१० साउन २०८३, आइतबार
चुनावी ग्राउन्ड जिरो- डडेल्धुरा

गाउँमा जन्ती र मलामी जान तन्नेरी छैनन्, वृद्ध बा-आमाको घरदैलोमा उम्मेदवारको लर्को

माघ २९, २०८२
डडेल्धुरा
गाउँमा जन्ती र मलामी जान तन्नेरी छैनन्, वृद्ध बा-आमाको घरदैलोमा उम्मेदवारको लर्को

जेनजी आन्दोलनपछि विकसित असहज परिस्थितिबीच ‘युवाहरू’को चाहना अनुरूप प्रतिनिधि सभा चुनाव हुँदैछ । ‘आमूल परिवर्तन’का लागि हुन लागेको भनिएको निर्वाचनका लागि उम्मेदवारहरू प्रचार–प्रसारमा जुटे पनि सुदूरका पहाडी जिल्लाका गाउँ–घरमा युवाहरू नै देखिँदैनन् ।

आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनको मतदान गर्ने दिन आउन तीन साताभन्दा पनि कम समय बाँकी रहँदा सुदूरपश्चिम प्रदेशको ऐतिहासिक पहाडी जिल्ला डडेल्धुराका अधिकांश स्थानीय तहका गाउँ–घर युवाविहीन छन् ।

एक हजार पाँच सय ३८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको र सातवटा स्थानीय तह रहेको यो जिल्लाका अधिकांश घरमा वृद्ध उमेरका आमा–बुवा आफ्ना सन्तानको सुखद समाचारको प्रतीक्षामा मोबाइलमा आँखा डुलाइरहेका भेटिन्छन् ।

‘छोरा विदेशिएको तीन वर्ष भयो । एउटा पुरानो मोबाइल फोन छ । बेला–बेलामा त्यसैमा कुरो हुन्छ । छुट्टी नमिल्ला । खै, चुनावमा कसरी आउला र !’ अजयमेरु गाउँपालिका मल्लोधारीकी लक्ष्मीदेवी महता भन्छिन् । भारी मनले कुराकानी गरिरहँदा उनका आँखा भावशून्य देखिन्थे ।

संसदीय निर्वाचनका लागि मनोनयन दर्ता भएदेखि नै लक्ष्मीदेवीको घरमा उम्मेदवारहरूको लर्को लागेको छ । उनलाई केवल यति थाहा छ, यसअघि आफूले पाँच वर्षका लागि अमूल्य मत दिएर संसद्मा पठाएको प्रतिनिधि तीन वर्षपछि फेरि मत माग्दै आफ्नो घर–दैलोमा आएका छन् ।

null

तर दुई वर्षअघि नै उम्मेदवारहरू किन फेरि घर–दैलो चहार्न बाध्य भए, उनलाई कुनै जानकारी छैन, न त चासो नै । उनलाई केवल यति थाहा छ, उनको दैनिकी हिजोजस्तो थियो, आज पनि खासै परिवर्तन भएको छैन ।

आफूजस्तै जीर्ण अवस्थामा पुगिसकेको ढुङ्गा–माटोको त्यही घर, सन्तानबाट टाढिनु पर्दाको पीडा अनि, हरिया बाली लहलहाउनु पर्ने खेत–गराको उजाड अवस्था । सायद, त्यसैले उम्मेदवारहरूले ‘अमूल्य’ भने पनि उनलाई आफ्नो मत ‘सडकको धुलो’ भन्दा पनि सस्तो लाग्छ रे ।

‘एउटा भोट त हो, कसैको मन किन दुखाउनु ? सबै आफ्नै गाउँ–घरका हुन् । त्यसैले सबैलाई भोट दिन्छु भन्छु । भोट दिन जाने कि नजाने त्यो पनि थाहा छैन,’ उनी भन्छिन् । मतदानका लागि जाने वा नजाने भन्नुमा पनि उनको आफ्नो बाध्यता रहेछ ।

null

‘हाम्रो गाउँबाट भोट दिन चिपुर जानुपर्छ । हिँडेर निकै टाढा छ । तीन घण्टाभन्दा बढी समय लाग्छ । फेरि फर्कनु पनि पर्‍यो,’ उनले आफ्नो बाध्यता सुनाइन् ।

