
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई जिताएर परिवर्तनको केन्द्र बनेको चितवनको इपिसेन्टर यसपटक पश्चिमतर्फ सर्ने संकेत देखिएको छ। परिवर्तनको पक्षमा उभिएका रूपन्देही १ का मतदाता फागुन २१ को व्यग्र प्रतीक्षामा छन्।
अघिल्लो निर्वाचनमा नयाँ दलको रूपमा रास्वपाले चितवनका ३ मध्ये २ क्षेत्र जितेर राष्ट्रिय राजनीतिमा नयाँ सन्देश र पुराना दललाई झट्का दिएको थियो। काठमाडौँ उपत्यका बाहिर रास्वपाले प्रत्यक्ष जितेको चितवन मात्र थियो, उपनिर्वाचनमा तनहुँ थपियो।
यसपटक भने परिवर्तनको इपिसेन्टर चितवनबाट पश्चिम सरेको व्याख्या/विश्लेषण रूपन्देहीमा भइरहेको छ; रूपन्देही १ ले त्यसको छनक दिएको छ।
लोकान्तर डट्कमले रूपन्देही १ का मतदातासँग गरेको कुराकानीका आधारमा बहुसंख्यक मतदाताहरूले (निर्वाचन आचारसंहिताका कारण संख्या र प्रतिशत नखुलाइएको)नयाँ दललाई भोट दिने बताइरहेका छन्।
‘यसपटक नयाँलाई’ भन्ने अभियान देशव्यापी चलिरहेको छ। एक कदम अगाडि बढेर यहाँका मतदाता ‘परिवर्तन यसैपालि’ भनिरहेका छन्। ‘नयाँप्रतिको आकर्षण’का कारण पुराना दलबाट उठेका उम्मेदवार छायाँमा परेका छन्। उनीहरूको व्यक्तिगत लोकप्रियताले काम गरेको छैन।
तिलोत्तमा १२ विजयनगरमा भेटिएका कृष्णप्रसाद ज्ञवालीले रास्वपाको पक्षमा देखिएको लहरले आश्चर्यमा परेको बताए। ‘तपाईं जुन घरमा जानु भए पनि सबैले भनिरहेका छन्, यसपटक नयाँलाई, परिवर्तन यसैपालि,’ ज्ञवालीले भने, ‘रास्वपालाई पूरै भरविश्वास गरेर हो या पुराना दलप्रतिको वितृष्णाले हो बुझ्न सकिएन।’

चर्को आवाजमा बजिरहेको ‘घण्टी’
रुपन्देहीको देवदह नगरपालिका खैरेनी बजारको पूर्व–पश्चिम राजमार्ग नजिकै दीपेन्द्र विकले आफ्नो आरनमा घरेलु हतियार (हँसिया, बन्चरो) मा धार लगाउन घन ठोक्दै थिए। त्यहीँ आरनमा आफ्ना हतियारमा धार लगाउन आएकी थिइन् ६० वर्ष नाघेकी तारा गिरी।
बुधबार बिहान त्यहाँ पुगेर ‘चुनावी माहोल के छ हजुर यता?’ भनेर लोकान्तरकर्मीले सोध्दा दीपेन्द्र खासै खुल्न चाहेनन्। तर, दीपेन्द्रको आडैमा कुर्सीमा बसेकी तारालाई ‘के छ आमा यता चुनावी माहोल, भन्नु न त’ भनेर प्रश्न भुइँमा झर्न नपाउँदै ताराले फ्याट्टै भनिन्, ‘बाली पाकेर पनि कुर्सी रोकेर बसेका बुढालाई होइन बाबु, योपटक युवालाई दिने हो।’ युवालाई भन्ने उनको आशय थियो— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)।
ताराले आफ्नो मनमा भएको कुरा भनेपछि देवदह–१ घर भए पनि वडा नम्बर–५ मा आरन चलाएका दीपेन्द्र पनि हौसिँदै बल्ल बोल्न राजी भए। ‘पुरानाप्रति दिग्दारी छ, योपटक नयाँलाई हेर्ने हो,’ विकले भने, ‘पुराना पार्टीलाई यत्रो साल दिएर केही काम गरेनन्। बालेनले काठमाडौँलाई ‘स्वर्ग’ बनायो। यहाँ पनि त्यस्तै बनाउँछ। विकास गर्छ भन्ने लागेको छ।’
बालेनले योपटक नजिते अर्कोपटक देश रहन्छ कि रहन्न भन्ने दीपेन्द्रले चिन्तासमेत व्यक्त गरे। कुराकानीकै क्रममा ताराले फेरि थपिन्, ‘यसअघि सबैलाई दिएको हो। कोही बाँकी छैनन्, पुरानाप्रति वाक्क लाग्यो बाबु। भोट माग्न आउने सबैलाई हुन्छ हुन्छ त भन्नैपर्यो। तर, योपटक बाकसमा नयाँलाई भोट खस्छ।’ वृद्ध तारा र युवा दीपेन्द्रको स्पष्ट सन्देश थियो— योपटक मत परिवर्तन हुन्छ।
श्रीमानलाई स्वदेश फर्काउने सपनाका लागि नयाँ
देवदह १० की सरस्वती अधिकारी अघिल्लो चुनावसम्म कुनै राजनीतिक दलकी कार्यकर्ता थिइन्। तर, सरस्वतीको मन योपटक मत परिवर्तन गर्नेमा छ। ‘हाम्रो परिवार पुरानो कांग्रेस हो, योपटक जरो फेरिन्छ,’ उनले भनिन्, ‘गाउँ–ठाउँमा बाहिर अहिले हिँडिँदैन। भोट दिएर घण्टीलाई जिताएपछि बल्ल विजयी जुलुसमा हिँड्ने हो।’

