
देशका अन्य क्षेत्रमा नयाँ कि पुराना दल भनेर मतदाता विभाजित भइरहेको समयमा सुनसरी-१ मा भने नयाँ-नयाँ पार्टीबीचको प्रतिस्पर्धाले मतदाता रनभुल्लमा परेका छन् ।
श्रम संस्कृति पार्टीका हर्क साम्पाङ (हर्कराज राई) उम्मेदवार रहेको यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग उनको कडा प्रतिस्पर्धा हुने मतदाताहरूको बुझाइ छ ।
नयाँ दललाई भोट दिन चाहेका धरानका कतिपय मतदाता आफूहरू धर्मसंकटमा परेको बताउँछन् । धरानकी गोमा राईले नयाँ दललाई भोट दिन मन लागे पनि माटो (श्रम संस्कृतिको चिह्न)लाई दिने कि घण्टी (रास्वपाको चिह्न)लाई भनेर अन्योल भएको बताइन् ।
नयाँ दलबीच भोट बाँडिँदा कांग्रेस–एमाले लगायत पुरानै दलले समेत चिप्ल्याउन सक्ने कतिपय मतदाताको विश्लेषण छ । सुनसरी-१ का मतदाता प्रकाश श्रेष्ठले नयाँ-नयाँ दल भिड्दा पुरानैले फाइदा उठाउन सक्ने सम्भावना रहेको बताए ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन हर्कले धरान उपमहानगरको मेयरबाट राजीनामा गरेर उम्मेदवारी दिएका थिए । स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरको मेयरमा विजय भएपछि हर्क चर्चामा आएका थिए ।
आम नागरिकलाई श्रम गर्न प्रेरित गर्ने उद्देश्यले श्रम संस्कृति पार्टी स्थापना गरेर साम्पाङ संसदीय राजनीतिमा होमिएका छन् । हातको अञ्जुलीमा रहेको माटो उनको चुनाव चिह्न हो ।
हर्कले माघ ६ गते मेयरबाट राजीनामा गरेर उम्मेदवारी दर्ता गराएसँगै सुनसरी १ र यसक्षेत्रमा उनले धेरैको ध्यान तानेका छन् । उनको पार्टीले कोशी प्रदेशका अधिकांश निर्वाचन क्षेत्रसहित देशका विभिन्न भागमा उम्मेदवार उठाएको छ । पूर्वी पहाडी जिल्लामा उनको पार्टीको पक्षमा माहौल पनि देखिएको छ ।

०७९ सालको स्थानीय निर्वाचनमा लोकप्रिय मत पाएर विजयी भएपछि हर्क वैकल्पिक राजनीतिको एउटा आकर्षण बनेका थिए । ०८२ भदौ २३–२४ को घटनाअघि काठमाडौंका मेयर बालेनसँग उनको दोस्ती थियो ।
प्रत्येक पटक काठमाडौं आउँदा हर्कले बालेनलाई भेट्ने मात्र होइन, बालेनको नेतृत्वमा नयाँ दल खोल्नेसम्मको कुरा गरेका थिए । तर, भदौ २४ को घटनापछि हर्क बालेनको भन्दा विपरीत कित्तामा उभिए । ‘विदेशी’को इसारामा त्यो घटना घटाइएको भन्दै उनले बालेनविरूद्ध सामाजिक सञ्जालमा जेहाद छेडेका छन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई समेत आक्षेप लगाउँदै आएका छन् । वैकल्पिक राजनीतिका दुई हिस्सेदार विभाजित भएर चुनावी मैदानमा आउँदा सुनसरी १ का मतदाता अन्योलमा छन् ।
हर्क मेयर निर्वाचित भएको ६ महिनापछि भएको प्रतिनिधिसभा निर्वाचनमा रास्वपा उम्मेदवार गोमा (सरिन) तामाङले सुनसरी १ मा राम्रो मत पाएकी थिइन् ।
एउटै भोट बैंकमा वैकल्पिक राजनीतिका २ उम्मेदवार
