
मकवानपुर क्षेत्र नम्बर १ मा अघिल्लोपटक (२०७९ मा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक सिंहलाई 'सरप्राइज' जीत दिलाएका स्वीङ भोटर यसपटक घण्टी (राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न)तर्फ केन्द्रित भएको पाइएको छ । हेटौंडा उपमहानगरपालिका र गढी गाउँपालिकाका कैयन वडामा पुगेर स्थानीयसँग कुराकानी गर्दा अघिल्लोपटक हलो (राप्रपा)लाई मत दिएको बताउने धेरैले यसपटक 'घण्टी बजाउने' बताए । रास्वपाले मकवानपुर-१ मा हेटौंडाकै ३७ वर्षीय प्रकाश गौतमलाई उम्मेदवार बनाएको छ ।
अघिल्लोपटक द्वितर्फी गठबन्धनविरुद्ध सिंहले नाटकीय जीत हात पारेका थिए । त्यहाँ नेपाली कांग्रेस, तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहित ५ दलीय गठबन्धनबाट कांग्रेसकी तत्कालीन सहमहामन्त्री महालक्ष्मी उपाध्याय 'डिना' उम्मेदवार बनेकी थिइन् ।
तत्कालीन राप्रपा नेपालका अध्यक्ष कमल थापा एमालेको सूर्य चिह्नबाट उम्मेदवार बनेका थिए । तर, जीत भने एक्लै लडेका राप्रपाका दीपक सिंहले हात पारे । पार्टीको संगठनात्मक भोट, व्यक्तिगत छवि तथा गठबन्धनविरोधी मतको बलमा सिंह निर्वाचित भएका थिए ।
ग्रामीण क्षेत्रको मतगणनामा पछि परेका सिंहले हेटौंडा बजार क्षेत्रको केही वडामा अप्रत्यासित ढंगले अग्रता कायम गर्दा जीत सम्भव भएको थियो ।
हामीले भेटेकामध्ये कतिपय राप्रपाका परम्परागत मतदाता थिए भने अधिकांशले गठबन्धनलगायत विभिन्न कारणले सिंहलाई मत दिएको बताए ।
शुरूमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ सचेतटोलमा भेटिएकी ५२ वर्षीय एक महिलाले अघिल्लोपटक सिंहलाई मत दिएको बताइन् । 'पहिले हामीले नै मत दिएर दीपक सिंहलाई जिताएको हो । कोही आए पनि केही गरेनन्, माखो मारेनन् । यसपटक घण्टी बजाउँछौं ।'
उनले २०७९ अघि एमालेलाई मत दिने गरेको बताइन् ।

उनीसँगै रहेका अरू २ महिला र एक पुरुषले पनि स्वर मिसाए । 'जसलाई भोट दिए पनि केही नहुने रहेछ । जितेपछि स्वागत थाप्न आउँदा एकपटक देखेको हो, त्यसपछि देखिएन । अब भोट माग्न आए भने मुखभरिको जवाफ दिएर पठाउँछौं ।'
कुराकानीकै क्रममा अर्का एक पुरुष मतदाता घरबाट निस्किए ।
परैबाट उनले चिच्चाए- 'एक भोट घण्टीलाई, एक भोट आन्टी'लाई भन्ने सल्लाह छ हाम्रोमा । उनले 'आन्टी' भनेर नेपाली कांग्रेसकी उम्मेदवार डिनातर्फ इंगित गरेका थिए । प्रत्यक्षमा डिना उम्मेदवार रहेको रूख र समानुपातिकमा घण्टीलाई मत दिने उनको संकेत थियो ।
त्यसपछि हामी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ कमाने पुग्यौं । त्यहाँ पनि अर्का एक मतदाता भेटिए । चुनावी विषय निकाल्नेवित्तिकै उनले भने- 'यसपटक घण्टी बजाउने हो ।'

