
एमाले र कांग्रेसका स्थापित ‘हेभिवेट’ नेताहरूको किल्ला भत्काउँदै रुपन्देहीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘क्लिनस्विप’ गरेको छ ।
लुम्बिनी प्रदेशकै सबैभन्दा बढी ५ निर्वाचन क्षेत्र रहेको जिल्लाका पाँचवटै सीटमा भारी मतान्तरसहित रास्वपाले ‘कब्जा’ जमाएको हो ।
निर्वाचन कार्यालय रुपन्देहीका अनुसार शनिबार साँझ आएको ५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम अनुसार रास्वपाले शानदार जित निकालेको छ ।
रास्वपाप्रति आएको अभूतपूर्व लहरले रुपन्देहीमा नेकपा एमाले र नेपाली कांग्रेसको जग मात्र हल्लिएन ‘किल्ला’ नै ढल्न पुगेको पुराना दलका नेताहरूले बताएका छन् ।
सबै क्षेत्रको मतपरिणाम हेर्दा रास्वपाका उम्मेदवारसँग कसैको पनि प्रतिस्पर्धा समेत देखिन सकेन ।
२०७९ को निर्वाचनबाट मात्रै उदाएको रास्वपाले कांग्रेस, एमाले र नेकपाको दशकौंदेखिको हैसियत खोसिदिएको छ ।
रुपन्देही क्षेत्र नम्बर १ मा रास्वपाका महामन्त्री सुनिल लम्साल विजयी भए । लम्सालले ५४ हजार ८५४ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका हिराबहादुर खत्रीले ११ हजार ९८२ मत मात्र ल्याउन सके ।
यहाँ तेस्रो स्थानको मत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रज्ज्वल बोहोराले ८ हजार ३०१ ल्याए । अघिल्लो निर्वाचनमा यो क्षेत्रमा एमाले सचिव छविलाल विश्वकर्मा विजयी भएका थिए ।
विश्वकर्मा यो पटक उम्मेदवार नबनेर एमालेले दधिराम न्यौपानेलाई अघि सारेको थियो । न्यौपाने यहाँ अति कम मत ल्याएर चौथो स्थापनामा पुगे ।
उनले ७ हजार ४८८ मत मात्र ल्याउन सके । महामन्त्री लम्साल पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका बालेन्द्र शाहसँग काठमाडौं महानगरमा सँगै काम गरेका इन्जिनियर हुन । लम्साल रुपन्देहीको तिलोत्तमा–९ निवासी हुन् ।
रुपन्देही क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको किल्ला भत्काएर रास्वपाका सुलभ खरेल विजयी भएका छन् । यो क्षेत्र पौडेलले २०६४ यताका सबै निर्वाचन जित्दै आएका थिए ।
मतको अन्तर हेर्दा खरेल र पौडेलको प्रतिस्पर्धा नै देखिएन । खरेलले ४३ हजार ६८९ उपाध्यक्ष पौडेललाई पराजित गरे । खरेलले ५६ हजार ५५० मत ल्याउँदा पौडेलले १२ हजार ८६१ मत मात्र ल्याउन सके । पराजित भएपछि खरेललाई बधाई दिँदै पौडेलले पार्टीको नेतृत्व र रूपान्तरण गर्न आफू लाग्ने बताए ।
यस्तै, सधैँ मधेशवादी दलहरूको किल्ला मानिने पूर्व-पश्चिम राजमार्गले नछोएको रुपन्देही–४ मा रास्वपाका युवा उम्मेदवार कन्हैया बनिया विजयी भएका छन् ।
उनले आफ्ना निकटतम् प्रतिस्पर्धी एमालेका प्रमोदकुमार यादवलाई ७ हजार ८०४ मतान्तरले पराजित गरे । क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत टोपबहादुर विष्टका अनुसार विजयी बनियाले २८ हजार ६६ प्राप्त गर्दा एमालेका प्रमोदकुमार यादवले २० हजार २६२ मत मात्र ल्याउन सके ।
तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट लुम्बिनी प्रदेशमामा निर्वाचित सांसद पद बीचैमा छाडेर रास्वपा प्रवेश गरी संघीय सांसदको प्रतिस्पर्धामा होमिएका थिए । बनियाका निकटतम् प्रतिस्पर्धी यादव मनोनयन दर्ता हुने दिन (माघ ६) गते कांग्रेसबाट टिकट नपाएपछि एमाले प्रवेश गरी उम्मेदवारी दिएका थिए ।
अघिल्लो निर्वाचनमा यो क्षेत्रमा जनता समाजवादी पार्टीका प्रभावशाली नेता सर्वेन्द्रनाथ शुक्ला विजयी भएका थिए । यो पटक उनी चौथौ स्थानमा पुगे ।
स्नाकोत्तर अध्ययन गरेका बनिया राजनीतिमा प्रवेश गर्नुअघि व्यवसायमा संलग्न थिए । मर्चवारीमाईको रायपुरमा उनको अहिले पनि पेट्रोलियम लगायत व्यापार छ ।
रुपन्देहीमा सिमावर्ती जिल्लामा बसोबास रहेकाले त्यहाँका बासिन्दाका समस्या बोकेर समाधानका लागि सदरमुकाम भैरहवास्थित सरकारी कार्यालय, प्रहरी र प्रशासनमा सहजीकरण गर्दै आएका थिए ।
यस्तै, क्षेत्र नम्बर ३ मा पनि रास्वपाका उम्मेदवार डा. लेखजङ्ग थापा ५० हजार भन्दा बढी मतान्तरले विजयी भएका छन । उनका प्रतिस्पर्धी एमालेका वासुदेव घिमिरेले निकै कम मात्र मत प्राप्त गरे ।
थापाले ५८ हजार ८१४ मत ल्याउँदा कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ मत मात्र ल्याउन सके । त्यस्तै, घिमिरेले ८ हजार २७८ मत मात्र ल्याउन सके । यो क्षेत्र २०४८ देखि कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँण चुनाव लड्दै आएको क्षेत्र हो ।
अघिल्लो पटक राप्रपाका दीपक बोहोरासँग पराजित भएका खाँण भुटानी शरणार्थी काण्डमा मुछिएपछि यो पटक उम्मेदवार बनेका थिएनन् ।
रुपन्देहीका पुराना बासिन्दा थापा यस क्षेत्रका कहलिएका वरिष्ठ न्यूरो चिकित्सक हुन् । अधिकांश समय संघीय राजधानीमा व्यस्त रहने उनी १५ वर्षदेखि प्रत्येक साता दुई दिन गृहनगर भैरहवा आएर बिरामी जाँच्ने र उपचार गर्थे ।
भैरहवाको अञ्चलपुरमा उनको न्यूरो अस्पताल पनि छ । मत माग्ने क्रममा पनि उनले टोलटोलमा पुगेर बिरामीलाई परामर्श दिएका थिए ।
क्षेत्र नम्बर ५ मा युवा उम्मेदवार तथा व्यवसायी तौफिक अहमद खान विजयी भएका छन् । उनले ३८ हजार ८०६ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी एमालेका खिमलाल भट्टराईले १३ हजार १०० मत मात्र ल्याउन सके ।
कांग्रेसका भरतकुमार शाह प्रतिस्पर्धामा आउन सकेनन् । शाहले १२ हजार ६२६ मत मात्र ल्याउन सके । यो क्षेत्रमा अघिल्लो पटक एमालेका वासुदेव घिमिरे भारी मतसहित विजयी भएका थिए ।