धरानको मेयरमा लोकप्रिय मतले विजयी भएका हर्क र प्रतिनिधिसभा निर्वाचनमा थोरै मतान्तरले पराजित भएर निकटतम बनेकी सरिन आमनेसामने हुँदा तटस्थ मतदाताको मत बाँडिने स्थानीयहरूको बुझाइ छ ।
०७९ सालको स्थानीय तह निर्वाचनमा हर्कले २० हजार ८ सय २१ मत पाएका थिए । कांग्रेस उम्मेदवार किशोर राईले १६ हजार ५९ मत पाएका थिए ।
लगत्तै मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा गोमाले १६ हजार ६ सय ६ मत पाएकी थिइन् । १७ हजार ५९ मत पाएर अशोक राई विजयी भएका थिए ।

सुनसरी १ मा धरान उपमहानगरपालिकाका २० वडाका अतिरिक्त रामधुनी नगरपालिका र बराहक्षेत्र नगरपालिकाका केही वडा समेटिएका छन् । विगतको निर्वाचनको नतिजाको यसपटक धेरै सान्दर्भिकता नभए पनि रामधुनीको मेयर र उपमेयर नै एमालेले जितेको थियो । बराहक्षेत्रको मेयर नेपाली कांग्रेसले जितेको थियो ।
यो क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट सुजेन्द्र तामाङ, नेकपा एमालेबाट टीकाराम लिम्बु, नेकपाबाट सूर्यबहादुर भट्टराई तथा राप्रपाबाट उद्धव श्रेष्ठ उम्मेदवार छन् ।
जनजाती बाहुल्य रहेको यो क्षेत्रमा मंगोल नेशनल अर्गनाइजेसन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र उज्यालो नेपाल पार्टीका समेत उम्मेदवार छन् । प्रतिस्पर्धामा आउन नसके पनि यी दलका उम्मेदवारले केही मत तान्ने स्थानीयहरूको आँकलन छ ।
धरान १८ का माङदेन हाङ हर्कले पाएकै मत सरिनले पाएकोले ती मत अहिले कता जान्छ भनेर भन्न नसकिने बताए । ‘धरानमा हर्क नै लोकप्रिय छन्, तर अन्य नगरपालिकाका मतदाता पनि रहेकोले को हाबी हुन्छ भनेर अहिलै भन्न सकिन्नँ’ हाङले लोकान्तरसँग भने ।
मेयर हुँदा राम्रो काम गरेकोले भोट दिन्छौं– धरानबासी
खानेपानीको मुद्दा उठाएर चुनाव जितेका हर्कले श्रम गरेर भए पनि धरानको खानेपानीको समस्या धेरै हदसम्म समाधान गरे । त्यो कुराले खानेपानी पुगेको धरानको बजार एरियाका मतदाता उनीप्रति आकर्षित छन् ।
विष्णु पादुकामार्ग धरानकी सीता राई मेयरको रूपमा हर्कले इमान्दार काम गरेको स्मरण गर्छिन् । ‘उनले जे प्रतिबद्धता गरेका थिए त्यसमध्ये धेरै काम गरेका छन् । शतप्रशित पर्फेक्ट उनी होइनन्, तर इमान्दारीपूर्वक काम गरे’, राईले भनिन्, ‘भ्रष्टाचार गर्न दिएनन्, आफ्नो बुद्धिले भ्याएसम्म काम गरे ।’
धरान ११ का अन्जनबहादुर कुलुङ राई विदेशमा रहेका नेपालीलाई पुकारेर भए पनि हर्कले धरानको खानेपानी समस्या समाधान गरेको बताउँछन् ।
‘पुराना मेयरको काम देखिएकै हो । विदेशमा रहेका नेपाली दाजुभाइ पुकारेर भए पनि उनले (हर्कले) खानेपानीको समस्या समाधान गरे’, अन्जनले भने, ‘कार्यकाल पूरा नहुँदै चुनाव लड्न राजीनामा दिएकाले केही काम बाँकी रहे होलान् ।’
धरान ११ कै भुपाल तामाङले हर्कको कामबाट आफूहरू खुसी रहेको बताए । ‘पहिलाका मेयरले गरेको काम देखिएकै हो । उनीहरूको तुलनामा हर्कले धरानमा धेरै सुधारका काम गरेका छन्’ उनले भने, ‘हर्कले संसदीय चुनावमा पनि यहाँका मतदाताको भोट पाउँछन् ।’