हामीले कसलाई मत दिनुहुन्छ ? भनेर सोधेका थिएनौं । उनले आफैं अग्रसर भएर त्यसो भनेका हुन् । त्यसपछि हामीले उनको विगतको मतबारे जान्न चाह्यौं । कुरा खोतल्दै जाँदा उनले पनि अघिल्लोपटक दीपक सिंहलाई मत दिएको खुलाए ।
हामी उनीसँग अझै केहीबेर गफियौं । त्यसपछि उनले आफू राप्रपाको परम्पारागत मतदाता भए पनि यसपटक मनस्थिति बदलिएको संकेत गरे । 'हाम्रो परिवार नै जमानादेखि राप्रपा हो । अघिल्लोपटक दीपक सिंहलाई जिताएको हो, यसपटक घण्टी-घण्टी भन्या छन्, तै पनि एकचोटि सल्लाह गरेर निर्णय लिन्छौं ।'
तर, सिंहप्रति पनि उनको सकारात्मक प्रतिक्रिया नै थियो । 'मान्छे स्वच्छ नै हो, तर गर्न खोज्दा पनि (काम गर्न) दिएनन् ।'
उनले गठबन्धनका कारण कांग्रेसले वडाध्यक्ष जिते पनि सो वडामा एमालेको वर्चश्व रहेको बताए ।
उनीसँग बिदा भएर केही अघि बढ्दा लुँडो खेलिरहेका पुरुषहरूको एउटा टीम भेटियो । सो टीममा पुगेर चुनावी माहोलबारे जिज्ञासा राख्दा एमालेका कट्टर मतदाता भेटिए । नाम कृष्णप्रसाद अर्जेल, उमेर ४७ वर्ष । उनी एमालेको वडा कमिटी सचिवालय सदस्य रहेछन् ।

शुरूमा उनले चुनाव हुनेमा नै संशय व्यक्त गरे । उनले एमालेका उम्मेदवार रामेश्वर राना सर्वस्वीकार्य र इमान्दार रहेकाले जीत निकाल्ने दाबी गरे । 'हाम्रो वडामा एमालेको निकै राम्रो छ । अघिल्लोपटक वडामा गठबन्धनसँग हारेको हो । अहिले पनि खासै बिग्रिएको छैन । २/४ प्रतिशत तलमाथि हुनु सामान्य कुरा हो ।'
हेटौंडा ६ का नरबहादुर सापकोटाले पनि यसपटक घण्टीमा भोट हाल्ने बताए । अघिल्लोपटक दीपक सिहंलाई नै मत दिएका उनले सिंहप्रति तीव्र आक्रोश व्यक्त गरे ।
'सरकारले सडक विस्तारका नाममा घर भत्काइदियो । बेघर हुनुपर्ने अवस्था आयो । बुढाबुढी छौं, कहाँ बस्ने ?' ७२ वर्षीय सापकोटाले भने, 'त्यो दीपक सिंह यही बाटो हिँड्छ, मेरो घरमा पानी पस्दा आँखा बटारेर गयो, के भयो, कसो भयो भनेर पनि सोधेन । मेरो यो कुरा लेखिदिनुस्, भेट भयो भने उसलाई सुनाइदिए हुन्छ, फलानोले यसो भनेको छ भनेर ।'

हेटौंडा ७ का केशवप्रसाद दंगाल लामो समयदेखि एमालेका मतदाता रहेछन् । तर, उनले पनि यसपटक एमालेलाई मत नदिने बताए । 'रामेश्वर राना राम्रो मान्छे हुन् । खोट लगाउने ठाउँ छैन, जितेर गए भने ओलीका लागि हो, त्यसैले हामी भोट दिँदैनौं,' उनले भने ।
जेनजी आन्दोलनमा प्रहरीको गोलीबाट युवाहरू मारिएको विषयमा उनको तीव्र आक्रोश थियो ।
अलि अगाडि भेटिएका वडा नम्बर ६ का एक मतदाताले मकवानपुर पहिले एमालेको लालकिल्ला भए पनि अहिले समय बदलिएको बताए । 'मकवानपुर जिल्ला, एमालेको लालकिल्ला भन्दै हिँड्ने हामी नै हो । तर, अहिले भोट हालिन्न ।'

