
प्रतिनिधि सभा निर्वाचनको परिणामले स्थापित राजनीतिक दलका पुराना ‘गढ’हरू भत्काइदिएको छ। चुनावी परिणामले दशकौँदेखि कुनै दलका विशेष क्षेत्र मानिएका किल्लाहरू पनि ढलेका छन्। कुनै समय ‘कम्युनिस्ट किल्ला’ मानिने लुम्बिनीका प्यूठान, रूपन्देही, अर्घाखाँची, गुल्मी, पाल्पा र दाङमा यसपटक कम्युनिस्ट दलहरूको प्रतिनिधित्व शून्य बनेको छ। अघिल्ला निर्वाचनहरूमा यी जिल्लामा वामपन्थीहरूको बलियो प्रभाव रहने गरेको थियो। स्थानीय तहदेखि प्रदेश र संघीय निर्वाचनसम्म यी क्षेत्रमा कम्युनिस्ट दलहरूले निरन्तर जीत हात पार्दै आएका थिए। तर, यसपटकको परिणामले त्यो परम्परागत प्रभावलाई उल्टाइदिएको छ।
मोहनविक्रम सिंह, मोहन वैद्य ‘किरण’ र वामदेव गौतमजस्ता कम्युनिस्ट नेताहरू जन्माएको प्यूठानमा यसपटक ‘घण्टी बज्यो’। प्यूठानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा उम्मेदवार सुशान्त वैदिक निर्वाचित भए। वैदिक निर्वाचित हुँदा नेकपा (एमाले) का उम्मेदवार सूर्य थापा तेस्रो स्थानमा खुम्चिए। पहिला दुई र हाल एउटा निर्वाचन क्षेत्र रहेको प्यूठानमा संसदीय निर्वाचन शुरू भएदेखि वामपन्थी प्रतिनिधित्व शून्य भएको यो पहिलो पटक हो। रूपन्देही कुनै बेला साविक लुम्बिनी अञ्चलको वामपन्थी आन्दोलनको ‘सेल्टर’ र संगठन विस्तारको केन्द्र मानिन्थ्यो। तर, यसपटक जिल्लाका ५ वटै निर्वाचन क्षेत्रमा रास्वपाले ‘क्लिन स्वीप’ गर्यो।
क्षेत्र नम्बर १ मा सुनील लम्साल, २ मा सुलभ खरेल, ३ मा डा. लेखजंग थापा, ४ मा कन्हैया बनिया र ५ मा तौफिक अहमद खान विजयी भएका छन्। प्रभावशाली नेता तथा पार्टी उपाध्यक्ष विष्णु पौडेल, युवा नेता वासुदेव घिमिरे र खिमलाल भट्टराईजस्ता नेताहरू भारी मतान्तरले पराजित भए। हरेक निर्वाचनमा कुनै न कुनै क्षेत्र एमालेले जित्दै आएको थियो। २०६४ यताका सबै चुनाव जित्दै आएका पौडेल यसपटक पराजित भए।
यसपटक एमाले उम्मेदवारहरू क्षेत्र नम्बर १ का दधिराम न्यौपाने र क्षेत्र नम्बर ३ का वासुदेव घिमिरेको जमानतसमेत जफत हुन पुग्यो। रूपन्देही–३ तत्कालीन एमाले नेता घनश्याम भुसालको निर्वाचन क्षेत्र हो। गुल्मीमा पनि रूपन्देहीकै जस्तो नतिजा आएको छ। जिल्लाको क्षेत्र नम्बर १ मा सागर ढकाल र क्षेत्र नम्बर २ मा गोविन्द पन्थी निर्वाचित भए। जिल्लाका प्रभावशाली वामपन्थी नेताहरू गोकर्ण विष्ट र प्रदीप ज्ञवाली पराजित हुन पुगे। पाल्पा पनि यसपटक वामपन्थीविहीन भएको छ। क्षेत्र नम्बर १ मा एमालेको गढ भत्काउँदै कांग्रेसका सन्दीप राना विजयी भए भने क्षेत्र नम्बर २ मा रास्वपाका डा. माधव थापा विजयी भए।
