२६ जेठ २०८३, मंगलबार
चुनावी ग्राउन्ड जिरो

गोरखा १ मा रुख र ताराको टक्कर, नजिकबाट सुधन गुरुङको चुनौती

गोरखा १ मा रुख र ताराको टक्कर, नजिकबाट सुधन गुरुङको चुनौती

दुईवटा निर्वाचन क्षेत्र रहेको गोरखामा नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । यसअघि कांग्रेस र माओवादी केन्द्र (हाल नेकपा)को प्रभाव रहेको जिल्लामा यसपटक रास्वपाले उनीहरूलाई नजिकबाट टक्कर दिने देखिएको हो ।

गोरखा नगरपालिका वडा नम्बर १ देखि ७ सम्म तथा गण्डकी, शहीद लखन, भीमसेन, आरुघाट, धार्चे र चुमनुब्री गाउँपालिका समेटिएको गोरखा १ मा कांग्रेसबाट प्रेमकुमार खत्री, एमालेबाट रामचन्द्र लामिछाने, नेकपाबाट हरिराज अधिकारी, रास्वपाबाट सुधन गुरुङ र राप्रपाबाट केदारमणि खनालसहित ११ दलका र १ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।

कांग्रेस–नेकपा टक्कर, रास्वपा पछ्याउँदै

अघिल्ला २ निर्वाचनमा पालैपालो जितेका कांग्रेस र नेकपाबीच गोरखा १ मा तीव्र प्रतिस्पर्धा देखिएको छ । रास्वपाका सुधन गुरुङले नजिकबाट उनीहरूलाई पछ्याइरहेको पाइएको छ ।

गोरखा नगरपालिकाका विभिन्न वडा, भीमसेन थापा गाउँपालिका र आरुघाट गाउँपालिकामा पुगेर मतदातासँग कुराकानी गर्दा अधिकांशले कांग्रेस, नेकपा र रास्वपाबीच प्रतिस्पर्धा हुने बताए ।

आरुघाट गाउँपालिका ९ आरुटारका रामकुमारउपरकोटीले कांग्रेसका प्रेमकुमार खत्रीले चुनाव जित्ने दाबी गरे । ‘प्रेम खत्री समाजसेवी पनि हुनुहुन्छ । उहाँलाई यहाँ चिनाइराख्नै पर्दैन, समाजमा परिचित हुनुहुन्छ,’ उपरकोटीले भने ।

सोही ठाउँका झम्के सार्कीले चुनाव कांग्रेसले जित्न सक्ने विश्लेषण गरे पनि आफ्नो भोट भने तारा (नेकपा)लाई जाने बताए ।

यसैगरी, आरुटारकै दिलबहादुर रोकाले रुख र ताराबीच प्रतिस्पर्धा हुने दाबी गरे । ‘नेकपाको पनि माहोल राम्रो छ, रुख र ताराबीच प्रतिस्पर्धा हुन्छ, जसले जित्न पनि सक्छ’, रोकाले भने । आफ्नो भोट भने तारालाई जाने उनको भनाइ थियो ।

गोरखा नगरपालिका वडा नम्बर १ छापथोककी गंगा भट्टले गाउँ–ठाउँमा घण्टी (रास्वपाको चुनाव चिह्न) भन्नेहरू समेत रहे पनि सो पार्टीको आधार के हो भनेर आफूले नबुझेको बताइन् ।

null

हाल एमालेमा आबद्ध रहेको बताएकी उनकी छोरीले रास्वपालाई मत दिन आग्रह गरिरहेको बताइन् ।

गोरखा नगरपालिका २ कोखे आहालेका ईश्वर बोहोराले यो क्षेत्रमा चारै दल (कांग्रेस, एमाले, नेकपा र रास्वपा)बीच प्रतिस्पर्धा हुने बताए ।

null

आफ्नो ठाउँमा कांग्रेसको बाहुल्यता रहे पनि वौद्धिक हिसाबले एमालेका रामचन्द्र लामिछानेलाई मत दिने उनको भनाइ छ ।

