३२ असार २०८३, बिहीबार
परिवर्तनको लहर

कोशीको पहाडमा ‘माटो’ र तराईमा ‘घण्टी’को लहर, पुराना दलको दुर्गति

फागुन २३, २०८२
विराटनगर
कोशीको पहाडमा ‘माटो’ र तराईमा ‘घण्टी’को लहर, पुराना दलको दुर्गति

कोशी प्रदेशका पहाडदेखि तराईसम्म परम्परागत राजनीति दलहरू निकै रक्षात्मक देखिएका छन् । वर्षौँदेखि सत्ता वरिपरि रहेका नेकपा (एमाले) र नेपाली कांग्रेससहित नेकपाजस्ता पुराना दलहरूलाई हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी (माटो) र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी)ले हायलकायल पारेका छन् ।  

पहाडका जिल्लाहरूमा माटो र तराईमा ‘घण्टी’को लहर आएपछि यसअघि ठूला भनिएका दलका नेताहरूलाई अहिले विरासत जोगाउनै सकस परेको छ । 

साम्पाङको श्रम संस्कृति पार्टीले कोशीका तीन महत्त्वपूर्ण निर्वाचन क्षेत्रमा अग्रता कायम गर्दै पुराना दलको सिन्डिकेट तोडिदिएको छ। सुनसरी निर्वाचन क्षेत्र नं. १ मा पार्टीका अध्यक्ष हर्क राज राई ६,२७९ मतका साथ सानदार रूपमा अगाडि छन् भने उनलाई रास्वपाकी गोमा तामाङले ५,३३३ मतका साथ पछ्याइरहेकी छिन्। 

यहाँ पुराना र स्थापित भनिएका दलहरू निकै पछाडि छन्। त्यस्तै, पाँचथरमा पनि श्रम संस्कृतिका हस्त राज शर्मा ५,१५५ मत प्राप्त गर्दै अग्रस्थानमा छन् भने उनले कांग्रेसका नरेन्द्रकुमार केरुङलाई कडा चुनौती दिँदै पछाडि पारेका छन्। 

भोजपुरमा त झन् एमालेका सचिव शेरधन राईलाई समेत श्रम संस्कृतिका ध्रुवराज राईले ३,७७१ मत ल्याएर पछि पारेका छन्, जहाँ शेरधन ३,३९४ मतका साथ दोस्रो स्थानमा छन्।

पहाडमा ‘माटो’को राजनीति चम्किरहँदा तराईका झापा, मोरङ र सुनसरीमा भने ‘घण्टी’ले पुराना दलको सातो लिएको छ। मोरङका निर्वाचन क्षेत्र नम्बर ४ र ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हासिल गरिसकेको छ भने झापाका ५, मोरङका ६ र सुनसरीका ३ वटा क्षेत्रमा घण्टी नै अग्रस्थानमा छ। 

उदयपुर १ मा पनि रास्वपाका पारशमणि गेलालले ८,०४३ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धीहरूलाई झन्डै दोब्बर मतले पछाडि पारेका छन्। 

सुनसरी १ मा हर्क साम्पाङ अगाडि भए पनि बाँकी क्षेत्रमा घण्टीकै दबदबा छ। जनताले यसपटक काम र परिवर्तन खोज्दै पुराना दललाई किनारा लगाएपछि एमाले र कांग्रेसका नेताहरू अहिले मैदानमा टिक्न धौधौ परिरहेको अवस्था छ। झापा ५ मोरङमा ६ र सुनसरीका ३ वटा क्षेत्रमा रास्वपाले फराकिलो अग्रता लिइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्