
श्रीलंकाको गाले शहर नजिकैको दक्षिणी तटमा इरानी नौसेनाको युद्धपोत 'आइआरआईएस डेना' (IRIS Dena) दुर्घटनाग्रस्त भएपछि श्रीलंकाली नौसेना र वायुसेनाले संयुक्त उद्धार अभियान शुरू गरेका छन्।
नौसेना अधिकारीहरूका अनुसार यो घटना श्रीलंकाको क्षेत्रीय जलक्षेत्रभित्र भएको हो। जहाजले संकटकालीन संकेत (Distress Call) जारी गरेलगत्तै श्रीलंकाली सुरक्षा निकायले तत्काल प्रतिक्रिया जनाउँदै चालक दलका सदस्यहरूको उद्धार शुरू गरेको 'डेली मिरर'ले उल्लेख गरेको छ।
'आइआरआईएस डेना' इरानी नौसेनाको दक्षिणी फ्लिटमा आबद्ध 'मौज-वर्ग'को फ्रिगेट हो। दुर्घटनाको समयमा जहाजमा करिब १८० जना कर्मचारीहरू सवार रहेको बताइएको छ । जसमध्ये ३० जना घाइते चालक दलका सदस्यहरूलाई उद्धार गरी गालेस्थित करापिटिया अस्पतालमा भर्ना गरिएको छ।
उक्त इरानी युद्धपोतले हालै भारतको विशाखापट्टनममा आयोजित 'मिलान २०२६' बहुराष्ट्रिय नौसेना अभ्यासमा सहभागी भएर फर्किँदै गर्दा यो दुर्घटना भएको हो। जहाज डुब्नुको ठोस कारण अझै खुल्न सकेको छैन।