भीमसेन थापा ५ बगुवाका रामप्रसाद पाण्डेले आफूले घण्टीको माहोल देखेको बताए । भीमसेन थापा ६ झिँगटेकी सुमित्रा आलेले युवा तथा केटाकटीले घण्टी भने पनि आफूहरूले रूखमै मत हाल्ने बताइन् । आफ्नो ठाउँको विकास कांग्रेसले नै गरेको उनको भनाइ थियो ।

null

भीमसेन थापा ६ कै मोहम्मद हकिमले घण्टीको हल्ला फेसबुकमा मात्र देखिए पनि ग्राउन्डमा कांग्रेस र नेकपाबीच प्रतिस्पर्धा हुने जिकिर गरे ।

उनले कांग्रेसको केही समानुपातिक मत घण्टीमा जान सक्ने तर्क गरे ।

null

गोरखा नगरपालिका २ कोखे आहालेका मोहम्मद सफीले आमा कांग्रेस र आफू एमाले भएको बताए । आफ्नो ठाउँमा कांग्रेस र एमालेकै प्रतिस्पर्धा रहेको उनको दाबी थियो ।

सफीले मुस्लिमहरू कसरी तुर्किमिनिस्तानबाट गोरखा आइपुगे भन्ने विषयमा पनि रोचक कहानी सुनाए । पृथ्वीनारायण शाहले हतियार निर्माणका लागि झुक्याएर आफूहरूको पुर्खालाई गोरखासम्म ल्याएको उनको भनाइ थियो । ‘पृथ्वी नारायण साह तुर्किमिनिस्तान जानुभएको रहेछ । त्यहाँका मानिसले हतियार बनाउन जानेको देखेपछि उहाँले गोरखा आउन आग्रह गर्नुभएछ । कसैले मानेनछन् । त्यसपछि उहाँले जुक्ति लगाउनुभएछ । त्यहाँका मान्छेले खाना खाएपछि थाल पखालेर राख्ने रहेछन् । उहाँले चाहिँ तपाईंहरू गरिब हुनुहुँदो रहेछ, हाम्रो गोरखामा त यस्तो जुठो भाँडा पखालेर खाँदैनौं । बिहान खाएको भाँडा बिहानै फाल्ने, बेलुकाको बेलुकै फाल्ने । त्यसपछि बल्ल हाम्रो पुर्खा गोरखा आउन तयार हुनुभएछ । यहाँ आउँदा त टपरीमा पो खाना खाने रहेछन् । त्यसरी झुक्याएर ल्याउनुभएको भन्ने हामीले बुवा, हजुरबुवाहरूबाट सुनेको हो,’ सफीले भने ।

null

पुस्तौंदेखि यहाँ मिलेर बसेका गोरखाका मुस्मिल वंशज नागरिक नै हुन् । कुराकानीकै क्रममा भेटिएका गोरखा २ का वडाध्यक्ष रहमतुल्लाह मियाले कांग्रेसले जित्ने दाबी गरे । ‘हाम्रोमा कांग्रेसको भोट खासै बिग्रिएको छैन, सजिलै जित्छौं,’ मियाले भने ।

गोरखा नगरपालिका २ का कृष्ण परियारले आफूलाई चुनावी माहोलबारे केही थाहा नभएको बताए ।

गोरखा ४ फिनामकी सम्झना थापाले जो आए पनि आफ्नो दु:ख जहाँको त्यहीँ रहने भन्दै चासो नलिएको बताइन् । ‘जो आए पनि दु:ख गर्नैपर्छ । साना व्यापारीलाई बैंकले दु:ख दियो । ऋणको थुप्रो छ । आफ्नो घरमा सटर लगाएर अलि व्यापार हुन्छ कि भनेर अर्काको सटरमा पसल राख्नुपरेको छ,’ थापाले भनिन् ।