अर्घाखाँचीमा पनि यसपटक रास्वपाका हरिप्रसाद भुसालले चुनाव जिते। अर्घाखाँचीबाट लगातार चार पटक चुनाव जितेका टोपबहादुर रायमाझी यसपटक उम्मेदवार बन्न पाएनन्। दाङका तीनवटै क्षेत्रमा रास्वपाले ‘क्लिन स्वीप’ गरेको छ। एमाले महासचिव शंकर पोखरेल दाङ–२ मा रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यसँग पराजित भए। उनी २०७९ को निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) की नेतृ रेखा शर्मासँग पराजित भएका थिए।
लुम्बिनी प्रदेशका १२ जिल्लाका २६ निर्वाचन क्षेत्रमध्ये २१ वटा क्षेत्रमा रास्वपाले जीत हासिल गरेको छ। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले समान २–२ क्षेत्र जितेका छन् भने नेकपा (एमाले) एउटा मात्र सिटमा खुम्चिएको छ। रास्वपाले एमाले–कांग्रेसका पुराना गढ भत्काउँदै रूपन्देहीका ५, दाङका ३, गुल्मीका २, नवलपरासी पश्चिमका २ र बर्दियाका २ वटै क्षेत्रमा ‘क्लिन स्वीप’ गरेको छ।
यस्तै; अर्घाखाँची, प्यूठान र पाल्पाको एक–एक, तथा कपिलवस्तु र बाँकेका २–२ वटा क्षेत्रमा रास्वपाले भारी मतान्तरका साथ सानदार जीत निकाल्दा कांग्रेसले पाल्पा र कपिलवस्तुका एक–एक क्षेत्र, नेकपाले रुकुम पूर्व र रोल्पा गरी २ क्षेत्र तथा एमालेले बाँकेको एउटा मात्र क्षेत्रमा जीत हासिल गरेको छ। अघिल्लो निर्वाचनमा लुम्बिनी प्रदेशबाट वामपन्थी दलको उपस्थिति १५ क्षेत्रमा थियो, जुन अहिले ३ सिटमा खुम्चिएको छ।
२०१५ सालमा नेकपाको संगठन विस्तार भइसकेको थिएन। पञ्चायत कालमा भूमिगत संघर्षमार्फत कम्युनिस्ट पार्टीहरू एउटा बलियो शक्तिका रूपमा उदाए। त्यसैले बहुदल पुनःस्थापनापछिका निर्वाचनमा कम्युनिस्ट पार्टीहरूले उल्लेखनीय सिट जिते। सशस्त्र संघर्षमार्फत माओवादीले पनि शक्ति हासिल गर्यो। कम्युनिस्ट पार्टीहरूले हासिल गरेको मतको मुख्य आधार कम्युनिस्ट विचारधाराप्रतिको आकर्षण थियो। तर, २०७९ देखि नै कम्युनिस्ट मत घट्दो छ र अहिले सबैभन्दा कमजोर अवस्थामा पुगेको छ।
सत्ताको स्वादमा लहसिएर राप्रपासँग समेत साँठगाँठ गर्न थालेपछि एमालेको ओरालो यात्रा शुरू भएको राजनीतिक विश्लेषक रामचन्द्र श्रेष्ठ बताउँछन्। ‘एमाले होस् वा माओवादी, सत्तामा गएपछि यी पार्टीहरूको नेतृत्व तह दलाल पुँजीपति वर्गको कब्जामा (हाइज्याक) पर्यो,’ उनी भन्छन्, ‘पार्टी संगठन त केवल भोट बटुल्ने संयन्त्र भयो। निर्णय प्रक्रियामा पार्टी संगठनको कुनै भूमिका रहेन। ओलीले महाधिवेशनलाई केवल आफ्नो भाषण सुन्ने थलोमा सीमित राखे। रूपान्तरणको आवाजलाई ओलीले महसुस गर्न सकेनन्। जेनजी आन्दोलनमा युवा विद्यार्थी मारिएको विषय ओलीले कहिल्यै स्वीकार गरेनन्। एमालेको सांगठनिक र वैचारिक रूपान्तरणको आसमा रहेका सक्रिय कार्यकर्ताहरूले पनि यसपटक मत परिवर्तन गरेका हुन्।’ वामपन्थी दलहरूले २०१५ मा ४ सिट, २०४८ मा ८२ सिट, २०५१ मा ९२ सिट, २०५६ मा ८२ सिट, २०६४ मा ३५३ सिट, २०७० मा २७० सिट, २०७४ मा १७६ सिट र २०७९ मा १२२ सिट जितेका थिए।