३० असार २०८३, मंगलबार

कोशीमा ३५ लाख ७४ हजार ३१० मतदाता, ३५ हजार सुरक्षाकर्मी प्रत्यक्ष खटिने

फागुन २०, २०८२
काठमाडौं
कोशीमा ३५ लाख ७४ हजार ३१० मतदाता, ३५ हजार सुरक्षाकर्मी प्रत्यक्ष खटिने

प्रतिनिधिसभा सदस्य निर्वाचनमा भोलि बिहीबार हुने मतदानका लागि कोशी प्रदेशमा  ३५ लाख ७४ हजार ३१० जना मतदाता कायम भएका छन् । कोशीमा प्रत्यक्षतर्फ २८ सीटका लागि मतदान हुनेछ ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशभर ४ हजार २७० मतदान केन्द्र तोकिएका छन् । यसपटक कोशी प्रदेशबाट प्रतिनिधिसभाका लागि ४९५ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रदेश निर्वाचन अधिकारी चोलाराज दंगालले मतदान केन्द्र निर्माणदेखि सुरक्षाकर्मी परिचालनसम्मका सबै प्राविधिक र व्यवस्थापकीय काम सम्पन्न भइसकेको जानकारी दिए । 

दंगालले निर्वाचनलाई लोकतन्त्रको उत्सवका रूपमा लिँदै निर्धक्क भई मतदान गर्न सबै मतदातालाई अपिल समेत गरेका छन् । 

निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन कोशी प्रदेशमा विशेष सुरक्षा रणनीति अपनाइएको छ । प्रदेशभर १२ हजार नेपाल प्रहरी र २३ हजार निर्वाचन प्रहरी गरी कूल ३५ हजार सुरक्षाकर्मी प्रत्यक्ष रूपमा खटिएका छन् । 

कूल १ हजार ९०७ मतदानस्थलमध्ये सुरक्षा संवेदनशीलताका आधारमा ४३९ स्थललाई ‘अति संवेदनशील’ र ८२१ लाई ‘संवेदनशील’ सूचीमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको छ । 

विशेष गरी झापा क्षेत्र नम्बर ५ लाई ‘हाइ प्रोफाइल’ संवेदनशीलताको सूचीमा राख्दै थप १०० जनाको विशेष सुरक्षा टोली परिचालन गरिएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले सुरक्षा स्थिति पूर्ण नियन्त्रणमा रहेको दाबी गरेका छन् । सम्भावित जोखिमको सूक्ष्म विश्लेषण गरी सुरक्षा घेरा मजबुत बनाइएकाले मतदाताले ढुक्क भएर मतदान गर्ने वातावरण सुनिश्चित गरिएको उनले बताए । 

यसपटकको निर्वाचनमा भौतिक मुठभेडभन्दा पनि सामाजिक सञ्जालमार्फत् फैलाइने अफवाहलाई प्रहरीले मुख्य चुनौतीका रूपमा लिएको छ । डीआईजी घिमिरेका अनुसार प्रदेशस्तरमै ‘साइबर डेस्क’ स्थापना गरेर डिजिटल गतिविधिमाथि सूक्ष्म निगरानी भइरहेको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँगको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ ।

संखुवासभा, सोलुखुम्बु र ताप्लेजुङ जस्ता हिमाली जिल्लामा प्राकृतिक र भौगोलिक चुनौतीलाई सम्बोधन गर्न स्याटेलाइट फोनको व्यवस्था गरिएको छ भने दुर्गम क्षेत्रमा मतपेटिका ढुवानीका लागि आवश्यकता अनुसार हेलिकप्टर समेत प्रयोग गरिने तयारी छ ।

यस्तै, कोशी प्रदेशको भारत र चीनसँग जोडिएका सीमा नाकामा पनि निगरानी बढाइएको छ । झापा, सुनसरी र मोरङमा भारतीय सुरक्षा निकायसँग ‘काउन्टर–पार्ट’ बैठक सम्पन्न गरी सीमा क्षेत्रको सुरक्षा मजबुत बनाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्