व्यक्तिगत रूपमा एमाले उम्मेदवार रामेश्वर राना राम्रो व्यक्ति भए पनि नेतृत्वका कारण मत नदिने बताएका उनलाई हामीले 'पार्टीको नेतृत्व फेरिएको भए दिनुहुन्थ्यो ?' भनेर सोध्यौं । 'त्यस्तो भएको भए सोच्न सकिन्थ्यो' भन्ने जवाफ दिए ।
हेटौंडा- १७ मा पहिलो यस्तो मतदाता भेटिए, जसले यसपटक दोहोर्याएर दीपक सिंहलाई मत दिने बताए । उनी थिए, ७३ वर्षीय विष्णुप्रसाद घिमिरे ।
उनले कमल थापाको बुवाको पालादेखि नै आफ्नो परिवार राप्रपा भएको बताए ।
घिमिरेले दीपक सिंहको प्रशंसा गरे । 'इमान्दार मान्छे हो, उसलाई कसैको केही चाहिएको छैन, खाए पनि बाघा (बाघको) मुख रातै, नखाए पनि बाघा मुख रातै,' उनले थपे, 'उसले जनताका लागि काम गर्ने हो, राप्ती किनारमा जति ढुंगा छन्, मर्दा मेरो त्यति नै मलामी हुनुपर्छ भन्ने उसको कुरा छ ।'

उनले धर्मसंस्कार मासिएको भन्दै आक्रोश पोखे । यताउता हिँड्दा दीपक सिंह आफ्नो घरमा नपसी नजाने उनको भनाइ थियो ।
हेटौंडा ५ पिप्लेमा भेटिएका मतदाता जनार्दन चालिसेले यसपटक चारपक्षीय प्रतिस्पर्धा हुने बताए । 'घण्टी, सूर्य र रूखको प्रतिस्पर्धा छँदैछ, नेकपाको भाइ (नेकपा उम्मेदवार विजय गौतम) पनि राम्रो छ । यसपटक चारपक्षीय प्रतिस्पर्धा हुन्छ ।'
पेशाले मर्केटिङ गर्ने ३२ वर्षीय दीपक आचार्यले यसपटक नयाँलाई हेर्ने बताए । 'उम्मेदवार को उठ्या छ, चिनेको छैन । हामीसँग भोट माग्न आएको पनि छैन । यसपटक नयाँलाई हेर्ने हो । घण्टी बजाउने हो,' उनले भने ।

हेटौंडाकै अर्का एक मतदाता ध्रुव वाग्लेले विचार परिवर्तन गर्ने बताए । 'समाज रूपान्तरणका लागि विचार परिवर्तन गर्नुपर्छ । २०६४ मा जनताले माओवादीलाई हेरे । नाकाबन्दीपछि ओलीलाई पनि हेरेकै हो । यसपटक पनि विचार परिवर्तन गर्नुपर्छ,' उनले भने ।
वडा नम्बर २ की ३५ वर्षीया एक महिलाले यसपटक घण्टी बजाउने बताइन् । 'यसपटक घण्टी बजाउने हो, मलाई रवि लामिछाने (रास्वपा सभापति) मन पर्छ,' उनले भनिन् ।
त्यहीँ भेटिएका ३० वर्षीय युवाले भने रवि र बालेन्द्र शाह दुवैलाई 'प्लान्टेड पात्र' भन्दै आलोचना गरे । जनताले हालेको वास्तविक भोटको रिजल्ट नआउने दाबी गर्दै उनले भोट नै नहाल्ने बताए ।
हेटौंडाकै अर्का मतदाता विष्णु चौलागाईंले पनि एकपटक नयाँलाई हेर्ने बताए । 'मास्टर पढेको मान्छेलाई रोजगारी छैन । देशमा भ्रष्टाचार धेरै भयो,' उनले भने, 'यसपटक नयाँलाई हेर्ने सोचेका छौं ।'

