
प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । हालसम्मको परिणामअनुसार कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमा कतै पनि ‘तारा’ (नेपाली कम्युनिस्ट पार्टी)ले जीत हासिल गरेको छैन ।
२२ वटा दलसँग एकता गरेर ठूलो शक्ति बनेको दाबी गर्ने नेकपा यो पटक कोशीमा शून्य हुने निश्चित भएको हो ।
अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ तीन क्षेत्र जितेको तत्कालीन माओवादी केन्द्र (हाल नेकपाको मुख्य घटक) यो पटक प्रतिस्पर्धामा समेत आउन सकेन ।
सोलुखुम्बुबाहेक अन्य कुनै पनि क्षेत्रमा यो पार्टी दोस्रो स्थानमासमेत आउन नसकेको हो । परिणाम आउन बाँकी रहेका क्षेत्रमा पनि नेकपा कतै प्रतिस्पर्धामा छैन ।
विशेषगरी अघिल्लो पटक मोरङ–४ बाट विजयी भएका अमनलाल मोदी यो पटक तेस्रो स्थानमा खुम्चिएका छन् । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सन्तोष राजवंशी ४० हजार ८३३ मतका साथ निर्वाचित हुँदा कांग्रेसका महामन्त्री गुरुराज घिमिरे दोस्रो र मोदी १० हजार ६६२ मतका साथ तेस्रो भए ।
खोटाङमा पनि नेकपाका उम्मेदवार हरि रोका चौथो स्थानमा सीमित भए । अघिल्लो पटक जितेको भोजपुरमा पनि यो पटक श्रम संस्कृति पार्टी अगाडि र एमाले दोस्रो स्थानमा छ । नेकपाले यसअघि जितेका आफ्नै पुराना क्षेत्रहरूसमेत जोगाउन सकेन ।
प्रदेशका दुई मुख्य जिल्ला झापा र मोरङमा भने रास्वपाले ‘क्लिन स्विप’ गरेको छ । झापाका ५ र मोरङका ६ वटै क्षेत्रमा ‘घण्टी’बाहेक अन्य कुनै दलले खाता खोल्न सकेनन् । सुनसरी–३ मा पनि रास्वपाका अशोककुमार चौधरी निर्वाचित भइसकेका छन् भने सुनसरी–२ र ४ का साथै उदयपुरका दुवै क्षेत्रमा रास्वपाकै उम्मेदवारहरू अग्रता लिइरहेका छन् ।
नेपाली कांग्रेसले भने पहाडी जिल्लामा केही साख जोगाएको छ । कांग्रेसबाट पाँचथरमा नरेन्द्र केरुङ, तेह्रथुममा सन्तोष सुब्बा र सोलुखुम्बुमा प्रकाशसिंह कार्की निर्वाचित भए । ओखलढुंगामा ५ मतले रास्वपाका विश्वराज पोख्रेल निर्वाचित भएका हुन् ।
निर्वाचनको अर्को रोचक पक्ष श्रम संस्कृति पार्टीको उदय भएको छ । खोटाङमा आरेन राई १६ हजार ६१२ मतका साथ विजयी भएर खाता खोलेका छन् भने सुनसरी–१ मा हर्क साम्पाङ आफैँ भारी मतान्तरले अगाडि छन् ।
बाँकी क्षेत्रहरूको अवस्था हेर्दा संखुवासभामा एमाले अगाडि देखिएको छ भने इलाम–१ मा एमालेकै काजिमान कागतेले अग्रता कायम राखेका छन् । ताप्लेजुङ, इलाम २ र धनकुटामा भने एमालेले चुनाव जितेको छ । ताप्लेजुङमा क्षितिज थेवे, इलाम २ मा सुहाङ नेम्माङ,धनकुटामा राजेन्द्र राई निर्वाचित भएका छन् ।