३२ असार २०८३, बिहीबार

सिटिजन्स बैंकको ५ करोड हिनामिना प्रकरण : मुख्य आरोपित कँडेलविरुद्ध पक्राउ पुर्जी जारी​​

चैत ४, २०८२
विराटनगर
सिटिजन्स बैंकको ५ करोड हिनामिना प्रकरण : मुख्य आरोपित कँडेलविरुद्ध पक्राउ पुर्जी जारी​​
फाइल फोटो

सिटिजन्स बैंक इन्टरनेशनलको विराटनगर–३ स्थित कञ्चनबारी शाखामा भएको झन्डै ५ करोड रुपैयाँ हिनामिना प्रकरणमा मुख्य आरोपित तत्कालीन अपरेसन इन्चार्ज रोजी कँडेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उच्च अदालत विराटनगरले मंगलबार साँझ कँडेलविरुद्ध पक्राउ अनुमति दिएको हो ।

बैंकले गत चैत २८ गते बैंकिङ कसुर मुद्दामा कँडेलविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएको थियो । सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाउन अदालतबाट अनुमति मागेको थियो ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार बैंकिङ कसुर मुद्दामा जाहेरी दर्ता भई अनुसन्धान शुरू भइसकेको छ । ‘प्रहरीले यस घटनामा सूक्ष्म ढङ्गले अनुसन्धान शुरू गरिसकेको छ,’ एसपी कटुवालले भने ।​

बैंकको आन्तरिक लेखापरीक्षण (अडिट)बाट कर्मचारीहरूकै मिलेमतोमा १३ जना नक्कली ऋणी खडा गरी कुल ४ करोड ९१ लाख ५२ हजार १३ रुपैयाँ ६५ पैसा घोटाला भएको खुलेको हो ।

अडिट प्रतिवेदनअनुसार निक्षेपकर्ताहरूले मुद्दती निक्षेप (फिक्स डिपोजिट)मा राखेको रकमलाई धितोका रूपमा प्रयोग गरी नक्कली कर्जा फाइल बनाएर उक्त रकम निकालिएको थियो । यस प्रकरणमा बैंकले कँडेलविरुद्ध उजुरी दिएपछि घटना सार्वजनिक भएको हो ।

हिनामिना प्रकरण बाहिरिएसँगै बैंकले मुख्य आरोपित कँडेललाई सेवाबाट बर्खास्त गरिसकेको छ ।

यसैगरी, घटनामा संलग्नताको आशङ्कामा शाखा प्रबन्धक अभिषेक अग्रवाल, सहायक प्रबन्धक जोसेफ आचार्य, कर्मचारीहरू सोनिका राउत र विकास श्रेष्ठलाई बैंकले निलम्बन गरेको छ ।

प्रहरीले यस घोटालामा शाखाका कर्मचारी मात्र नभई प्रदेश र केन्द्रीय कार्यालयका कर्मचारीको समेत संलग्नता हुन सक्ने आशङ्का गरेको छ ।

सोही अनुरूप अनुसन्धानको घेरा फराकिलो बनाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्