट बोल्ट, टिम साउथी र केन विलियम्सनको अन्तिम टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता । यी तीनैजनाले जुन १७ तारिखमा पीएनजीविरुद्ध अन्तिम खेल खेले ।
० टी–२० विश्वकपमा श्रीलंकामाथि बंगलादेशको पहिलो जित । जुन ७ तारिखमा खेलिएको समूहगत चरणको खेलमा बंगलादेशले श्रीलंकालाई दुई विकेटले हराएको ।
० टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली लेग–स्पिनर सन्दीप लामिछानेको एक सय विकेट पूरा । जुन १६ तारिखमा खेलिएको बंगलादेशविरुद्धको खेलमा उनले यो उपलब्धि हासिल गरे ।
० बंगलादेशका सकिब अल हसन टी–२० विश्वकपको इतिहासमा ५० विकेट लिने पहिलो बलर । उनले जुन २२ तारिखमा खेलिएको भारतविरुद्धको खेलमा यस्तो उपलब्धि हासिल गरे ।
० अस्ट्रेलियाका प्याट कमिन्स टी–२० विश्वकपमा दुईपटक ह्याट्रिक विकेट लिने पहिलो बलर । जुन २२ तारिखमा खेलिएको अफगानिस्तानविरुद्धको खेलमा उनले दोस्रोपटक ह्याट्रिक विकेट लिए ।
० टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियामाथि अफगानिस्तानको पहिलो जित । जुन २२ तारिखमा खेलिएको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हरायो ।
० अस्ट्रेलिया प्रभावशाली खेलाडी डेभिड वार्नर, मिचेल स्टार्क र म्याथ्यू वेडको अन्तिम टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता । यी तीनैजना खेलाडीले जुन २४ तारिखमा भारतविरुद्ध अन्तिम खेल खेले ।
० अफगानिस्तानका रहमानुल्लाह गुरबाज (२८१ रन) सर्वाधिक रन बनाउने ब्याट्सम्यान तथा अफगानिस्तानका फजालहक फारुकी र भारतका अर्सदीप सिंह (१७–१७ विकेट) सर्वाधिक विकेट लिने बलर ।