
स्पेनिस ला लिगा अन्तर्गत नोउ क्याम्पमा खेलिएको खेलमा बार्सिलोनाले मायोर्कालाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै लिग तालिकाको शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ।
बार्सिलोनाको जितमा भेट्रान स्ट्राइकर रोबर्ट लेवान्डोस्की र युवा प्रतिभाहरू लामिन यामल तथा मार्क बर्नालले एक–एक गोल गरे। यो सिजन घरेलु मैदानमा खेलिएका ११ वटै खेलमा बार्सिलोनाले जित निकाल्न सफल भएको छ।
खेलको पहिलो हाफमा मायोर्काका जान भर्जिलीले बार्सिलोनाका डिफेन्डर जुल्स कुन्डेलाई केही दबाब दिए पनि पाहुना टोलीले गोलको अवसर भने जुटाउन सकेन। खेलको पहिलो गोल रोबर्ट लेवान्डोस्कीको नाममा रह्यो। मार्कस रासफोर्डको प्रहार ड्यानी ओल्मोसँग ठोक्किएर फर्किएपछि प्राप्त बललाई लेवान्डोस्कीले ९ यार्डबाट जाली चुमाएका थिए। पहिलो हाफमा १–० को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा थप आक्रामक खेल प्रदर्शन गर्यो।
खेलको ६० मिनेटपछि १८ वर्षीय लामिन यामलले २५ यार्ड टाढाबाट उत्कृष्ट प्रहार गर्दै टोलीको अग्रता दोब्बर बनाए। यो मायोर्का विरुद्धका पछिल्ला ६ खेलमा उनको तेस्रो गोल हो। खेलको अन्त्यतिर अर्का १८ वर्षीय खेलाडी मार्क बर्नालले काउन्टर अट्याकमार्फत क्लबका लागि आफ्नो पहिलो गोल गर्दै बार्सिलोनाको जित ३–० ले सुनिश्चित गरे। यस जितले आइतबार भ्यालेन्सियासँग खेल्न लागेको प्रतिद्वन्द्वी रियल म्याड्रिडमाथि थप दबाब सिर्जना गरेको छ।
पछिल्लो समय युरोपियन सुपर लिग प्रोजेक्टबाट बाहिरिने घोषणा गरेको हान्सी फ्लिकको टोली बार्सिलोनाले अब बिहीबार कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा एट्लेटिको म्याड्रिडको सामना गर्नेछ। उता पराजित मायोर्का भने रेलिगेसन जोनभन्दा केही माथि रहेको छ र उसले आफ्नो अर्को खेल फेब्रुअरी १५ मा रियल बेटिससँग खेल्नेछ।