
अनुहारमा सानो पिम्पल देखिनासाथ धेरैको मन त्यसलाई फुटाउन आतुर हुन्छ । पिम्पल फुटाउँदा तत्काल सन्तुष्टि मिलेजस्तो लागे पनि यो बानी छालाका लागि कत्तिको हानिकारक हुन सक्छ भन्ने कुरा धेरैले बुझ्दैनन् ।
छाला विशेषज्ञहरूका अनुसार पिम्पल फुटाउँदा अनुहारमा दाग बस्ने मात्र नभइ संक्रमणको जोखिम पनि निकै बढ्छ । त्यसैले अनुहारमा पिम्पल देखिए पनि त्यसलाई फुटाउने गल्ती गर्नु हुँदैन ।
संक्रमणको बढ्दो खतरा
पिम्पल फुटाउँदा छालामा खुला घाउ जस्तै अवस्था बन्छ । हात र नङमा थुप्रै प्रकारका ब्याक्टेरिया हुन्छन् । पिम्पल फुट्नेबित्तिकै ती ब्याक्टेरिया खुला प्वाल हुँदै छालाभित्र प्रवेश गर्न सक्छन् । यसले पिम्पल भएको ठाउँमा गम्भीर संक्रमण हुन सक्छ । यसका कारण दुखाइ र पस जम्ने समस्या अझ बढ्न सक्छ ।
छालामा जलन र सूजन
छाला अत्यन्त संवेदनशील हुन्छ भने नङ तुलनात्मक रूपमा कडा हुन्छ । पिम्पल निकाल्न नङले चर्को दबाब दिँदा वरिपरिको छाला कोष (सेल) क्षतिग्रस्त हुन्छ । यसले छालामा जलन र गम्भीर सूजन निम्त्याउन सक्छ ।
कतिपयले पिम्पल निकाल्ने उपकरण (टुल्स) प्रयोग गर्ने गर्छन् । तर चिकित्सकको सल्लाहबिना यस्ता उपकरण प्रयोग गर्दा छाला चिलिन वा थप क्षति हुन सक्छ । त्यसैले आफैंले यस्ता टुल्स प्रयोग गर्नु उपयुक्त हुँदैन ।
छालामा स्थायी दाग
पिम्पल दबाउँदा हुने सबैभन्दा गम्भीर असर भनेको स्थायी दाग (स्कार) पर्नु हो । अत्यधिक दबाब दिँदा रगत निस्कन सक्छ र छालाभित्रका टिस्यु गहिरोसम्म क्षतिग्रस्त हुन सक्छन् ।
महत्त्वपूर्ण कुरा के हो भने धेरै पिम्पल छालाको माथिल्लो सतहमा नभइ भित्र गहिराइमा हुन्छन् । यस्ता पिम्पललाई दबाउँदा बाहिर ननिस्केर अझै भित्रै रहन्छन् र छालालाई थप क्षति पुर्याउँछन् । यही कारणले पछि गहिरा खाल्डा वा कालो दाग देखिन सक्छन् ।
पिम्पल फुटाउँदा त्यसबेला सही जस्तो लागे पनि यसको असर दीर्घकालीन रूपमा अनुहारको सौन्दर्यमा नकारात्मक पर्न सक्छ । पिम्पलको समस्या धेरै छ भने आफैँ उपचार गर्ने प्रयास नगरी छाला विशेषज्ञको सल्लाह लिनु नै बुद्धिमानी हुन्छ ।