गोरखा ५ हिलेपोखरीका सीताराम थपलियाले युवा घण्टी र पुराना मान्छे पहिलेकै दलमा रहेको बताए । ‘छोराछोरी आए भने के गर्छन् थाहा छैन, दबाब देलान्, तर अहिलेसम्म बुढा पुरानाजति पहिलेकै पार्टीमा छन्,’ थपलियाले भने ।

उनले ४ दल नै प्रतिस्पर्धामा रहेको बताए ।

null

धार्चे ७ क ३१ वर्षीय अमित विकले आफ्नो भोटर आईडी नरहेको बताए । तर, आमाबुवाले भने विगतदेखि नै कांग्रेसलाई मत दिँदै आएको उनको भनाइ थियो ।

गोरखाकै बतासेका कृष्णबहादुर बसेलले कांग्रेस र नेकपाबीच प्रतिस्पर्धा हुने बताए । उनको झुकाव नेकपातर्फ रहेको पाइयो ।

गोरखा ५ हिलोपोखरीकी रिता श्रेष्ठले विगतमा सबैलाई हेरेको भन्दै यसपटक रास्वपका सुधन गुरुङलाई मत दिने बताइन् । छोराछोरीले पनि बाहिरबाट फोन गरेर एकपटक नयाँलाई हेर्नुस् भनिरहेको उनको भनाइ थियो ।

null

गोरखा नगरपालिका ७ बतासेका हरि अछामीले आफूले विगतमा माओवादीलाई मत दिँदै आएको बताए । अहिले धेरैले घण्टी भनेको सुनेको भन्दै उनले आफूले भने केही निर्णय गरिनसकेको बताए ।

गोरखा ७ नयाँबजारका दीपक श्रेष्ठले घण्टी र ताराको प्रतिस्पर्धा रहेको बताए ।

सोही ठाउँका सोमप्रसाद श्रेष्ठले कांग्रेसका प्रेम खत्री पनि राम्रो उम्मेदवार रहेको बताए । विगतमा माओवादीलाई मत दिएको बताएका उनले यसपटक माहोल हेरेर मत दिने बताए ।

गोरखा ७ बतासेकी निर्मला कोइरालाले विगतमा एमालेलाई मत दिँदै आएको बताइन् । ‘मलाई सञ्चो छैन, सञ्चो भए जाने हो,’ उनले भनिन् ।

भीमसेन थापा ५ बगुवा लामाचौरमा भेटिएका ध्रुवकुमार भट्टले नेकपाका हरिराज अधिकारीले जित्ने दाबी गरे । उनी नेकपाका नेता समेत रहेछन् । गाउँ–ठाउँमा कतिपयले घण्टी भनिरहे पनि आफूहरूले त्यसलाई चिर्ने काम गरिरहेको उनको भनाइ थियो ।

null

भीमसेन थापा १ देवीथानका रुद्रप्रसाद बञ्जाराले विगतमा कांग्रेसलाई मत दिँदै आएको बताए । ‘मैले कांग्रेसलाई भोट हाल्दै आएको हो, यसपटक के हुन्छ, हेरौं ।’

भीमसेन थापा २ कोख्लेकी कोपिला सोडारीले गाउँमा धेरैले घण्टी भनिरहेको बताइन् । सँगै रहेकी पार्वती अमगाईंले नेकपाको नाम लिइन् ।

भीमसेन थापा ३ टारीखेतकी पार्वती पुडासैनीले जसले जे भने पनि आफ्नो परिवारले कांग्रेसका प्रेम खत्रीलाई नै मत दिने बताइन् ।

null

आरुघाट १० चनौटेका नारायणप्रसाद भट्टले जनता निकै बाठा भएकाले अहिले अनुमाान गर्नै गाह्रो रहेको बताए । उनी एमालेमा संगठित रहेछन् । ‘हाम्रो ध्यान चाहिँ खर्च नगर्ने, आफ्नो भोट जोगाउने भन्ने छ,’ भट्टले भने ।