धरान बजारका मालु चाम्लिङ राईले हर्कको पालामा ३० वर्षको समयमा नभएको काम ३ वर्षमा भएको दाबी गरे । ‘यहाँको मुख्य समस्या खानेपानी थियो, अहिले खानेपानीको समस्या धेरै हदसम्म समाधान भएको छ’, राईले भने ।
बराहक्षेत्र नगरपालिका ३ का भागेश्वर लिम्बुले यसपटक संसदीय निर्वाचनमा नयाँ दललाई रोज्ने विचार गरेको बताए । ‘पुरानालाई कतिपटक अवसर दिनु, यसपटक नयाँ छान्ने हो । नयाँले पनि धोका दिए भने अर्को पार्टी आउला’, लिम्बुले भने । नयाँमध्ये रास्वपालाई दिने कि श्रम संस्कृति पार्टी भन्नेबारे अहिलेसम्म टुंगोमा पुग्न नसकेको उनले बताए ।
‘मूर्ख, इमान्दार र देशलाई चाहिने मान्छे’
हर्कको काम गर्ने शैलीका फ्यानहरू छन्, ती मध्येका एक हुन्– करण बराल । अटोरिक्सा चलाउने धरान १५ का करण हर्क देशलाई चाहिने मान्छे भएको बताए । ‘हर्क मूर्ख, इमान्दार र देशलाई चाहिने मान्छे हो । देशको अस्तित्व रक्षाका लागि पनि हर्कले जित्नुपर्छ’, बरालले भने ।
उनीसँग कुरा गर्दै हर्कको कुरामा साथ दिन आए धरान १९ मा बस्ने प्रकाश भण्डारी । देश विकासका लागि हर्कको काम गर्ने शैली आवश्यक रहेको उनको भनाइ छ । ‘धरानमा हर्कले राम्रो काम गरेका छन्, उनलाई समर्थन गर्नुपर्छ । देश विकास गर्न हर्कजस्तो एक्सनओरिन्टेड नेता चाहिन्छ’, भण्डारीले भने ।
धरान १५ का पूर्ण मगरातीले यसपटक आफूहरू नयाँ दललाई मत दिने पक्षमा रहेको बताए । ‘हामी पुरानो दललाई त दिँदैनौं, हर्क या बालेनलाई भोट दिने हो’, मगरातीले भने ।
कतिपय मतदाता चुनाव जितेर हर्क नै प्रधानमन्त्री बन्ने समेत दाबी गर्छन् । धरान १५ कै मोहन विक पुराना दलबाट कावु भएकोले यसपटक आफूहरूको रोजाइ नयाँ हुने बताउँछन् । ‘हर्क या रास्वपा जसले जित्छ उसैलाई भोट दिने हो, पुरानालाई दिएर भोट खेर फाल्दैनौं’, विकले भने ।

धरान १८ का नवीन राई खानेपानी लगायत काम गरेका कारण आफूहरू हर्कलाई समर्थन गर्ने बताउँछन् । धरान १७ मा होटल व्यवसाय सञ्चालन गर्दै आएकी रत्न शाहीले खानेपानीका कारण हर्क धरानमा पपुलर रहेको बताइन् ।
घण्टीको पक्षमा पनि छ उस्तै माहोल
सुनसरी १ का मतदाता आकाश श्रेष्ठ धरानमा अटोरिक्सा चलाउँछन् । बालेनलाई प्रधानमन्त्री बनाउनका लागि आफूले यसपटक नयाँ पार्टीलाई भोट दिन लागेको बताए ।
‘बालेन बोल्दै नबोली काम गरिरहेका छन्, हर्कले धेरै बोलेर आफ्नो भोट घटाइरहेका छन्’, श्रेष्ठले भने, ‘बालेनलाई गाली गरेर हर्कले भोट पाउँदैनन्, जति आलोचना गरे पनि अहिले बालेनको माहोल छ ।’
धरानकै दीपक राई पनि बालेनबाट प्रभावित छन् । युवालाई प्रधानमन्त्री बनाउनका लागि आफूले नयाँलाई भोट दिन लागेको उनले बताए । ‘पुरानो सोच भएका हजुरबुवा पुस्ताले युवाको भावना बुझेनन्, विकास गर्न सकेनन्, अब नयाँले मात्र युवाको स्पिरिट अनुसार काम गर्न सक्छन्’, उनले भने ।
