२५ जेठ २०८३, सोमबार
सन्दर्भ : शिवरात्रि

भगवान शिवमाथि नै अन्याय

फागुन २, २०८२
काठमाडौं
भगवान शिवमाथि नै अन्याय

भगवा्न् शिवलाई संहारको देवता मान्ने गरिएको छ । यसको अर्थ हो बिगार्नु तर उनी बिगार्ने काममात्र गर्दैनन् । बनाउने काम पनि गर्दछन् । बिगार्नका लागि बिगार्नु हुँदैन । बनाउनका लागि त बिगार्नै पर्दछ । बिगार्नका लागि बिगार्नु एउटा कुरा हो ।

बनाउनका लागि बिगार्नु अको कुरा हो । शिवले बिगार्ने यसैका लागि हो । वेदमा एकैसाथ उनलाई घोर पनि भनिएको छ अघोर पनि भनिएको छ । यसको अर्थ हो उनी घोररूपले बिगार्छन् र अघोररूपले बनाउँछन् । अर्थात् उनको घोररूप संहारको द्योतक हो अघोररूप सृष्टिको प्रतीक हो । 

तथापि, हाल भगवान् शिवलाई एक पक्षीय बनाएर घोर अन्याय गर्ने प्रयास भइरहेको छ ।  म गरिरहेको छु, हामी गरिरहेका छौँ, समाज गरिरहेको छ, सरकार गरिरहेको छ । कुरा सुन्दा आश्चर्य लाग्न सक्छ तर, सत्य यही हो । उनको महिमागान गर्ने नाममा उल्टै उनीमाथि नै अन्याय गरिरहेका छौँ । उनको नाममाथि अन्याय भएको छ, स्वरूपमाथि अन्याय भएको छ । सत्तामाथि अन्याय भएको छ । यसै पनि केही पश्चिमाहरू र केही यतैका पनि उनलाई सङ्कुचित घेरामा राख्ने प्रयास गरिरहेका छन् । त्यसैमाथि हामी आगोमा घ्यु थपिरहेका छौँ ।

पश्चिमाहरूका अनुसार युरोशिया (हालको भूगोलअनुसार कालासागर आसपासको भूमि रुस, जर्जिया, अजरवैजान, तुर्की, कजाकिस्तान) तिरबाट आएका यामान्यजाति (आर्यजति)ले शिवमाथि जबरजस्त कब्जा जमाएका हुन्, जो पुरा पाषाणयुग अर्थात् ५००० वर्ष पूर्वतिर साइवेरियातिरबाट आएर त्यस क्षेत्रमा घुमन्ते जीवन व्यतीत गर्न थालेका थिए । अन्यथा शिव उनीहरूले जबरजस्त कब्जा गर्नुपूर्व हरप्पाक्षेत्रमा बस्दै आएका स्थानीय आदिवासीका मात्र देवता थिए ।

जब युरोप तथा पश्चिम एशियाली भू–भागमा आतङ्क मच्चाउँदै आएका यी जाति ई पू. २००० तिर सिन्धुसभ्यता नष्ट गर्न आइपुगेका थिए त्यतिबेलादेखि नै उनीहरूले शिवलाई पनि आफ्नो देवता बनाउन थालेका हुन्, जसका लागि सन् २०१९ सेम्बर ७ को सेल पत्रिकामा प्रकाशित राजस्थानको राखिगढीमा उत्खनन गर्दा प्राप्त मानवकङ्कालको डिएनए परीक्षण रिपोर्टलाई उदाहरणको रूपमा लिने गरिएको छ । तथापि दु:खको कुरा हामी पनि जानेअनजाने त्यसैलाई बल पुर्‍याउने काम गरिरहेका छौँ ।

बाला दिनमा अग्रजहरूबाट एउटा कथा सुनेको थिएँ । शायद सबैले सुनेको हुनुपर्दछ । बालबालिकालाई नैतिक शिक्षा दिन अविभाकहरू यस्ता कथा भन्ने गर्दथे, जहाँ भन्ने गरिन्थ्यो– एक सज्जनले दुईवटा बाँदर पालेका थिए, जसलाई आफ्नो गोडा मोल्ने जिम्मा दिएका रहेछन् तर बाँदरहरू भने गोडा मोल्ने नाममा मालिककै गोडा टोक्ने गर्दा रहेछन् । कुरो सुन्दा आश्चय लाग्न सक्छ तर शिवबारे हाम्रो व्यवहार पनि योभन्दा कम छ जस्तो लाग्दैन ।

हामी नेपालीहरू पशुपतिनाथलाई राष्ट्रदेव मानेर सम्मान गछौँ । यो राम्रो हो तर एउटा देशको भूगोलमा मात्र सीमित गर्नु भने पक्कै राम्रो होइन । अझ भारतीयहरूको अवस्था योभन्दा पनि नाजुक छ । किनभने उनीहरूले १२ ज्योतिलिङ्ग (पार्थिव लिङ्ग) मा सीमित गर्ने प्रयास गरिरहेका छन् । 

हालका दिनहरूका कुरा गर्ने हो भने शिवलाई एउटा गजेँडी देवतामा सीमित गर्ने प्रयाससमेत हृुन थालेको छ । भगवान् शिव गाँजाभाङ खाएर हिँड्ने गर्दथे रे । त्यसैले हामीले पनि शिवरात्रिमा यसैको सेवन गरी होहल्ला गर्नुपर्छ रे । यसैबाट भगवान् शिव खुशी हुन्छन् रे । यसमा सरकार आफैँ पनि कम दोषी छैन, जसले यस्ता मान्यतामा बल पुर्‍यारहेको छ । यसैका लागि जिल्लाजिल्लाबाट दाउरा सङ्कलन गरिन्छ, धुनी जगाउन दिइन्छ, लगाइन्छ । अनि गाँजाभाङ वितरण गरेर पशुपतिको आगनमा नागा जोगीको तमासा देखाइन्छ ।  

