
प्रतिनिधि सभा सदस्यका लागि कपिलवस्तुको एउटै वडा/टोलका तीन नेता फरक–फरक पार्टीबाट प्रतिस्पर्धामा उत्रिएका छन् । अघिल्लो प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन (२०७९) मा कांग्रेस र तत्कालीन माओवादीबाट उम्मेदवार बनेका तीन जना नेता यसपटक फरक तीन दलबाट प्रतिस्पर्धामा उत्रिएका हुन् ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ का अभिषेकप्रताप शाह, वीरेन्द्रकुमार कानोडिया र एहसान अहमद खाँ चुनावी प्रतिस्पर्धामा छन् । कपिलवस्तुकै निर्वाचन क्षेत्र नम्बर ३ बाट शाह नेपाली कांग्रेस, कानोडिया नेकपा (एमाले) र खाँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवार बनेका हुन् । तीनै नेताहरूको घर पनि करिब एक किलोमिटर आसपासमै छ ।
अघिल्लो निर्वाचनमा शाह र कानोडिया कांग्रेसबाट क्रमशः प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवार बनेका थिए । खाँ भने तत्कालीन माओवादी केन्द्रबाट प्रतिस्पर्धामा थिए ।
त्यसबेला शाह विजयी भए पनि कानोडिया र खाँ पराजित भएका थिए । यसपटक भने प्रमुख तीन दलबाट एउटै वडाका यी तीन नेताबीच संघीय सांसदका लागि प्रतिस्पर्धा हुने भएको हो ।
एउटै वडाका नेताहरू प्रमुख तीन पार्टीबाट उम्मेदवार बनेपछि वडाबासी भने कसलाई मत दिने भन्नेमा अन्योलमा परेको कृष्णनगर नगरपालिका–३ का अध्यक्ष साहिर अहमद खाँ बताउँछन् । ‘तीन जना उम्मेदवार नै छिमेकीहरू हुन्,’ वडाअध्यक्ष खाँले लोकान्तरसँग भने, ‘छिमेकीहरू प्रमुख तीन पार्टीका उम्मेदवार बनेपछि कसलाई भोट दिने भन्नेबारे अप्ठ्यारो परेको छ । सबैलाई दिन मिलेन, आफ्नो मनले जसलाई बढी विश्वास लाग्छ उसैलाई दिनुपर्ने अवस्था आयो ।’
यस क्षेत्रमा तीनै जना जिल्लाका लागि ‘हेभिवेट’ मानिएका उम्मेदवार हुन् । उनीहरूबीच नै प्रतिस्पर्धा हुने र एक जना सांसद बन्ने सम्भावना रहेको मतदाता बताउँछन् । उनीहरू तीन जनासँगै यो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रकाश रजौरिया, राष्ट्रिय मुक्ति पार्टीबाट ईश्वर दयाल मिश्रसहित ३६ उम्मेदवार छन् ।
२०६३ सालदेखि राजनीतिमा प्रवेश गरेका अभिषेक २०७४ मा कांग्रेसमा जोडिएका थिए । २०३६ सालको विद्यार्थी आन्दोलनदेखि नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध कानोडिया मनोनयन दर्ता हुनुभन्दा केही दिनअघि मात्र एमालेमा प्रवेश गरेका थिए । एहसान खाँ २०७६ मा तत्कालीन माओवादीमा प्रवेश गरेका थिए । शाह र कानोडिया पूर्वराज्यमन्त्री समेत हुन् ।
उनीसँग प्रतिस्पर्धामा रहेका खाँ पनि मतदातामाझ आफ्ना एजेन्डा लगेर मत मागिरहेका छन् । सबैले योपटक आफूहरूले जित्ने दाबी गर्दै आएका छन् । आफूलाई जनताले विजयी गराए सुशासन र परिणाममुखी काम गरेर देखाउने कानोडियाले बताए ।
यता, कपिलवस्तु क्षेत्र नम्बर–२ मा सुरेन्द्रराज आचार्य र वृजेशकुमार गुप्ताबीच विरासत जोगाउने कडा प्रतिस्पर्धा चलेको छ । कांग्रेसका आचार्य र नेकपाका गुप्ता तीन वटा चुनावमा लगातार प्रतिस्पर्धा गर्दै आएका छन् । अघिल्लो निर्वाचनमा आचार्यले गुप्तालाई झिनो मतान्तरले पराजित गरेकाले योपटक उनी नतिजा उल्टाउने दाउमा छन् । यसअघि एमालेबाट प्रतिस्पर्धा गरेका गुप्ता अहिले नेकपाबाट उम्मेदवार बनेका हुन् ।
चारपटक जितेका गुप्ता अघिल्लोपटक पराजित भएका थिए । २०७० मा संविधान सभा सदस्य निर्वाचित आचार्य २०७९ मा पनि निर्वाचित भएका थिए । गुप्ता पाँचौँपटक जितको माला पहिरिने दाउमा छन् भने आचार्य तेस्रो जितको खोजीमा छन् ।
आचार्य र गुप्तालाई टक्कर दिन एमालेका दृगनारायण पाण्डे, रास्वपाका विक्रम थापा, जनता समाजवादी पार्टी (जसपा) का राम नेवास यादव उम्मेदवार छन् । यो क्षेत्रमा आचार्य र गुप्ताबीच नै कडा टक्कर हुने चर्चा छ ।
कपिलवस्तु–१ मा यसपटक चुनावको ‘सिनारियो’ भने फरक देखिएको छ । कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका आशिष शर्माले सबै उम्मेदवारलाई झस्काइदिएका छन् । जसले गर्दा यो क्षेत्रको माहोल तरंगित भएको छ । शर्मा कांग्रेसका पुराना नेता तथा पूर्वराजदूत दीपकुमार उपाध्यायका छोरा हुन् ।
एमालेबाट विश्रामप्रसाद थारू, कांग्रेसबाट अतहर कमल मुसलमान, रास्वपाबाट मोहनलाल आचार्य, नेकपाबाट कृष्णबहादुर कुँवरसहित ३० उम्मेदवार चुनावी मैदानमा छन् । यहाँ प्रमुख चार शक्तिलाई शर्माले कडा टक्कर दिएको मतदाता बताउँछन् ।
रास्वपाका मोहनलाल आचार्यले परम्परागत राजनीतिक दलको विकल्प खोज्ने भन्दै मत मागिरहेका छन् । आशिष शर्माले पनि चुनावी अभियानलाई आक्रामक बनाएका छन् ।
जीप चुनाव चिह्न पाएका शर्मा खासगरी युवाहरूमा लोकप्रिय छन् । यो क्षेत्रमा यसपटक रास्वपाका आचार्य र स्वतन्त्र उम्मेदवार शर्माबीच कडा प्रतिस्पर्धा हुने चर्चा छ । आशिषले आफूलाई पार्टीभन्दा बाहिरका युवाहरूले पनि साथ दिएको बताए । आफ्नो घरदैलोमा जनताको साथ र उत्साहले आफूले जित निकाल्ने शर्माले दाबी गरे ।