३२ असार २०८३, बिहीबार

दलीय राजनीतिबाट तत्कालका लागि बिदा हुने रवीन्द्र मिश्रको घोषणा

फागुन २३, २०८२
काठमाडौं
दलीय राजनीतिबाट तत्कालका लागि बिदा हुने रवीन्द्र मिश्रको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दलीय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन् । प्रतिनिधि सभा चुनावमा तेस्रोपटक पराजित भएपछि शनिबार विज्ञप्ति जारी गर्दै उनले दलीय राजनीतिबाट तत्कालका लागि बिदा लिएको घोषणा गरेका हुन् । काठमाडौं-१ बाट उनी तेस्रोपटक पराजित भएका थिए । 

'मैले आज जे निर्णय लिँदैछु, त्यो कुनै निराशा, हताश या हतारमा लिँदै छैन। धेरै सोचि-विचारी लिँदैछु,' उनले भनेका छन्,'देशभरि राजसंस्था पुनर्स्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि सो जनमतलाई सङ्गठित र पूँजीकृत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी विविध कारणले बारम्बार विफल भएको छ, जसका लागि पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतले म पनि जिम्मेवार छु।'

विचारभन्दा माथि देश, देशका लागि नरेश, नवीन समझदारी र संरचनागत पुनरावलोकनको मार्गबिना बदलिँदो भूराजनीति र क्षयीकृत हुँदै गएको चौतर्फी आन्तरिक परिस्थितिका माझ भावी पुस्ताका लागि देश बचाउन र बनाउन सकिँदैन भन्नेमा विश्वस्त रहेको उनको भनाइ छ । 

आजैको मितिबाट लागू हुनेगरी पार्टीका सम्पूर्ण जिम्मेवारीहरूबाट राजीनामा दिएको उनले जानकारी दिएका छन् । राजसंस्था पुनर्स्थापना तथा सुशासनलगायत मुद्दाहरूमा आफ्ना अडान यथावत् रहने र तत्कालका लागि गैरदलीय (स्वतन्त्र) रूपमा विचार र अडानहरू मुखरित गर्ने उनले बताएका छन् । 'गत ९ वर्षको अभूतपूर्व रूपमा उतार–चढावपूर्ण मेरो राजनीतिक यात्राका क्रममा मैले मेरो विवेक र बुद्धिले भ्याएसम्म इमानदारीपूर्वक राजनीतिक र राष्ट्रिय रूपान्तरणका लागि प्रयास गरेँ। त्यो प्रयास अझै पर्याप्त देखिएको छैन। तर ‘देशभन्दा माथि स्वार्थ’लाई राखेर ‘व्यक्तिले पाउने, देशले नपाउने’ कुनै पनि काम कुनै हालतमा गर्ने छैन,' विज्ञप्तिमा उनले भनेका छन्, 'यी यावत वर्षहरूमा यो कठिन यात्रामा साथ र सहयोग गर्नुहुने देश–विदेशमा रहेका नेपाली तथा पार्टीका नेता तथा साथीहरूप्रति जति आभार प्रकट गरे पनि त्यो अपर्याप्त हुन्छ। निर्वाचनमा अभूतपूर्व सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई वधाई तथा शुभकामना दिन चाहन्छु। 'प्रचण्डपथ'मा पट्टी लगाएको घोडा सरह एकोहोरिएर दौडिरहेको नेपाली राजनीति तातो तावाबाट भुङ्ग्रोमा नजाओस्-- त्यत्ति कामना गर्दछु।'

salt training

कमेन्ट गर्नुहोस्