३२ असार २०८३, बिहीबार

निरौलाको कथासङ्ग्रह ‘प्रेमाश्रु’ लोकार्पित

माघ २७, २०८२
काठमाडौं
निरौलाको कथासङ्ग्रह ‘प्रेमाश्रु’ लोकार्पित

साहित्यकार विमला ढुंगना निरौलाको कथासङ्ग्रह ‘प्रेमाश्रु’ लोकार्पण गरिएको छ । सोमबार काठमाडौंमा कार्यक्रम आयोजनागरी निरौलाको ‘प्रेमाश्रु’ लोकार्पण गरिएको हो । 

स्रष्टा समाजका अध्यक्ष श्रीओम ‘रोदन’, मिलाप पब्लिकेसनका कृष्ण भुसाल, समिक्षक प्राडा. यज्ञश्वर निरौला, कृतिकार निरौला, साहित्यकार प्रमोद प्रधान, कृतिका सम्पादक रमेश दाहाल, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापालगायतले कृतिको लोकार्पण गरेका हुन् । 

साहित्यकार भैरवी भुगोलको सहजीकरण मिलाप पब्लिकेशनको आयोजनामा भएको लोकार्पण कार्यक्रममा स्रष्टा विमला निरौलालाई मिलाप कभर सम्मान पनि हस्तान्तरण गरिएको थियो । कार्यक्रममा विश्व कीर्तिमानी सङ्गीकार सन्तोष श्रेष्ठ, साहित्यकार सीता पाण्डे, लक्ष्मी उप्रेती, डा.फणिन्द्रराज निरौला र गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले शुभकामना मन्तव्य राखेका थिए । उनीहरूले बालसाहित्यमा कलम चलाउँदै आएकी स्रष्टा विमलालाई कथासङ्ग्रहका लागि बधाई तथा शुभकामना दिँदै संग्रहमा रहेको कथा उत्कृष्ट रहेको धारणा राखेका थिए ।

कृतिको समीक्षा गर्दै डा. यज्ञश्वर निरौलाले अधिकांश कथा प्रेमसँग सम्बन्धित रहेको बताउँदै नेपालबाहिर अमेरिका र नेपाली परिवेशका जनजीवनका कथा रहेको बताए । ‘समाजका विविध विषयलाई कथाका रूपमा एकै कृतिमा उनेर विमलाले पाठकसमक्ष प्रस्तुत गर्नुभएको छ’, डा.निरौलाले भने, ‘समाजमा रहेका रीति र विकृति सरल तर गहन, सजीव बाचाल रूपमा यसमा प्रस्तुत भएका छन् ।’

साहित्यकार प्रमोद प्रधानले स्रष्टा विमला निरौला साहित्य सिर्जना सँगसँगै समाज सेवामा पनि त्यतिकै सशक्त रूपमा लाग्दै आएको बताउँदै नेपाल बाल साहित्य समाजमा पनि उनको योगदानको चर्चा गरे । श्रीओम श्रेष्ठ रोदनले आफू विमलाका साहित्य रचनासँग परिचित रहेको बताउँदै उनलाई बालसाहित्य, कविता, गीतकारका रूपमा चिनिँदै आए पनि अब कथाकारका रूपमा चिनिने बताए । रोदनले पछिल्लो समय साधना बिनै नै धेरै व्यक्ति लेखनमा आउँदै कृति सार्वजनिक गरेको बताउँदै निरौला सानैदेखि यो क्षेत्रमा रहेर धेरै कृति पाठकमाझ ल्याएको चर्चा गरे । कृतिका सम्पादक रमेश दाहालले स्वागत मन्तव्य राख्दै छोटो समयमै ‘प्रेमाश्रु’ पाठकमाझ ल्याएको बताए ।

null

स्रष्टा विमलाले आफूले बाल साहित्यमा अलिक धेरै कलम चलाउँदै आए पनि सबै विधामा कलम चलाइरहेको बताउँदै पछिल्लो कृति ‘प्रेमाश्रु’ले पाठकको मन जित्नेमा आशावादी रहेको बताइन् । कार्यक्रमका सभापति कृष्ण भुसलाले ‘प्रेमाश्रु’मा धेरै कथामा प्रेमलाई प्राथमिकता दिएर लेखिएको बताउँदै प्रेम दिवसमा पाठकमाझ आएको बताए । 

किशोर गौतमको वर्णविन्यास रहेको २०० पृष्ठको यस कृतिमा ‘प्रणय प्रेम, प्रेम र मानवताको खाता, प्रेमको क्षमादान, हुर्रे !, प्रेमिक्षा, स्वप्निल प्रेम, अतृप्त प्रेम, प्रेम जीवन, अस्ताएको प्रेम, प्रेम पैयाँ, प्रेम र आराधना, आफैंसँगको प्रेम, अपराजित प्रेम, प्रेमका आँसु, प्रेम संकल्प, प्रेम प्रस्ताव, प्रेमको अवशेष, भय, सपना कुरा, तीजको रहर, नारी दिवस, पुरस्कार, अनिश्चित आयु, प्रेमको पुनर्मिलन, माला र गला, भलाद्मी, अनुत्तरित बाध्यता, प्रेमील साकुरा, बेहुला मामाको बटुक भान्जा’ जस्ता २९ कथा समाविष्ट गरिएको छ ।

मिलाप पब्लिकेशनले प्रकाशन र ई. प्रेस प्रालि. मुद्रण रहेको यस कृतिको मूल्य ४५० रुपैयाँ राखिएको छ । 

स्रष्टा निरौलाका यसअघि ‘तिमीविनाको हाम्रो जीवन, (बालकवितासङ्ग्रह), बाल मन (बालचित्र कविता-सङ्गालो), बादल र ऋतृ (बालचित्र काव्य), तीन चरी, पशुपक्षी (बालचित्र कविता-सङ्गालो), बाल-बगैँचा (बालकविता-सङ्गाले), ठूलो भाइ के बन्ने ? (बालसंवाद चित्र-कविता), निर्दोष कोपिला (बालगीतसङ्ग्रह), काव्यपराग (मुक्तकसङ्ग्रह), यात्रामा देश (बाल नियात्रासङ्ग्रह)जस्ता एक दर्जन कृति पाठकमाझा आएका छन् । 
विगत लामो समयदेखि भर्जिनिया, अमेरिकामा बस्दै आएकी निरौला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को निर्वतमान महासचिव हुन् । 

salt training

कमेन्ट गर्नुहोस्