धरान ६ पानबारीका तेजबहादुर कार्की देशभर नयाँको पक्षमा चलेको लहरभन्दा आफूहरू भिन्न नरहेको बताए । ‘सबैको चाहना नयाँलाई अवसर दिनुपर्छ भन्ने छ, हामी पनि एकपटक युवालाई भोट दिने पक्षमा छौं’, कार्कीले भने, ‘देशकै आशालाग्दा युवालाई प्रधामनन्त्री बनाउन हामी पनि भोट परिवर्तनको पक्षमा उभियौं ।’
पानबारीकै रोहित कार्कीले यसपटक नयाँलाई दिने भनेर गाउँमा सल्लाह चलिरहेको बताए । ‘पुरानालाई पटक-पटक अवसर दिँदा पनि काम नगरेकाले यसपटक पुरानालाई दिन मानिसहरू हिच्किचाइरहेका छन् । धेरैको मन नयाँले तानेका छन्’, कार्कीले भने ।

धरानकै बृखबहादुर लिम्बू एक जनाले मात्र जितेर देश परिवर्तन नहुने भन्दै यसपटक घण्टीमा भोट हाल्ने तयारीमा गरेको बताउँछन् । ‘हर्कले राम्रो गरिरहेका छन, तर उनी एक्लैले केही गर्न सक्दैनन् । त्यसैले हामी घण्टीलाई भोट दिने पक्षमा छौं’, लिम्बुले भने ।
धरान बाहिर घण्टीको लहर, कांग्रेस–एमाले रक्षात्मक
सुनसरी १ मा धरानका २० वटा वडा रहेकोले धरानको मतको अर्थ छ । तर, अन्य पालिकाको मत पनि निर्णायक हुनसक्छ । धरान बाहिरका क्षेत्रमा भने घण्टीको लहर छ ।
रामधुनी नगरपालिका–६ का रामानन्द चौधरी आफूहरूको क्षेत्रमा नयाँ दलको पक्षमा माहोल सृजना भएको बताउँछन् । ‘पुरानालाई कहिलेसम्म दिइराख्ने ? अब पनि हामी नसच्चिने ?’, उनले भने, ‘फेरि पुरानैलाई दिने गल्ती गर्दैनौं ।’
रामधुनीकै पर्शुराम चौधरीले पुराना दलप्रति मतदाता रुष्ट रहेको बताए । पुराना दलहरूले रास्वपालाई ‘देश जलाउने उम्मेदवार’ भन्दै नकारात्मक प्रचार गरे पनि माहोल नयाँको पक्षमा रहेको उनले बताए । ‘सबैलाई हेरियो पटक पटक नयाँलाई हेरौं एक पटक भनेर मत परिवतर्न गर्न लागेका हौं’,उनले भने ।
रामधुनी ६ डेटिगाउँका शितल चौधरी पुराना दलप्रति मतदाताको विश्वास नरहेकाले मतपरिवर्तन गर्न बाध्य भएको बताउँछन् । ‘पुरानालाई कतिपटक दिएको हो, जनताको पक्षमा किन काम गरेनन् । पुराना दलप्रति मतदाता रिसाएका छन् । त्यही भएर नयाँ दल रोज्ने भन्दैछन्’, शितलले भने । तीनै जनाले यसभन्दा अगाडि गठबन्धन दलका नेतालाई भोट दिँदै आएको बताए ।
बक्लौरी बजारकी गंगा शाहले रास्वपाको स्थानीय उम्मेदवार नचिने पनि बालेनको क्रेजका कारण घण्टीमै भोट हाल्न लागेको बताए । ‘बालेन शाहले चुपचाप ढंगले काठमाडौंमा काम गर्नुभएको छ, एकपटक देशले उहाँलाई हेर्न खोजेको छ’, शाहले लोकान्तरसँग भने ।

बब्लु चौधरी र कृष्णा सुनुवार पुराना दलले निरास पारेकाले बालेन सम्झेर घण्टीमा भोट हाल्न आतुर रहेको बताउँछन् । मनकुमारी राई पनि नयाँ शक्ति र विशेषगरी बालेनको अभियानप्रति आशावादी देखिएकी छिन् ।
के भन्छन् अन्य मतदाता ?