भदौ २३ गतेको घटना उनको मनमा अहिले पनि आइरहन्छ। आफ्ना छोराछोरी जस्तै सन्तान ठाउँको ठाउँ गोली लागेर ढलेको देखेपछि अब पुरानाबाट नभई पढेलेखेका र युवा देश बनाउन आउनुपर्छ भनेर आफू परिवर्तनको बाटोमा लागेको उनको भनाइ छ।
कुराकानी गर्दै जाँदा उनले अझै थपिन्, ‘मेरो श्रीमान् विदेश हुनुहुन्छ। उहाँलाई यहीँ ल्याएर रोजगारी गर्ने अवसर मिलोस्। दुई छोराछोरी छन्, उनीहरूलाई पनि यही देशमा पढ्ने र जागिरको ग्यारेन्टी अबको चुनावपछिको सरकारले गर्छ कि भन्ने आशा पालेकी छु।’
देवदह–६ दुग्ध उत्पादन कृषि सहकारी संस्थाबाट निस्किँदै गरेका विष्णु न्यौपानेसँग हाम्रो जम्काभेट भयो। एमाले पार्टी कार्यकर्तासमेत रहेका विष्णुले आफ्नो गाउँ–टोलमा नयाँ (रास्वपा) प्रतिको प्रभाव बढी देखिएको बताए। ‘म एमाले कार्यकर्ता हुँ, तर यता धेरै अहिले घण्टी–घण्टीजस्तो देखिन्छ। मेरो घर शिवालय टोलमा हो, त्यहाँ झण्डै ५ सय घरधुरी छन्। त्यसमध्ये धेरैले योपटक घण्टी–घण्टी मात्र भनेको सुन्छु,’ उनले भने, ‘म एमाले भएकाले मेरो भोट एमालेमा जान्छ, तर मेरो बाहेक घरका चार जना घण्टीमा भोट हाल्ने भनेर जुरमुराएका छन्। मैले उनीहरूलाई आफ्नो विवेक प्रयोग गर भनेको छु। पुरानाप्रतिको वितृष्णाले मानिसहरूले नयाँलाई रोजेको हुनसक्ने मेरो बुझाइ हो।’

