
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले ठूलो अपेक्षासहित जनताले मतादेश र जिम्मेवारी दिएको बताएका छन् । प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मत परिणामपछि प्रतिक्रिया दिँदै झाले सबैको अस्तित्वप्रति सम्मान राख्दै आफूहरू थप संयमित, उदार र जिम्मेवार हुनुपर्ने धारणा राखेका हुन् ।
रास्वपाको उद्देश्य देशमा सकारात्मक परिणाम सहितको परिवर्तन खोज्नु रहेको भन्दै पार्टीले अझै धेरै मेहनत गर्नुपर्ने उनको धारणा छ । ‘हाम्रो उद्देश्य देशमा सकारात्मक परिणाम सहितको परिवर्तन हो, हामीले अझै धेरै मेहनत गर्नुपर्नेछ। नेता हैन, सहजकर्ता भएर खट्नु छ। जनताले हामीलाई ठूलो अपेक्षासहित मतादेश र जिम्मेवारी दिएको छ। तसर्थ परिवर्तनकारीहरू सबै थप सभ्य र अनुशासित रहन आवश्यक छ,' उनले भनेका छन्, 'हाम्रो दुस्मन त देशमा रहेको भ्रष्टाचार, गरिबी र कुशासन हो। उम्मेदवार र दलहरू त लोकतान्त्रिक प्रक्रियाको केवल प्रतिस्पर्धी मात्र हुन। सबैको अस्तित्व प्रति सम्मान राख्दै हामी थप संयमित, उदार र जिम्मेवार हुनुपर्छ। सबैमा अनुरोध।'
धनुषा–३ बाट चुनावी प्रतिस्पर्धामा रहेका उनले त्यहाँ फराकिलो मतान्तरले अग्रता लिइरहेका छन् ।
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत जारी मतगणनामा रास्वपाले देशभर धेरै स्थानमा अग्रता लिइरहेको छ ।