
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा तनहुँको देवघाट गाउँपालिकामा कार्यरत एक जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार देवघाट गाउँपालिकामा कार्यरत होमबहादुर भारतीले नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएको भन्ने उजुरीका आधारमा गरिएको अनुसन्धानपछि उनीविरुद्ध मुद्दा दायर गरिएको हो ।
अनुसन्धानबाट भारतीले देवघाट गाउँपालिका कार्यालयमा सामाजिक परिचालक, सरसफाइ सुपरीवेक्षक र उत्प्रेरक संयोजक पदमा नियुक्ति पाउन तथा सो पदमा बहाल रहन एसएलसी तहको २०५५ सालमा प्रथम श्रेणीमा उत्तीर्ण भएको झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेको पुष्टि भएको आयोगले जनाएको छ ।
आयोगका अनुसार उनले सोही नक्कली प्रमाणपत्रका आधारमा ती पदमा कार्य गर्दै राष्ट्रसेवकको हैसियत, लाभ र सुविधा प्राप्त गरेका थिए ।
उक्त कार्यले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर ठहर हुने भन्दै भारतीविरुद्ध सोही ऐनअनुसार कैद र जरिवानाको मागदाबीसहित विशेष अदालत, काठमाडौंमा बिहीबार आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन् ।