
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह घुस विवादमा तानिएका छन् । डिभिजन वन अधिकृत कृष्ण भट्टले मुख्यमन्त्री शाहले आफूसँग ५ लाख रुपैयाँ घुस मागेको र रकम दिन नसक्दा पदबाट हटाएको आरोप लगाएपछि प्रदेश राजनीतिमा तरंग पैदा भएको छ ।
वरिष्ठ डिभिजनल वन अधिकृत भट्टका अनुसार मुख्यमन्त्रीले ५ लाख रुपैयाँ माग गरेका थिए । उक्त रकम दिन नसक्दा आफूलाई २ महिनाअघि जिम्मेवारीबाट हटाइएको दाबी उनको छ ।
अब बन्ने 'बालेन नेतृत्वको सरकार'सँग मुख्यमन्त्रीलाई कारबाही गर्न समेत माग गरेका छन् ।
आफूलाई गम्भीर आरोप लागेपछि मुख्यमन्त्री शाहले पत्रकार सम्मेलनमार्फत त्यसको खण्डन गरेका छन्।
उनले आफूले कुनै पनि कर्मचारीबाट घुस नलिएको र सुशासन आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।
शाहले पत्रकारहरूसँग भने, 'ममाथि लगाइएको आरोप कपोलकल्पित र भ्रामक छ। यदि मैले घुस मागेको वा लिएको कतैबाट पुष्टि हुन्छ भने म जस्तोसुकै कानूनी र राजनीतिक कारबाही भोग्न तयार छु। तर, आधारहीन आरोप लगाएर सरकारको छवि धमिल्याउन पाइँदैन।'
मुख्यमन्त्री शाहले यस घटनालाई गम्भीरतापूर्वक लिँदै आरोप लगाउने कर्मचारी कृष्ण भट्टमाथि नै छानबिन गर्न निर्देशन दिएका छन् । उनले प्रदेशका प्रमुख सचिव र सम्बन्धित मन्त्रालयका सचिवलाई तत्काल छानबिन गरी दोषी देखिए कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले आरोप लगाउने डिभिजन वन अधिकृत कृष्ण भट्ट र रामचन्द्र कँडेलको विगत नै विवादास्पद रहेको र उनीहरू काम गर्ने मनस्थितिमा नरहेको दाबी गरे ।
मुख्यमन्त्री शाहले भने, 'अदालतले मुद्दा खारेज गरिसकेपछि कर्मचारी अनुशासनमा बस्नुपर्छ । तर, उनीहरू काम गर्न छाडेर राजनीतिक स्टन्टबाजीमा लागेका छन् । उनीहरूमा काम गर्ने कुनै मनस्थिति नै देखिँदैन । काम चोर र भ्रष्ट कर्मचारीको संरक्षण यो सरकारले गर्दैन । आवश्यक परे उनीहरूमाथि थप कडा विभागीय कारबाही हुन्छ।'