
अमेरिका-इजरायल द्वन्द्वबीचमा इरानी राष्ट्रपति मसूद पेजेश्कियानले युद्ध अन्त्य गर्न शर्तहरू राखेका छन्। राष्ट्रपति पेजेश्कियानले रूस र पाकिस्तानका नेताहरूसँगको वार्तामा यस क्षेत्रमा शान्तिको लागि इरानको प्रतिबद्धता दोहोर्याए । तर, त्यसका लागि इरानको वैध अधिकारलाई मान्यता दिनुपर्ने, युद्धमा भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने र भविष्यमा हुने कुनै पनि आक्रमणलाई रोक्न बलियो अन्तर्राष्ट्रिय ग्यारेन्टी प्रदान गर्नुपर्ने शर्त राखे ।
सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उनले लेखेका छन्, 'इजरायल र संयुक्त राज्य अमेरिकाले शुरू गरेको युद्ध अन्त्य गर्ने एक मात्र तरिका भनेको इरानको वैध अधिकारलाई मान्यता दिनु, युद्धमा भएको क्षतिको क्षतिपूर्ति दिनु र भविष्यमा हुने कुनै पनि आक्रमणलाई रोक्न बलियो अन्तर्राष्ट्रिय ग्यारेन्टी प्रदान गर्नु हो।'
इरान, संयुक्त राज्य अमेरिका र इजरायल बीचको जारी द्वन्द्वका कारण यस क्षेत्रमा तनाव उच्च छ। इरानले मध्य पूर्वी देशहरूमा रहेका अमेरिकी र इजरायली लक्ष्यहरूलाई लक्षित गरिरहेको छ ।
यसैबीच, विश्वको सबैभन्दा व्यस्त समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’मा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये एउटा प्रमुख निसाना भारतको गुजराततर्फ आउँदै गरेको जहाज पनि बनेको छ । यस घटनाले भारतको ऊर्जा आपूर्ति र समुद्री व्यापारिक सुरक्षामा गम्भीर चिन्ता पैदा गरेको छ । थाइल्याण्डको स्वामित्वमा रहेको ‘मयूरी नारी’ नामक जहाज ओमानको समुद्री तटबाट करिब ११ नटिकल माइल उत्तरमा आक्रमणमा परेको हो ।
यो जहाज भारतको गुजरात राज्यको बन्दरगाहतर्फ आउँदै थियो । थाई नौसेनाका अनुसार यूएईको आबुधाबीस्थित खलिफा पोर्टबाट जहाज प्रस्थान गरेको केही घण्टामै जहाजमा आक्रमण भएको थियो । समाचार एजेन्सी एपीका अनुसार अज्ञात ‘प्रोजेक्टाइल’ ठोक्किएपछि जहाजमा भीषण आगलागी भएको थियो, जसका कारण जहाजको सञ्चालन पूर्ण रूपमा ठप्प भएको छ ।
होर्मुज स्ट्रेटमा समुद्रको चौडाइ ३३ किलोमिटर मात्र छ । तर जहाज चल्नसक्ने बाटो ११ किलोमिटर मात्र छ । बाँकी हिस्सामा कम गहिराइ भएकाले ठूला जहाज चल्न सक्दैनन् । त्यसैले यो साँघुरो बाटो खतरनाक मानिन्छ ।
इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाइने
मध्यपूर्वको तनावका कारण विश्व बजारमा देखिएको इन्धन आपूर्तिको अभावलाई कम गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)ले आपतकालीन भण्डारबाट ४० करोड ब्यारल तेल बजारमा उपलब्ध गराउने निर्णय गरेको छ । यसमा सबैभन्दा धेरै हिस्सा अमेरिकाको हुनेछ । अमेरिकाले कूल ४० करोडमध्ये १७ करोड २० लाख ब्यारेल तेल उपलब्ध गराउने छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का ३२ सदस्य देशहरूले विश्व बजारमा तेल पठाउने निर्णयको पक्षमा सर्वसम्मत निर्णय गरेको बीबीसीले जनाएको छ ।
मध्यपूर्वको तनावको क्रममा इरान र खाडी देशको बीचमा पर्ने समुद्री मार्ग होर्मुज स्ट्रेटमा आक्रमण भएपछि विश्वभर तेल आपूर्ति प्रभावित भएको छ । तेल मूल्यको अकासिएको छ ।
यस निर्णयअन्तर्गत अमेरिकाले सबैभन्दा ठूलो योगदान गर्ने भएको छ । अमेरिकाले कुल ४० करोड ब्यारेलमध्ये १७ करोड २० लाख ब्यारेल तेल उपलब्ध गराउने जनाएको छ ।
अमेरिकाको स्ट्राटेजिक पेट्रोलियम रिजर्भ (एसपीआर) बाट तेल निकासी आगामी सातादेखि सुरु हुने र करिब १२० दिनभित्र बजारमा पठाइने अमेरिकाको ऊर्जा विभागले जनाएको छ ।
उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियानको प्रशंसा गर्दै अमेरिकी सेनाले केही घण्टामै इरानको नौसेना र वायुसेनालाई ध्वस्त पारेको दाबी गरेका छन् । ट्रम्पले भने, 'हामीले जित्यौं। पहिलो घण्टामा सबै कुरा सकियो।' अमेरिकाले दुई दिनमा ५४ इरानी जहाजहरू ध्वस्त पारेको ट्रम्पले दाबी गरे ।