
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको सबैभन्दा ठूलो तागत संगठन भएकाले त्यसैको सहारामा घर–घर पुग्नुपर्ने बताएका छन् ।
शुक्रबार बागलुङ बजारमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालको तागतमा नभएर पार्टी आफ्नै संगठनको तागतमा उभिएकाले जनताको घर–घरमा पुगेर आफ्ना कुरा राख्न र भोट माग्न आह्वान गरे ।
सभापति थापाले सामाजिक सञ्जालमार्फत् अरूलाई टीकाटिप्पणी र आक्षेप नलगाइ कार्यकर्ताको घरमा पुग्न र अबको पाँच वर्ष खेर नफाल्नेमा आश्वस्त पार्न आग्रह गरे ।
‘कांग्रेस एउटा संकल्प र प्रतिज्ञा गरेर आएको छ, त्यसका लागि पाँच वर्ष जनताले मौका दिन आवश्यक छ । त्यसको आधार र कारणबारे बताउनुस् । यो पाँच वर्ष जोखिमपूर्ण ढंगले बनाइएको संविधान बचाउने र शहर तथा गाउँलाई जोड्नुपर्नेछ’, उनले भने, ‘सम्हाल्दै, सुधार्दै र अघि बढ्दै जाने तागत कांग्रेससँग मात्रै छ । मतदाताको बीचमा गएर यो कुरा भन्नुस् । खुलेर पार्टीको ‘भिजन १०’ का बारेमा बुझाउनुहोस् ।’
कांग्रेस युवाहरूको मागअनुसार रूपान्तरण भएको बताउँदै सभापति थापाले अनुभवी र बदलिएको यही कांग्रेसले अब युवाहरूको भावनालाई सम्बोधन गर्ने दाबी गरे ।