
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रंपले पूर्वराष्ट्रपति बराक ओबामा र उनकी पत्नी मिशेल ओबामालाई लक्षित गर्दै बनाइएको नस्लवादी क्लिप समावेश भएको एउटा भिडियो सामाजिक सञ्जालबाट हटाएका छन् ।
‘द लायन स्लीप्स टुनाइट’ गीतको प्रयोग गरिएको ६२ सेकेन्ड लामो उक्त भिडियोको अन्त्यमा सो अपमानजनक क्लिप थियो । ट्रंपले यसलाई सन् २०२० को राष्ट्रपति चुनावमा ‘भोटर फ्रड’ भएको दाबी गर्दै सार्वजनिक गरेका थिए ।
शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै ट्रंपले भने, ‘मैले कुनै गल्ती गरेको छैन ।’ उनका अनुसार भिडियो पोस्ट गर्नु अघि यसको सुरुआती भाग मात्र हेरेका थिए । त्यसमा ओबामालाई अपमानजनक रूपमा प्रस्तुत गरिएको कुरा आफूलाई थाहा नभएको उनले बताए ।
यस घटनाको जिम्मेवारी उनले आफ्ना स्टाफका एक सदस्यमाथि थोपरेका छन् ।
उक्त भिडियो ट्रंपको सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’ मा करिब बाह्र घण्टासम्म रहेको थियो । सुरुमा ह्वाइट हाउसले उक्त क्लिपको बचाउ गर्दै यसलाई ‘इन्टरनेट मीम भिडियो’ भनेको थियो ।
तर कडा विरोध भएपछि ट्रंपको ट्रुथ सोशल अकाउन्टबाट उक्त पोस्ट हटाइएको हो ।