हेटौंडा महानगरपालिका वडा नम्बर १० का एक मतदाताले इमान्दार उम्मेदवार भएका कारण एमालेका रामेश्वर रानालाई मत दिने बताए । आफ्नो वडामा एमालेले नै जितेको उनको भनाइ थियो ।
हेटौंडा ५ की एक महिलाले पटक-पटक चुनाव लडे पनि हार्दै आएकाले यसपटक डिनालाई जिताउनुपर्ने बताइन् । 'अरूका छोराछोरीले विदेशबाट फोन गरेर फलानोलाई भोट हाल्नुस् भने भन्छन्, हाम्रो छोराछोरीले त्यस्तो भन्दैनन्, आमा उम्मेदवार हेरेर भोट हाल्नुस् भनेका छन् ।'
त्यस्तै, हेटौँडा- ८ की अर्की एक महिलाले छोराछोरीले घण्टीलाई भोट हाल्नुस् भने पनि रुखबाहेक अन्यत्र आफ्नो हातै नजाने बताइन् ।
'भोट केमा ?' भनेर सोध्न आउनेलाई 'घण्टीमा' भनेर पठाइदिने गरेको उनको भनाइ थियो । 'यहाँ सोध्न आउँछन्, भोट घण्टीमा भनिदिएपछि मख्ख परेर जान्छन्, एकछिन भने पनि खुशी होऊन् न, विचारा किन निराश बनाइदिनु ?' उनले भनिन् ।
हेटौंडा १२ का एक मतदाताले नेकपाका विजय गौतमलाई मत दिने बताए । आफ्नो वडामा नेकपाको पनि राम्रै मत रहेको उनको भनाइ थियो । 'त्यसो त नेकपा उम्मेदवार विजय गौतमसँगको कुराकानीमा पनि उनले वडा नम्बर ९, १२, १३ र १४ मा आफूहरूले राम्रै आश गरेको बताएका थिए ।
मकवानपुरगढी गाउँपालिका २ की ३५ वर्षीया सुशीला थिङले कुलमान घिसिङको पार्टी उज्यालो नेपाललाई मत दिने बताइन् । रवि र बालेनलाई जनताले चिन्न नसकेको भन्दै उनले देशका लागि कुलमान घिसिङको आवश्यकता रहेको तर्क गरिन् ।

सोही वडाका अर्का एक मतदाताले आफ्नो वडामा कांग्रेसको पकड रहेको र एकाधबाहेक सबै मत कांग्रेसलाई नै जाने जिकिर गरे ।
मकवानपुरगढी १ का जनजाति पृष्ठभूमिकै अर्का एक मतदाताले पनि कांग्रेसलाई नै मत दिने बताए ।
बिहीबार र शुक्रबार हेटौंडा तथा मकवानपुरगढीका विभिन्न बस्ती चहार्दा हामीले सोधेकामध्ये करिब ६० प्रतिशत मतदातले घण्टीमा भोट हाल्ने बताए ।
त्यसपछि कांग्रेस-एमाले र निकै कम स्थानमा नेकपा उम्मेदवारको नाम लिने मान्छे भेटिए । माथि उल्लेख भएकाबाहेक पनि कैयन मतदातासँग अनौपचारिक कुराकानी भएको थियो ।
उम्मेदवारको छैन परवाह,चिह्नमै ध्यान !
घण्टीलाई भोट हाल्ने बताएका अधिकांशले उम्मेदवारबारे राम्रोसँग बताउन सकेनन् । यद्यपि, मकवानपुर २ को तुलनामा १ मा उम्मेदवारको नाम थाहा हुने व्यक्ति धेरै भेटिए ।
सबैभन्दा रोचक त के भने एक मतदाताले हाकाहाकी भने- 'घण्टीले राम्रो मान्छे उठाएन । यहाँ दोहोरीसाँझ चलाउने मान्छे हो । त्योभन्दा एमाले र नेकपाका उम्मेदवार राम्रा छन्, तर पनि रवि-बालेनको मुख हेरेर भोट हाल्छौं ।'
अर्का एक मतदाताले एमालेका रामेश्वर राना निष्कलंक र इमान्दार व्यक्ति भए पनि सो पार्टीको नेतृत्वका कारण भोट नहाल्ने बताए ।