धरानका चोक, चियापसल र सडकहरूमा यतिबेला उम्मेदवारहरूको हारजितलाई लिएर निकै रोचक बहसहरू भइरहेका छन् । धरान–१७ का टेम्पो चालक रामप्रसाद लिम्बू आफू पुरानै शक्ति संघीय लोकतान्त्रिक मञ्चको पक्षमा रहेको र आफ्नो भोट ‘खुकुरी’ चिह्नमै जाने बताउँछन् । उनको अनुभवमा टेम्पोमा हिँड्ने जनजातिहरूले हर्क साम्पाङको चर्चा गर्ने र अन्यले ‘घण्टी’ चिह्नबारे कुरा गर्ने गरेका छन् ।
धरान जनजाति बहुल क्षेत्र भएकाले हर्कले नै बढी मत पाउने उनको तर्क छ । तर, धरान–११ कै अर्का टेम्पो चालक जयकुमार राईको बुझाइ भने फरक छ । उनले करिब एक सय जनासँग बुझ्दा जम्मा ५ जनाले मात्र हर्कको ‘माटो’ चिह्न रोजेको दाबी गर्छन् ।
हर्क साम्पाङका समर्थकहरू भने उनको सादगी र कार्यशैलीका कारण अझै पनि उनकै विकल्प नभएको ठान्छन् । धरान–११ का विनोद लिम्बू मेयर हुँदा पनि झुत्रो लुगा लगाएर खोला र नालामा खटिएकाले हर्कलाई नै भोट हाल्ने बताउँछन् । ‘श्रमदान गरेर पनि ठूला काम गर्न सकिन्छ भन्ने सन्देश उनले दिएका छन्,’ लिम्बूको तर्क छ ।
धरान–१८ मा सुनचाँदी पसल गर्ने भवी विश्वकर्माको पसलमा आउने ग्राहक भने हर्क साम्पाङ र नेकपाका उम्मेदवार तथा निवर्तमान वडा अध्यक्ष मनोज भट्टराईबीच मुख्य भिडन्त हुने दाबी गर्छन् । विकले आफैंले भने रास्वपाकी उम्मेदवार सरिन तामाङलाई भोट हाल्ने योजना बनाइरहेको बताए ।

सरिनलाई व्यक्तिगत रूपमा नचिने पनि छोराछोरीले ‘बालेनको पार्टी’लाई भोट हाल्न दबाब दिएकाले उनी घण्टीतिर ढल्किएका हुन् ।
धरानकै वीरबहादुर भट्टराई भने हर्कको बचाऊ गर्दै भन्छन्, ‘काम गर्ने मान्छेको बोली अलि छुद्र भए पनि दूध दिने गाईको लात्ता सहनुपर्छ, उनले मेयर भएर कहिल्यै ठूलो पोस्टको घमण्ड गरेनन् ।’
धरान–११ का सुमन राई साबुन र बेसार उद्योग सञ्चालन गरेर हर्कले विकासको नयाँ मोडेल देखाएको भन्दै उनकै समर्थनमा छन् । धरान–१७ का पुष्प श्रेष्ठ रास्वपाको उम्मेदवार चुनावका बेला मात्र देखिने गरेको भन्दै हर्कलाई नै दोहोर्याएर हेर्ने पक्षमा छन् ।
धरान–७ का मनोज तामाङ प्रत्यक्षमा हर्क र समानुपातिकमा घण्टीलाई भोट हाल्ने सोचमा छन् । सन्तोष राई पनि हर्ककै साथमा अडिग देखिन्छन् ।
तर, धरान–६ पानबारीका कतिपय मतदातामा भने हर्कप्रति निराशा पनि देखिएको छ । हस्तबहादुर हर्कभन्दा राम्रो काम गर्ने मान्छे खोज्न घण्टीमा मतदान गर्ने बताउँछन् ।
सोही ठाउँका डम्बर बस्नेत र लीला कार्की हर्कले मेयरमा राम्रो काम गरे पनि जिम्मेवारी छोडेर ‘प्रधानमन्त्री हुन्छु’ भन्दै काठमाडौं हिँडेपछि आशा मरेको बताउँछन् ।