
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मोरङ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लिन स्वीप गर्यो । रास्वपाका अधिकांश उम्मेदवारले फराकिलो मतान्तरले चुनावी नतिजा आफ्नो पक्षमा पार्दा केही उम्मेदवारलाई भने दोहोरो अङ्कमा मत ल्याउन पनि मुस्किल पर्यो ।
मोरङ निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार ५० वर्षीय ईशोर वाग्लेले आफ्नो उमेर बराबरको मत पनि प्राप्त गर्न सकेनन् । उनले ४० मतमा चित्त बुझाउनु पर्यो ।
यस्तै, यामप्रसाद दाहालले ३९, मिलन भण्डारीले ३१, नेपाल जनमुक्ति पार्टीका फिवराज लिम्बूले ३०, पशुपति घिमिरेले १७ र मितेरी पार्टी नेपालका डिल्लीराम लिम्बूले जम्मा १२ मत प्राप्त गरे ।
मोरङ क्षेत्र नम्बर २ का ३ जना उम्मेदवारले पनि ५० मत कटाउन सकेनन् । स्वतन्त्र उम्मेदवार राजन निरौला ४८ मतमा रोकिँदा अर्का स्वतन्त्र उम्मेदवार बुधु ऋषिदेवले ३५ र नरेशकुमार साहले १८ मत प्राप्त गर्दै आफ्नो जमानत जफत गराए ।
क्षेत्र नम्बर ३ मा जय मातृभूमि पार्टीका नवराज मास्के ५० मत पुर्याउन मात्रै १ मतले चुके । उनले ४९ मतमा सीमित बन्नु पर्यो । स्वतन्त्र उम्मेदवार गणेश मिश्रले ४४ मत पाउँदा राष्ट्रिय ऊर्जाशील पार्टीका भुवनकुमार वाग्लेले ३१ मत पाए ।
यस्तै, तेजप्रसाद भण्डारीले ३० र मजेबुल रहमानले १८ मत प्राप्त गरे ।
क्षेत्र नम्बर ४ मा ६ जना उम्मेदवारले ५० मत कटाउन सकेनन् । भक्तमणि दाहालले ४० मत ल्याउँदा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार हरिनारायण चौधरीले ३८ मतमा चित्त बुझाउनु पर्यो । नेपाल मजदुर किसान पार्टीका जयराम थारूले २९, स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र खत्रीले २५, विनोदकुमार कार्कीले १७ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका हरनु मुसहरले जम्मा ११ मत प्राप्त गरे ।
सबैभन्दा बढी क्षेत्र नम्बर ५ मा १० जना उम्मेदवारले ५० मत पुर्याउन सकेनन् ।
यहाँ राजकुमार राजवंशीले ४७, मंगल ऋषिदेवले ३४, नरेशकुमार लाभ र सुजितकुमार साहले समान २८/२८ मत, गंगाकुमारी राजवंशीले २२ मत र मंगोल नेशनल अर्गनाइजेसनकी सकुन्तला श्रेष्ठले १७ मत प्राप्त गरे ।
यस्तै, ममता यादवले १३, विकास श्रेष्ठले ११, सूर्यनारायण ठाकुरले ५ र जयनारायण शर्माले ३ मत पाए ।
यता, क्षेत्र नम्बर ६ मा भने किरण खड्काले ३९ र खडानन्द रिजालले ३५ मत प्राप्त गर्दै आफूलाई ५० भन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको सूचीमा दर्ज गराए ।