
बलिउड अभिनेता राजपाल यादवले बिहीबार दिल्ली उच्च अदालतको आदेशपछि तिहाड जेलमा आत्मसमर्पण गरेका छन् ।
चेक बाउन्ससम्बन्धी मुद्दामा सुनाइएको सजायको सन्दर्भमा दिल्ली उच्च अदालतले उनलाई तत्काल आत्मसमर्पण गर्न निर्देशन दिएको थियो ।
अदालतले अभिनेता भएको वा फिल्म उद्योगसँग जोडिएको आधारमा उनलाई कुनै विशेष छुट दिन नमिल्ने कुरा पनि स्पष्ट पारेको थियो ।
समाचार एजेन्सी पीटीआईका अनुसार राजपाल यादवले बिहीबार साँझ करिब चार बजे जेल अधीक्षकसमक्ष आत्मसमर्पण गरेका हुन् । जेल प्रशासनका अनुसार अबको प्रक्रिया जेल म्यानुअलअनुसार पूरा गरिनेछ ।
यसअघि, २ फेब्रुअरीमा दिल्ली उच्च अदालतकी न्यायाधीश स्वर्णा कान्ता शर्माले राजपाल यादवलाई ४ फेब्रुअरीसम्म आत्मसमर्पण गर्न समय दिएकी थिइन् ।
तर ४ फेब्रुअरीसम्म आत्मसमर्पण नगरेपछि अदालतले कडा असन्तुष्टि व्यक्त गरेको थियो ।
अदालतले निर्देशनको अवहेलना गर्नु कानूनप्रतिको सम्मानको कमी भएको टिप्पणी गरेको थियो ।
उच्च अदालतले आत्मसमर्पण नगरी कुनै पनि किसिमको थप सुनुवाइ नहुने स्पष्ट पारेको थियो ।
यसपछि ५ फेब्रुअरीमा राजपाल यादवले जेलमा आत्मसमर्पण गरेका हुन् ।