यसमा हामी अभिभावकहरू पनि कम दोषी छैनौँ । शिवधुनी जगाउने नाममा नानीहरूलाई बाटामा डोरी टाँगेर बटुवाहरू हैरान गराउन छुट दिने हामीहरू नै हौँ ।

के शिवपूजन भनेको यही हो ? यसैबाट शिव खुशी हुन्छन् ? नभए आखिर के हो यो ? लौ मानौँ एक छिनलाई शिवजीले गाँजाभाङ खान्थे रे । यदि त्यसै हो भने किन खाए भन्नेतिर पनि हेर्नु पर्दैन र ? उनी हिमालमा बस्थे, हलाहल विष  पान गर्थेे । हुन सक्छ त्यसैको डाहा शान्त गर्न पो खाएका थिए कि ।

भगवान् शिव कल्याणका देवता मात्र होइनन् कुशल चिकित्सक पनि हुन् । पहिलो शल्यचिकित्सक उनै थिए, जसले शिर प्रत्यारोपणको काम गरेका थिए, जुन काम आधुनिक चिकित्सा विज्ञान भरखर गर्ने प्रयास गरिरहेको छ । केही दिनअघि भारतीय जि न्यूजमा एउटा समाचार आएको थियो, जहाँ भनिएको थियो– सन् २०१७ को शुरूमा इटालीका र अमेरिकाबस्दै आएका चीनका डा. द्वयको नेतृत्वमा एउटा टोली शिरप्रत्यारोपणको अभियानमा लागेका छन् । थाहा छैन उनीहरूको अभियान कहाँ पुग्यो । शायद परीक्षणकै क्रममा होला तर, शिवजीले भने हजारौँ वर्षपूर्व नै सो कार्य गरेर देखाएका थिए ।

हुन सक्छ उनले गाँजामा पनि कुनै त्यस्तै गुण फेला पारेका पो थिए कि । यसै पनि उनी सर्पको माला लगाएर हिँड्थे । सर्प हो टोक्दो पनि हो, उपचारका लागि त्यस्तै औषधि चाहिँदो पनि हो । भलै हाम्रो देशमा गाँजा गैरकानूनी मानिन्छ तर विविध अनुसन्धानले त्यसमा क्यान्सर रोगसमेत निको पर्ने गुण देखाइसकेको छ तर के उनले खाए भन्दैमा जताभावी खाँदै हिँड्ने ? खाने नै हो भने अन्य काम पनि त्यस्तै गर्न सक्नुपर्‍यो नि ।

उनी लोकहितका लागि कालकूट विष पान गर्थे । बरू घाँटीमा दाग लिएर नीलकण्ठ बन्न रुचाउँथे । तैपनि लोकोपकारी काममा पछि पर्दैनथे । रावणले माग्यो भन्दैमा आत्मलिङ्गसमेत दिएर पठाएका थिए, त्यस्तै परे अर्धाङ्गिनी पठाउनु परे पनि पछि पर्दैन थे । भष्मासुरलाई त आफैँलाई मार्न सक्ने वरदानसमेत दिएका थिए । के हामी त्यस्तो गर्न सक्छौँ ? उनले गरेजस्तै गर्ने भए सबै गर्न सक्नुपर्‍यो नि ? होइन भने केही पनि गर्नु भएन, यही होइन र ? नत्र त राम्रोजति आफूले गरेको र नराम्रोजति अरूले गरेको भन्दै हिँड्ने वर्तमान प्रवृत्ति र यसमा के फरक भयो र ?

निसन्देह शिव भनेका कर्तुम, अकर्तुम, अन्यथा कर्तुम् सर्वसमर्थ देवता हुन् । सर्वव्यापक छन्, सर्वहितकारी काम गर्छन्, कसैले पनि गर्न नसक्ने काम गरेर देखाउँछन् । त्यसैले त उनी देवाधिदेव हुन्, महादेव हुन् । मृत्युका पनि मृत्यु महामृत्युञ्जय, कालका पनि काल महाकाल, ईश्वरको पनि ईश्वर महेश्वर, ब्रह्मका ब्रह्म परब्रह्म, आत्माका पनि आत्मा परमात्मा हुन् । यस्ता देवतालाई कसैले एउटा क्षेत्र र व्यवहारमा सीमित राख्न खोज्दछ भने पक्कै त्यो उनीप्रतिको अन्याय हो, उनको नामको शोषण हो ।

त्यसैले साँच्चै शिवोपासना गर्ने हो भने यी तमाम प्रवृत्तिबाट बाहिर आउनै पर्दछ र उनको नाम, तथा स्थान र उनले गरेका कामतर्फ ध्यान दिनुपर्दछ । यही नै सच्चा शिवोपासना हो, शिवरात्रि पर्व मनाउनु हो । उनको शरीर अमङ्गल भए पनि काम मङ्गल छ । जतिबेला हामी पनि त्यस्तै मङ्गल कामतिर ध्यान दिन थाल्ने छौँ तबमात्र हाम्रो जीवन मङ्गलमय हुनेछ । अस्तु ।

salt training

कमेन्ट गर्नुहोस्