तिलोत्तमा १२ प्रगतिनगरका चित्रबहादुर थापाले यसपटक नयाँलाई अवसर दिने योजना बनाएको बताए। ‘तिनै पुरानाको मुख कति हेर्ने? यसपटक ड्याम्मै नयाँलाई भोट हाल्ने हो। नयाँले पनि धोका दिए भने अर्कोपटक पुरानैमा फर्किउँला,’ थापाले भने।
देवदह मेडिकल कलेजमा बिएस्सी नर्सिङ पढ्दै गरेकी दीक्षा न्यौपानेले यसपटक पनि देश परिवर्तनको लागि मत नदिए देश कहिले उँभो नलाग्ने बताइन्। ‘कहिले पानीजहाज चलाउँछु भन्छन्, कहिले रेल गुडाउँछु भन्छन्, जनतामा आक्रोश छ,’ उनले भनिन्, ‘जेनजी आन्दोलनमा त्यत्रा युवा ढले, अझै पनि उनै ठीक भन्नु हो र भन्या?’
मासु पसल सञ्चालक रामचन्द्र थापाले पनि नयाँलाई नयाँ जिम्मेवारी दिनुपर्ने बताए।
देशका धेरैजसो निर्वाचन क्षेत्रमा जस्तै रूपन्देही–१ मा पनि ‘यसपटकको चुनाव नयाँलाई’ भन्ने लहरले पर्याप्त काम गरेको पाइएको छ। रिपोर्टिङमा भेटिएका अधिकांश मतदाताको मनस्थिति हेर्दा कांग्रेस, एमाले र नेकपा रक्षात्मक र रास्वपाको माहोल आक्रामक रूपमा अघि बढेको देखिन्छ।

यस क्षेत्रमा रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेका बालेन्द्र शाह (बालेन) का विश्वासपात्र तथा पार्टीका महामन्त्री एवं युवा इन्जिनियर सुनील लम्साल उम्मेदवार छन्। उनको प्रभाव पनि राम्रो देखिन्छ।
रास्वपाका लम्सालसँगै नेपाली कांग्रेसका नेता हिराबहादुर खत्री, नेकपा (एमाले) का दधिराम न्यौपाने (माधव) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का घनश्याम यादव अहिर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रज्वल बोहोरा उम्मेदवार छन्।
राजनीतिक दलका २० र १० स्वतन्त्र गरी यो क्षेत्रमा ३० जना उम्मेदवार चुनावी मैदानमा छन्। यो क्षेत्रका सबै उम्मेदवार नयाँ भएकाले यो क्षेत्रले नयाँ सांसद पाउने निश्चित छ। २०७९ सालको निर्वाचनमा एमालेका सचिव छविलाल विश्वकर्मा विजयी भएका थिए, यसपटक उनी उम्मेदवार छैनन्।
२४ हजार ८८२ मत पाएर विश्वकर्मा विजयी हुँदा घनश्याम भुसाल २१ हजार ३१८ मत पाएर दोस्रो बनेका थिए। रास्वपाका नरेश पछाई क्षेत्रीले १४ हजार १ सय ३८ मत पाएका थिए। राजनीतिक परिस्थिति फेरिएको सन्दर्भमा त्यो अंकगणित औचित्यहीन बनेको छ।
युवा प्रधानमन्त्री भएको हेर्ने धोको