नेकपाका विजय गौतमलाई राम्रो उम्मदेवार हुन् भन्ने अधिकांशले पनि तारामा भोट हाल्छु भनेनन् । तर, घण्टीमा भोट हाल्छु भन्नेहरू सबैको एक स्वर थियो- 'एकपटकलाई हेर्ने हो ।'
विगतको चुनावी गणित र उम्मेदवारका कुरा
मकवानपुर १ मा बागमती र बकैया गाउँपालिकाका पूरै वडा, हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर २, ४, ५, ६, ७, ८, ९, १०, १२, १३, १४, १५, १६, १७ र १८ तथा मकवानपुरगढी गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ पर्दछन् ।
अघिल्लोपटक हेटौंडा उपमहानगरपालिकाको मेयरमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार तत्कालीन नेकपा (एकीकृत समाजवादी)की मीनाकुमारी लामा २३ हजार ७५ मत ल्याएर विजयी हुँदा एमालेका अनन्तप्रसाद पौडेलले २० हजार ९०८ मत पाएका थिए ।
पछि सांसद बनेका दीपक सिंहले २० हजार ५३१ मत ल्याएका थिए ।
वडातर्फ ४, ५, १०, ११, १३, १४, १५, १८ र १९ मा एमाले २, ६, ७, ८, १६ र १७ मा कांग्रेस तथा ९ र १२ (पछि उपनिर्वाचन हुँदा कांग्रेस विजयी) मा हालको नेकपामा समहित दलका उम्मेदवार विजयी भएका थिए ।
यसैगरी, मकवानपुरगढीका १ र २ नम्बर वडा कांग्रेस तथा ३ र ४ नब्बर वडामा एमाले विजयी भएका थिए ।
बागमती गाउँपालिकाको अध्यक्षमा नेकपाका सर्केश घलान ७ हजार ३८४ मत ल्याएर विजयी हुँदा एमालेका खेमराज जर्गा मगरले ६ हजार १६६ मत पाएका थिए । यहाँ कांग्रेस-माओवादी लगायतको गठबन्धन थियो ।
वडातर्फ एक्लाएक्लै प्रतिस्पर्धा गर्दा १, २, ३, ४ र ५ माओवादी, ६, ८ र ९ मा एमाले तथा ७ नम्बर वडामा कांग्रेस विजयी भएका थिए ।
यसैगरी, बकैया गाउँपालिकाको अध्यक्षमा कांग्रेस (गठबन्धन)का धर्मराज लामिछाने ११ हजार २९२ मत ल्याएर विजयी हुँदा एमालेका सरला बोलखेले ७ हजार ६६ मत पाएकी थिइन् ।
वडातर्फ १, २, ७ र ८ माओवादी, ३, ४ र ६ एमाले तथा ५, ९, १०, ११ र १२ माओवादीले जितेका थिए ।
'कमिटेड भोट'मा पुराना दलको ध्यान,स्विङ भोटरले बदल्लान् नतिजा?
मकवानपुर १ मा एमालेले उम्मेदवारको पृष्ठभूमिका कारण निकै आश गरेको देखिन्छ । तर, पार्टी नेतृत्वसँग जोडेर गरिएको प्रश्नका कारण थोरै सजग पनि छ । 'बलियो संगठनात्मक मत तथा उम्मेदवारको स्वच्छ तथा इमान्दार पृष्ठभूमि हाम्रो जीतको बलियो आधार हो,' चुनावी अभियानमा खटिएका एमाले नेता-कार्यकर्ता भन्छन् ।
अर्कातर्फ, कांग्रेसकी डिनाले पार्टीको नेतृत्व परिवर्तनदेखि आन्तरिक एकता भएको भन्ने तर्कमा जोड दिइरहेकी छन् । डिना सभापति गगन थापाको तस्वीरसहितको ब्यानर राखेर चुनावी अभियान गर्दै हिँडेकी छन् ।

