
इरानसँगको युद्धका कारण विश्व बजारमा तेलको मूल्य बढ्न थालेपछि अमेरिकाले रूसी तेलमाथिको प्रतिबन्ध खुकुलो पारेको छ।
अमेरिकाले अन्तर्राष्ट्रिय जलमार्गमार्फत ढुवानी भइरहेको रूसी तेलमाथिको प्रतिबन्ध अस्थायी रूपमा हटाएको अमेरिकी अखबार द वासिङ्टन पोस्टले जनाएको छ ।
यसअघि अमेरिकाले रूसबाट तेल किन्ने देशलाई उच्च भन्सार दर लगाउँदै आएको थियो ।
फेब्रुअरीको अन्तिमयता इरानमाथि अमेरिका र इसराइलले संयुक्त रूपमा आक्रमण गर्दै आएको छ ।
जवाफमा इरानले मध्यपूर्वमा रहेको अमेरिकी सैन्य अखडा र अन्तर्राष्ट्रिय जलमार्ग 'स्ट्रेट अफ हर्मुज'मा तेल बोकेका ट्यांकरहरूलाई लक्ष्य गरेर आक्रमण गरिरहेको छ । यसले विश्व बजारमै तेलको आपूर्ति घटेर लगातार मूल्य बढिरहेको छ।
मूल्यवृद्धि नियन्त्रणका लागि समुद्रमै रहेका तेलमाथिको प्रतिबन्ध मात्रै हटाइएको अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ ।
प्रतिबन्ध हटाइएपछि अन्तर्राष्ट्रिय जलमार्गमा रहेका तेल ट्यांकरहरू रूसले विश्वका विभिन्न देशमा पठाउन सक्नेछ ।