मल्लोधारीमा करिब एक सय २० घरधुरी छन् । चिपुर पुग्न उनको घरबाट लामो ओरालो बाटो छिचोल्दै तल खोलासम्म झर्नु पर्छ, त्यसपछि घर फर्किन फेरि सकसपूर्ण ठाडो उकालो चढ्नु त छँदै छ ।

डडेल्धुराका दुई नगरपालिका अमरगढी र परशुरामका केही सुगम स्थानबाहेक अधिकांश पालिकाका मतदाताको तितो यथार्थ लक्ष्मीदेवीको जस्तै हो । कथा–व्यथा भने थोरै फरक होलान् । अन्य पाँच गाउँपालिका अजयमेरु, भागेश्वर, नवदुर्गा, आलिताल र गन्यापधुराका अधिकांश स्थानको अवस्था त कहालीलाग्दो नै छ ।

अजयमेरु–४ का रतनसिंह ऐरका तीन छोरा छन् । उनका तीनैजना छोरा आफ्नो थातथलोको माया बोकेर सुखद भविष्यको सपना सँगाल्दै विदेशी भूमिमा पसिना बगाइरहेका छन् । वैदेशिक रोजगारीका क्रममा उनका एउटा छोरा दुबईमा, अर्को छोरा मलेसियामा र अर्को छोरा भारतमा छन् ।

null

यसैगरी, सोही गाउँका सामसिंह ऐरका चारजना छोरा छन् । त्यसमध्ये एक छोरा अहिलेसम्म पनि वृद्ध बा–आमाको सहारा बनेर गाउँमै संघर्ष गरिरहेका छन् भने बाँकी तीनजना छोरा वैदेशिक रोजगारीका लागि दुबई, कतार र मलेसिया हानिएको लामै समय बितिसकेको छ ।

यसैगरी, सोही स्थानका रतनसिंह ऐरीका छोरा पनि वैदेशिक रोजगारीका लागि भारत होमिएका छन् । लक्ष्मी, रतनसिंह, रामसिंह र बलदेव त प्रतिनिधि पात्र मात्र हुन् । अधिकांश गाउँ–घरको कथा यस्तै करुणादायी छ ।

‘गाउँ–घर सुनसान छ । आक्कल झुक्कलबाहेक युवा देख्न पाउनुहुन्न । जसले जे भने पनि तीतो यथार्थ यही हो । गाउँका हरेक घरमा सन्तानको सुखद सन्देशको पर्खाइमा टोलाइरहेका वृद्ध बुवा–आमा मात्र देख्नुहुन्छ,’ अमरगढी नगरपालिकामा लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आएका दान भण्डारी भन्छन् ।

null

उनका अनुसार, देशमा रोजगारीको उपयुक्त अवसर नपाएपछि सुदूरपश्चिम प्रदेशका अधिकांश युवाले छिमेकी राष्ट्र भारतलाई आफ्नो गन्तव्यस्थल बनाउने गरेका छन् । यो क्षेत्रका युवाहरू पहिले रोजगारीका लागि भारतको पञ्जाब जाने गर्थे ।

तर, अहिले दैनिकजसो भारतकै नासिक र मुम्बईतर्फ जाने युवाहरूको लर्को लाग्ने गरेको छ । यसका अतिरिक्त, पछिल्लो समय सुदूरपश्चिम प्रदेशका युवाले कतार, मलेसिया, दुबईलगायत राष्ट्रलाई पनि वैदेशिक रोजगारीका लागि गन्तव्य बनाउन थालेका छन् ।

