
नेकपा एमालेको भातृ संगठन युवा संघ मदाने गाउँकमिटी अध्यक्ष दीपेन्द्र भट्टराईले राजीनामा दिएका छन् ।
उनले आफ्ना उमेदवार गोकर्ण विष्टलाई मदानेबाट सम्मानजनक मत दिलाउन नसकेको नैतिक जिम्मेवारी लिँदै अध्यक्ष पदबाट राजीनामाको घोषणा गरेका हुन् ।
'प्रिय मदाने बासी युवा दाजुभाइ तथा दिदीबहिनी अभिवादन । फागुन २१ गते सम्पन्न संसदीय निर्वाचनमा गुल्मी २ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार रहनुभएका गोकर्ण विष्ट उपविजेता बन्नु भएको छ । यो सम्मानजनक मत प्रदान गर्नुहुने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। यो निर्वाचन हुँदै गर्दा म नेकपा एमाले मदाने गाउँपालिका युवा संघको अध्यक्ष रहेकोमा निर्वाचन परिणामको नैतिक जिम्मेवारी लिँदै अध्यक्षको हैसियतले आजकै मितिदेखि अध्यक्ष पदबाट राजीनामा दिने निर्णय गरेको छु,' उनले लेखेका छन् ।
राष्ट्रिय नेतृत्व र जिल्ला हुँदै पालिका कमिटीले पनि राजीनामा दिएर नैतिकता देखाउन उनले आग्रह गरेका छन् ।