
प्रधानमन्त्री सुशीला कार्कीले बुधबार राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा परिषद्को बैठक बस्ने प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।
भोलि (बिहीबार) प्रतिनिधि सभा निर्वाचन हुँदैछ । यसैको तयारी स्वरूप प्रधानमन्त्रीले परिषद्को बैठक डाकेकी हुन् ।
परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ । परिषद्मा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र सेनाका प्रधान सेनापति सदस्य हुन्छन् । रक्षा सचिव भने सदस्यसचिव रहने व्यवस्था छ ।
यसअघि केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको छ । गृह मन्त्रालयमा बसिरहेको बैठकमा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्याल, गृह सचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा र सुरक्षा निकायका प्रमुखसहित उच्च सुरक्षा अधिकारी सहभागी छन् ।
मुलुकको विद्यमान अवस्था, निर्वाचन तयारी, शान्ति सुरक्षा लगायत विषयमा छलफल हुने जनाइएको छ ।