हेटौंडा ५ को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गरेको भेटिएकी डिनाले पार्टी एकढिक्का भएको जिकिर गर्दै सभापति गगन थापालाई प्रधानमन्त्री बनाउन मत दिन आग्रह गरिन् । 'समय बदलिएको छ । पार्टी एक ढिक्का भएर आएको छ । सभापतिलाई प्रधानमन्त्री बनाउनु छ,' भेलामा उनले भनेकी थिइन् ।
उनले एउटा महिलालाई पटक-पटक हराएर अन्याय गरियो भन्ने मतदातालाई परेकाले आफूले जित्ने तर्कसमेत गरिन् ।
एमाले-कांग्रेसले बागमती, बकैया र मकवानपुरगढीको मतमा हेटौंडाको संगठित मत जोडेर जीत निकाल्ने रणनीति बनएका छन् ।
अर्कातर्फ, नेकपा पनि बागमतीमा संगठनात्मक पकड, बकैया उम्मेदवारको गृहपालिका हुनुका साथै बलियो संगठन र हेटौंडाका केही वडामा मत आउने आशसहित चुनावी अभियानमा अगाडि बढेको छ ।
नेकपा उम्मेदवार विजय गौतमले बागमती र बकैया गाउँपालिका तथा हेटौंडाका ४, ९, १२, १३, १४ र १८ मा आफ्नो राम्रो मत आउने दाबी गरे ।
यसपटक गठबन्धन नरहेको र कांग्रेस तथा एमालेको आ-आफ्नै उम्मेदवार रहेकाले हेटौंडामा कम्तीमा रास्वपासहितको त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ ।

कांग्रेसमा इन्द्र बानियाँ (बागमती प्रदेशका मुख्यमन्त्री)को कति साथ पाउने भन्ने विषयले पनि डिनाको मत निर्धारण गर्ने पार्टीकै स्थानीय कार्यकर्ता बताउँछन् । मुख्य फोकस बुद्ध लामाका लागि क्षेत्र नम्बर २ मा गरेका बानियाँले अहिलेसम्म बाहिर देखिने सपोर्ट भने गरेका छन् ।
एमालेका लागि पार्टी नेतृत्वप्रतिको आलोचनाबीच पुरानो मत जोगाउनु आवश्यक देखिन्छ ।
अर्कातर्फ, रवि लामिछाने र बालेन्द्र शाहको नाममा घण्टी भनिरहेका मतदातासामु आफ्नो उम्मेदवारलाई थप चिनाउनु रास्वपाका लागि प्रतिस्पर्धामा निर्णायक सावित हुनसक्छ ।
राप्रपाका दीपक सिंह पनि आफ्नो व्यक्तिगत लोकप्रियता र पार्टीका परम्परागत मतदाताको बलमा चुनावी अभियानमा होमिएका छन् । विगतमा पाएको केही स्वीङ मत अन्यत्र डाइभर्ट भए पनि कमल थापा समेत पार्टीमा जोडिएको स्थितिमा उनले पनि सम्मानजनक मत नल्याउलान् भन्न सकिन्न ।
हेटौंडा १ को राजनीतिलाई नजिकबाट बुझेका एक स्थानीय विश्लेषक भन्छन्- 'यहाँ नेकपा र राप्रपाले होल्ड गर्ने मतले कांग्रेस, एमाले वा रास्वपाको जीत-हारको गणित निर्धारण गर्ने देखिन्छ । दीपक सिंहले सम्मानजनक मत ल्याउन सके भने कांग्रेस-एमालेका लागि त्यसले फाइदा पुग्ने देखिन्छ ।'
पढ्नुहोस्, यो पनि :
मकवानपुर- २ लाई छिचोल्दै २५०० मिटरको उचाइमा पुगेर हेटौँडा ओर्लिँदा
महेशको व्यक्तिगत लोकप्रियता, बुद्धलाई इन्द्र बानियाँको भर, 'सरप्राइज' दिने प्रयासमा घण्टी र तारा