कुराकानीकै क्रममा भेटिएका खैरेनीदेखि शंकरपुरसम्म गाडी (विङ्गर) चलाउने देवदह–२ का सुरज रानाले अहिलेको चुनावमा एकपटक घण्टीलाई हेरौँ भन्ने ‘ट्रेन्ड’ नै चलेको सुनाए। ‘बाहिर गाउँ–टोलमा ७५ प्रतिशत घण्टी भन्छन्,’ चालक राना भन्छन्, ‘बालेन दाइ, रवि दाइ हाईहाई भनिरहेका छन्। अन्तिममा मान्छेहरू बिकेनन् भने योपटक घण्टी चर्को स्वरमा बज्नेजस्तो चहलपहल देखिन्छ।’
आफूले पनि अहिलेको चुनावमा नयाँलाई हेरौँ भन्ने सोच बनाएको समेत उनले खुलाए। बुद्ध पब्लिक बोर्डिङ स्कूलमा होटल म्यानेजमेन्ट पढ्दै गरेकी देवदह–११ शंकरपुरकी प्रीति मल्ल पनि यो देशले युवा र सक्षम नेतृत्व खोजेको बताउँछिन्।
पहिलोपटक मतदान गर्ने उत्साहमा रहेकी उनले बालेनलाई मुलुकले प्रधानमन्त्री खोजेको स्पष्ट धारणा राखिन्। ‘हामीले बालेन र रविलाई जिताउन मतदान गर्ने हो, देश बन्नुपर्छ भन्ने हो,’ उनले भनिन्।
रूपन्देही १ उत्तरमा खैरेनी बजारदेखि दक्षिणमा ग्रामीण क्षेत्र धेरै समेटिएको छ। उत्तरी भेगमा बसाइँसराइ गरेर आएका समुदायको बाहुल्य छ भने, दक्षिणमा तराई मूलका समुदायको बसोबास छ।
अहिले सबै उम्मेदवार घरदैलो अभियानमा जुटेका छन्। स्थापित दलका उम्मेदवार आफ्ना अघिल्लो कार्यकालका उपलब्धि देखाउँदै मत मागिरहेका छन् भने नयाँले परिवर्तन र सुशासनलाई मुख्य एजेन्डा बनाएका छन्।
खेतमा बेसार खन्दै गरेकी जमुना पुनले योपटकको माहोल घण्टीमय सुनेको बताइन्। ‘मत कता खसाल्ने भन्ने थाहा भएन,’ उनले भनिन्, ‘मैले अघिल्लो चुनावमा सूर्यलाई दिए पनि योपटक मत परिवर्तन गर्ने सोचेकी छु।’

अटोरिक्सा चलाउने दिलबहादुर विकले योपटक रास्वपालाई भोट दिएर बालेनलाई प्रधानमन्त्री बनाउनुपर्ने स्पष्ट धारणा राखे। यसअघि कांग्रेस, एमाले र माओवादीलाई मत दिएको बताउने उनले अहिले रास्वपालाई हेर्ने सोच बनाएको बताए।
शंकरपुर चोकमा चिया गफ गर्दै गरेका विनोदकुमार यादव घण्टी, हलो र ताराबीच प्रतिस्पर्धा हुने देख्छन्। उनले भने, ‘यो क्षेत्रमा २० हजार बढी यादवहरूको मत छ। यहाँ नेकपाका घनश्याम यादव हुनुहुन्छ। धेरै यादवहरूको भोट उहाँलाई जान्छ जस्तो लाग्छ। त्यसैले ताराको सम्भावना पनि बढी देखिन्छ।’
स्थानीय प्रकाश ढकाल भने राप्रपाले जित निकाल्न सक्ने बताउँछन्। ‘दीपक बोहोराको लिगेसी यस क्षेत्रमा राम्रो छ, बोहोराप्रतिको सहानुभूतिका भोट आए भने राप्रपाले पनि चुनाव जित्न सक्छ।’
तिलोत्तमा–१७ का सन्तोष अधिकारीले अहिले नै भन्न नसकिने बताए। ‘उत्तरमा चुरेदेखि दक्षिणमा भारतसँग जोडिएको सीमासम्म पर्छ,’ उनले भने, ‘यहाँ तराई मूलका विशेषतः यादवहरूको भोट निर्णायक हुन्छ। योपटक राम्रो प्रतिस्पर्धा हुने देखिन्छ। अहिले नै यसले जित्ला भनेर अड्कलबाजी लगाउन सक्ने देखिँदैन।’
देवदह शंकरपुरमा होटल सञ्चालक कृष्ण पाण्डेले आफू एमाले कार्यकर्ता भए पनि योपटक रवि–बालेनलाई मत दिएर अवसर प्रदान गर्ने सोच बनाएको बताए।
देवदह–६ का छविलाल ढकालले आफू कांग्रेस कार्यकर्ता भए पनि अहिले कसलाई भोट जान्छ भन्ने निश्चित नभएको बताए। जनतालाई कहिल्यै माथि नराख्ने, भ्रष्टाचार मात्र गर्ने गरेको पाइएपछि आफूजस्तै धेरै जनतामा ठूलो निराशा छाएको उनले गुनासो गरे ।

