
नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुषाल गौतमले देशको समृद्धि र युवा, महिला, जनजाति, दलित समुदायको सपनालाई अब कांग्रेसले मात्रै पूरा गर्न सक्ने बताएकी छन् ।
नेपाली कांग्रेस कर्णाली प्रदेशले सुर्खेतमा बिहीबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेकी हुन् । सो सभालाई सम्बोधन गर्दै उपसभापति भुषालले कर्णाली क्षेत्रका १२ क्षेत्रका उम्मेदवारको इमान्दारिता, योजना र व्यक्तित्व हेरेर मतदान गर्न आग्रह गरेकी छन् ।
कर्णालीमा धेरै उम्मेदवार भए पनि सबैको पृष्ठभूमि हेरेर मतदान गर्न भुषालले आग्रह गरेकी हुन् । उपसभापति भुषालले आफ्नो पार्टीले अगाडि सारेका सबै उम्मेदवार भ्रष्टाचार विरोधी र इमान्दार रहेको दाबीसमेत गरिन् ।
कांग्रेस बदलिएर आएको र देशको नेतृत्व गर्न पार्टी सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको भन्दै उपसभापति भुषालले पार्टीले घोषणा गरेका व्यक्ति प्रधानमन्त्री हुनका लागि कर्णालीका सबै क्षेत्रबाट चुनाव जिताउनुपर्छ भनिन् ।
नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले लोकतान्त्रिक अभ्यास अनुसार देश चलाउने उनले बताइन् । उनले यहाँका नागरिकले रूखमा मतदान गरेर कांग्रेसलाई जिताएर देशको विकासमा साथ दिन आग्रह गरिन् ।
भुषालले नेपाली कांग्रेस किसान, महिला, बालबालिका, युवाको केन्द्रविन्दु् बन्न खोजेको भन्दै कर्णालीका नागरिकलाई मतबाट अनुमोदन गराउन आग्रह गरिन् ।