
१५ निर्वाचन क्षेत्र भएको काठमाडौं उपत्यकाका सबै निर्वाचन क्षेत्रमा आजै रातिबाट मतगणना शुरू हुने भएको छ ।
लोकान्तरसँग कुरा गर्दै सम्बन्धित निर्वाचन क्षेत्रका मुख्य निर्वाचन अधिकृतहरूले मतपेटिका संकलन कार्य जारी रहेको बताएका छन् । साथै उनीहरूले आजै सर्वदलीय बैठक गरेर मतगणना पनि शुरूआत गर्ने जानकारी दिए ।
काठमाडौंका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश चरामन खड्काका अनुसार अहिले मतपेटिका संकलन कार्य जारी छ । करिब ९ भित्र सबै मतपेटिका संकलन भइसक्ने र लगत्तै सर्वदलीय बैठक बसेर मतगणना शुरू हुने उनले बताए ।
यता‚ क्षेत्र नम्बर २ मा पनि अहिले मतगणनाको तयारी भइरहेको छ । ‘आजै सर्वदलीय बैठक बसेर रातिबाट मतगणना शुरू गर्ने तयारी छ’, निर्वाचन अधिकृत शान्ति न्यौपानेले लोकान्तरसँग भनिन् ।
काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना पनि आजैबाट शुरू हुने भएको छ । निर्वाचन अधिकृत चमिला भट्टराईले दिएको जानकारी अनुसार अहिले मतपेटिका संकलन भइसकेको र मुचुल्का उठाउने कार्य जारी भएको बताइन् ।
काठमाडौं-४ मा पनि आजै रातिदेखि मतगणना प्रारम्भ हुने भएको छ । निर्वाचन अधिकृत कृष्णा भण्डारीका अनुसार ८८ मतदान केन्द्रबाट मतपेटिका संकलन भएर आइसकेको छ ।
‘८८ वटा मतदान केन्द्रमध्ये ३५ वटा केन्द्रको मतपत्र रुजु समेत भइसक्यो’, भण्डारीले लोकान्तरसँग भनिन्, ‘बाँकी केन्द्रको पनि रुजु हुने काम जारी छ ।’ बाँकी केन्द्रको रुजु भएलगत्तै सर्वदलीय बैठक बसेर आजै रातिबाट मतगणना शुरू हुने उनले बताइन् ।
त्यसैगरी, काठमाडौं-५ मा पनि मतपेटिका संकलन भएर रुजु हुने काम जारी छ । निर्वाचन अधिकृत श्रद्धा रिजालले झन्डै आधा जति मतदान केन्द्रको मतपेटिका बुझेर रुजु भइसकेको र बाँकी पनि रुजु हुने क्रम जारी रहेको बताइन ।
‘त्यसपछि हुने सर्वदलीय बैठकबाट यदि तयार हुनुभयो भने हामी पनि आजै रातिदेखि मतगणना गर्न तयार नै छौं’, रिजालले लोकान्तरसँग भनिन् ।
काठमाडौं ८ को पनि मतपेटिका संकलन सम्पन्न भइसकेको छ । अब खाना खाने र एकैछिन विश्राम गरेर सर्वदलीय बैठक बस्ने निर्वाचन अधिकृत सम्झना खनालले बताइन् । ‘११ बजे पश्चात् शुरू हुन्छ होला’, उनले भनिन् ।
काठमाडौं ९ मा पनि मतपेटिका संकलन गरेर भण्डार गर्ने कार्य भइरहेको छ । निर्वाचन अधिकृत मनुका घिमिरेका अनुसार सर्वदलीय बैठक बस्ने र आजै मतगणना शुरू गर्ने तयारी छ ।
ललितपुर क्षेत्र नम्बर ३ को मतगणना आजै रातिबाट सुरू गर्ने तयारी भएको छ । मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश पुनाराम खनालले दिएको जानकारी अनुसार अहिले मतपेटिका बुझ्ने काम भइरहेको छ । त्यसपश्चात् सर्वदलीय बैठक बस्ने र मतगणनाको सहमति गर्ने तयारीमा आयोग छ ।
‘सर्वदलीय बैठकले सहमति गरे आजै मतगणना शुरू हुनेछ‚’ उनले लोकान्तरसँग भने । यो क्षेत्रमा ६८ प्रतिशत मत खसेको पनि उनले बताए । मतगणना स्थानीय विकास प्रतिष्ठानको कार्यालयमा हुने छ ।
उता, भक्तपुरका दुवै क्षेत्रमा पनि आजदेखि मतगणना गरिने भएको छ ।
भक्तपुर क्षेत्र नम्बर १ को मतगणना खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा र क्षेत्र नम्बर २ को मतगणना मध्यपुर थिमीको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा मतगणनाको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
जिल्लाका सबै मतदान केन्द्रबाट मुचुल्का बनाएर मतपेटिका सम्बन्धित मतगणनास्थलमा ल्याउने काम सकिएको उल्लेख गर्दै उनले सर्वपक्षीय बैठक बसी मतगणना शुरू गरिने बताए ।
मतगणना हुने दुवै स्थानमा तारजाली, सीसी क्यामेरासहितको सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ । दुवै मतगणनास्थलमा एकैपटक चार/चार पकेटमा मतगणना गर्नेगरी तयारी गरिएको छ ।
भक्तपुरका दुई निर्वाचन क्षेत्रका ७६ मतदानस्थलका २३३ मतदान केन्द्रमा कूल ७१ दशमलव ४६ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।