शंकर भण्डारीले जनतामा योपटक जताततै घण्टी मात्र सुनिएको बताए। अर्का स्थानीय रामजी मल्लले आफू कांग्रेस भए पनि योपटक नयाँलाई हेर्ने सोच बनाएको खुलाए। अर्का अटो चालक मनबहादुर गुरुङले कसैले केही नगरेपछि मत बदल्ने मनस्थिति बनाएको बताए।
युवा अनिल चौधरीले पनि नयाँलाई हेर्ने सोच बनाएको बताए।
२०६४ अघिका तीनवटा निर्वाचनमा भने यहीँ क्षेत्रबाट कांग्रेसका स्व. दुर्योधनसिंह चौधरीले ‘ह्याट्रिक’ गरेका थिए। २०५६ मा थारूले तत्कालीन एमालेका उम्मेदवार घनश्याम यादव, २०५१ मा तत्कालीन एमाले नेता घनश्याम भुसाल र २०४८ मा एमालेका भीमनारायण थारूलाई पराजित गरेको इतिहास छ। क्षेत्र नम्बर–१ मा देवदह नगरपालिका, रोहिणी गाउँपालिका, तिलोत्तमा नगरपालिकाको वडा नम्बर ७, ८, ९, १०, ११, १२, १५, १६, १७ र ओमसतिया गाउँपालिकाको वडा नम्बर १, ३, ४, ५, र ६ पर्छन्।
१ लाख ४६ हजार ८२४ मतदाता रहेको यो क्षेत्रमा ४५ वटा मतदान स्थल र १५९ वटा मतदान केन्द्र रहेका छन्। रूपन्देही–१ मा सुकुम्बासी समस्या छ। देवदहमा इलाका प्रहरी कार्यालय हुनुपर्ने स्थानीयको माग छ। यसैगरी, भित्री सडकहरू निर्माण हुनुपर्ने लगायतका मागहरू स्थानीय नागरिकले राख्ने गरेका छन्।
विकास र सुशासन एजेण्डा लिएर मैदानमा छु, सहजै चुनाव जित्छु– लम्साल
रास्वपा उम्मेदवार लम्सालले देश विकासको नारा र सुशासनको प्रतिबद्धता गरेर आफू चुनावमा होमिएको बताए। बिहीबार चुनावी घरदैलोमा व्यस्त रहेका लम्सालले लोकान्तरसँग कुरा गर्दै मतदाताले सुशासनको अपेक्षा गरेको बताए । ‘मतदाताले समस्या सुनाउने र गुनासो राख्ने गर्नुभएको छ, मैले सुनिरहेको छु। मतदाताको ठूलो अपेक्षा केही छैन; समयमा मल पाउनुपर्यो, विभेद हुनुभएन भन्नेजस्ता सामान्य माग छन्,’ लम्सालले भने, ‘मतदाताले राखेका गुनासो सुन्ने र समाधान गर्ने प्रतिबद्धता जनाएको छु।’
लम्सालले रूपन्देही १ मा सिँचाइको समस्या रहेको भन्दै भएका १०० बोरिङमध्ये १० वटा मात्र चलिरहेको र बाँकी काम नलाग्ने अवस्थामा रहेको बताए।

लम्सालले वर्षौँदेखि बसोबास गरेकाहरूको लालपुर्जा नभएको मतदाताको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए। ‘यहाँका धेरै मानिसलाई सरकारी कागज भर्न पनि आउँदैन, उहाँहरूका समस्या सम्बोधनका लागि काठमाडौँ महानगरमा जस्तै एकल सेवा केन्द्र लागू गर्ने पनि एजेण्डा छ,’ लम्सालले भने।

रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्रीका उम्मेदवार बालेन र पत्रकारितामार्फत् रास्वपा सभापति रवि लामिछानेले सञ्चालन गरेको भ्रष्टाचार विरोधी अभियान अहिले राष्ट्रिय एजेण्डा बनेको उनले बताए। ‘काठमाडौँ महानगरलाई अनियमितता र भ्रष्टाचारमुक्त बनाएका थियौँ, त्यही कुरा देशमा लागू गर्ने हो,’ लम्सालले भने।
हेर्नुहोस्, रास्वपा उम्मेदवार सुनील लम्सालसँग गरिएको भिडियो कुराकानी