आरुघाट ९ आरुटारका कृष्ण खनाल कांग्रेसमा आबद्ध रहेछन् । उनले यसअघिका सांसद राजेन्द्र बजगाईंको पालामा भ्रातृ संगठनलाई नहेरेको गुनासो गरे ।

null

आरुटारकै ३३ वर्षीय एक युवतीले यसपटक आफूले मत परिवर्तन गर्ने बताइन् ।

भीमसेन थापा २ ओख्लेका राजेश्वर अमगाईंले यस क्षेत्रमा तीव्र प्रतिस्पर्धा रहेको र यसै भन्न नसकिने अवस्था रहेको बताए । उनी रास्वपासँग आबद्ध रहेछन् ।

हामीले अन्य कैयन मतदातासँग समेत कुराकानी गरेका थियौं, अधिकांशले नाम उल्लेख नगर्ने शर्तमा मात्र आफ्नो कुरा खुलस्त राखे । हामीले तस्वीर पनि अनुमति लिएर इच्छा भएकाहरूको मात्र खिच्यौं ।

कुराकानीका क्रममा कांग्रेस र नेकपाबीच कडा टक्कर रहेको पाइयो । यी दुई दललाई रास्वपाले नजिकबाट चुनौती दिइरहेको र एमाले केही रक्षात्मक रहेको पायौं ।

null

राजनीतिक जोडघटाउ

अघिल्लोपटक कांग्रेसका गठबन्धन उम्मेदवार राजेन्द्र बजगाईं ३३ हजार ४२८ मत ल्याएर विजयी हुँदा एमालेका रामशरण बस्नेतले १६ हजार ७८५ मत पाएका थिए । रास्वपाका सुवर्ण रोकाहाले ४ हजार ८९२ मत ल्याएका थिए ।

सुवर्ण यसपटक पनि उम्मेदवार बन्न आकांक्षी थिए, तर टिकट सुधनले ल्याए । केही समय निष्क्रिय बसेका सुवर्ण अहिले भने चुनावी अभियानमा हिँडेका छन् ।

कांग्रेसका रामशरण बजगाईं भने ‘ग्राउन्ड’मा देखिएका छैनन् । यस क्षेत्रका कांग्रेस मतदाताले चीनकाजी श्रेष्ठको मुभलाई पनि नियालिरहेको पाइयो ।

null

‘प्रेम खत्रीलाई चीनकाजीले राम्रै साथ दिनुभएको छ भन्ने सुनेका छौं,’ आरुघाटमा भेटिएका एक कांग्रेस मतदाताले भने ।

अघिल्लो पटकको समानुपातिक तत्कालीन माओवादी (हाल नेकपा) १८ हजार ४७१ मतसहित सबैभन्दा अगाडि थियो । कांग्रेसले १५ हजार २७१ मत पाएको थियो ।

एमालेले ११ हजार ८९३ मत पाउँदा रास्वपाले ७ हजार २७४ मत पाएको थियो ।

संगठनात्मक हिसाबले बलियो देखिएको नेकपाले यसपटक चुमनुब्री र धार्चेबाट ल्याउने मतमा आशंका व्यक्त भइरहेको हामीले पायौं ।

गुरुङसहित जनजातिको मत बढी रहेको र रास्वपाले चुमनुब्रीकै गुरुङ समुदायबाट सुधनलाई उम्मेदवार बनाएकाले त्यहाँको मतमा केही प्रभाव पर्न सक्ने आकलन गरिएको छ । यी दुई पालिकाबाट विगतमा माओवादीले निकै राम्रो मत ल्याउने गरेको थियो । ‘सुधन गुरुङका बुवा माओवादी पृष्ठभूमिकै हुनुहुँदो रहेछ । उहाँ पनि खटिएर लाग्नुभएको छ । हामीले माथिल्ला पालिकाबाट लीड गर्ने अपेक्षा गरेका छौं,’ आरुघाटमा भेटिएका रास्वपा नेता अमगाईंले लोकान्तरसँग भने ।

salt training

कमेन्ट गर्नुहोस्