
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा कोशी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शक्तिशाली उपस्थिति देखाएको छ ।
प्रदेशका कूल २८ निर्वाचन क्षेत्रमध्ये मतगणना भइरहेका २४ क्षेत्रको प्रारम्भिक नतिजा अनुसार रास्वपाले १६ वटा क्षेत्रमा फराकिलो अग्रता बनाएको छ ।
रास्वपाले झापा, मोरङ र सुनसरीका सबै १५ वटा निर्वाचन क्षेत्रमा आफ्नो अग्रता कायम गरेको छ । यसका साथै उदयपुर–१ मा पनि रास्वपा नै अगाडि देखिएको छ ।
शुरूआती चरणदेखि नै अग्रता लिएको रास्वपाले धेरै क्षेत्रमा पुराना र स्थापित दलका उम्मेदवारलाई निकै पछाडि पारेको छ ।
यसअघि कोशी प्रदेशबाट एमाले पहिलो दल बनेको थियो । एमालेले इलाम–२ मा सुहाङ नेम्वाङ, तेह्रथुममा भानुभक्त ढकाल र ओखलढुङ्गामा अस्मिता थापा गरी मात्र ३ क्षेत्रमा अग्रता लिएको छ ।
नेपाली कांग्रेसले भने ताप्लेजुङमा मात्रै अग्रता लिएको छ । कांग्रेसका गजेन्द्रप्रसाद लिम्बूको अग्रताका लिएका हुन् ।
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पनि कोशी प्रदेशका ४ वटा निर्वाचन क्षेत्रमा शुरूआती अग्रता लिएको हो । पाँचथरमा हस्तराज शेर्मा, भोजपुरमा ध्रुवराज राई, धनकुटामा सानबहादुर राई र उदयपुर–२ मा बलराम राईले अग्रता कायम गरेका छन् ।
कोशीका २८ मध्ये २६ क्षेत्रमा मतगणना प्रक्रिया अघि बढे पनि इलाम–१ र खोटाङको भने प्रारम्भिक गणना आइसकेको छैन ।
सोलुखुम्बुमा आज रातिदेखि मात्रै गणना गर्ने तयारी रहेको छ । संखुवासभामा भने मतपेटिका संकलन कार्य नसकिएका कारण आज मतगणना नहुने भएको छ ।