‘हरेक निर्वाचनमा शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता विषयहरू दल र उम्मेदवारको नारा मात्र बन्दै आएका छन् । तर, दूरदराजका गाउँ–बस्तीमा बस्ने नागरिकको जीवन झनै कष्टकर बन्दै गएको छ । देशको मेरुदण्ड मानिने युवाहरू मन मारेर विदेशिनु परेको छ । विवाहमा जन्ती र मर्दा मलामी जाँदा युवाको अनुहार देख्न पाउनुहुन्न । पक्कै पनि, अवस्था सुखद छैन । त्यसैले मतदाता निराश छन् । उम्मेदवारले यी यथार्थलाई बुझ्नु आवश्यक छ,’ उनी भन्छन् ।

null

उनका अनुसार, मन भाँचिएका पाका मतदाता र विदेशिएका युवाकै कारण आगामी निर्वाचनमा सोचेजस्तो मतदान नहुने अवस्था छ । करिब ९३ हजार चार सय मतदाता रहेको डडेल्धुरामा करिब ५५ प्रतिशतको हाराहारीमा मतदान हुने उनको अनुमान छ ।

‘यसपटक सोचेजस्तो मतदान हुँदैन । करिब ५५ प्रतिशतको हाराहारीमा होला । यसको मुख्य कारण निराश मतदाता र विदेशिएका युवा नै हुन् । अहिले अर्को समस्या पनि थपिएको छ । रोजगारीका लागि भारत जाने नेपाली युवाका लागि भारतका रोजगारदाताले परिवारलाई समेत उतै बस्ने गरी व्यवस्था मिलाएका छन् । रोजगारदाताले नेपाली कामदारका बालबच्चालाई पनि उतै अध्ययनको व्यवस्था मिलाएका हुन्छन् । त्यसमाथि यो सिजनमा उनीहरूले बिदा पनि पाउँदैनन् । अनि किन र कसरी युवा मतदाता निर्वाचनका लागि देश फर्कन्छन् ?’ भण्डारी भन्छन् ।

अजयमेरु गाउँपालिकाको देवलमा भेटिएका दुर्गादत्त पन्त पनि देश विकासको आधारस्तम्भको रूपमा रहेका युवालाई पलायन हुनबाट रोक्न नसक्नु सबैभन्दा ठूलो चुनौती भएको बताउँछन् । उनका अनुसार, आगामी निर्वाचनमा समेत कुनै पनि उम्मेदवारले यसलाई गम्भीर रूपमा लिएका छैनन् ।

null

‘परिवर्तनका प्रतीक युवा विदेशिने क्रम रोकिएको छैन । गाउँ–बस्ती उजाड छन् । हामीले खोक्रो नारा मात्र दिएका छौँ । रोजगारीको अवसर सिर्जना गर्न सकेका छैनौँ । अहिले पनि दल र उम्मेदवारहरूले यति गम्भीर विषयमा आँखा चिम्लिएको पाइन्छ । यति संवेदनशील विषयलाई आफ्नो चुनावी एजेन्डामा समेटेको पाइँदैन,’ उनी गुनासो गर्छन् ।

अजयमेरु गाउँपालिकाको देवलबाट डडेल्धुरा बजार केवल २५ किलोमिटर दूरीमा छ । भौगोलिक विकटताका कारण बोलेरो जिपबाहेक अरू विकल्प छैन । त्यहाँका सर्वसाधारणले भाडा अचाक्ली तिर्नुपर्छ ।

null

‘विशेष कामले डडेल्धुरा जानु परेमा प्रतिव्यक्ति चार सय रुपैयाँ भाडा तिर्नुपर्छ । आउँदा र जाँदा सवारी भाडामा मात्रै आठ सय रुपैयाँ तिर्नुपर्ने बाध्यता छ । यहाँ पानीको पनि चरम समस्या छ । सिँचाइ छैन । हिउँदमा जसोतसो बाली लगायो, घर भित्र्याउने बेला बाँदर र बँदेलले सखाप पारिदिन्छन् । त्यसमाथि यस्ता समस्यासँग जुध्न हिम्मत गर्ने युवा पनि विदेश पलायन भएका छन्,’ उनी भन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्