
इरानसँगको बढ्दो तनाव र रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलसन्धि बन्द भएको विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नाटो सहयोगी राष्ट्रहरूबीचको सम्बन्धमा दरार उत्पन्न भएको छ।
ट्रम्पले नाटो सदस्यहरूलाई सहयोग नगरेको भन्दै 'कायर' को संज्ञा दिएपछि यो विवादले विश्व राजनीतिमा नयाँ तरंग पैदा गरेको बीबीसीको समाचारमा उल्लेख छ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि व्यापक आक्रमण गरेपछि इरानले पनि खाडी मुलुकमा रहेका अमेरिकी सैन्य आधार इलाकाहरूलाई लक्षित गरी प्रतिशोधात्मक प्रहार गरेको थियो।
त्यसयता हर्मुज जलसन्धिमा इरानले अवरोध सिर्जना गरेपछि विश्व बजारमा तेलको मूल्य आकाशिएको छ।
विवादको सुरुवात मार्च १४ मा भधएको थियो । जब राष्ट्रपति ट्रम्पले बेलायत लगायतका अन्य सहयोगी राष्ट्रहरूलाई हर्मुज जलसन्धि सुरक्षित गर्न आफ्ना युद्धपोतहरू पठाउन आग्रह गरे लगत्तै मार्च १५ मा 'फाइनान्सियल टाइम्स' लाई अन्तर्वार्ता दिँदै उनले यदि सहयोगी राष्ट्रहरूले यो महत्त्वपूर्ण समुद्री मार्ग सुरक्षित गर्न मद्दत नगरेमा त्यो नाटोको भविष्यका लागि निकै घातक हुने चेतावनी दिए ।
मार्च १६ मा बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले जलसन्धि पुनः खोल्नका लागि बेलायतले एक व्यवहारिक योजनामा काम गरिरहेको बताए । तर, ट्रम्प यसबाट सन्तुष्ट भएनन् । उनले केही देशहरूले आफूलाई ठूलो निराश बनाएको भन्दै विशेष गरी बेलायतको आलोचना गरे। कुनै समय बेलायतलाई बलियो सहयोगी मान्ने ट्रम्पले अहिले बेलायतको भूमिकाप्रति प्रश्न उठाएका छन् ।
मार्च १७ सम्म पुग्दा ट्रम्पको आक्रोश अझ बढ्यो। उनले नाटो सदस्यहरूले हर्मुज जलसन्धिको विषयमा मूर्खतापूर्ण गल्ती गरिरहेको आरोप लगाए। आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मा एक लामो पोस्ट लेख्दै उनले भने, "हाम्रो सैन्य अभियानमा धेरैजसो नाटो सहयोगीहरू संलग्न हुन चाहँदैनन्। तर हामीलाई कसैको मद्दत चाहिँदैन! हाम्रो सैन्य सफलताका कारण अब हामीलाई नाटो देशहरूको सहयोगको आवश्यकता वा इच्छा छैन—हामीलाई कहिल्यै थिएन!"
मार्च २० मा ट्रम्पले आफ्नो आलोचनाको सीमा नाघ्दै नाटो सहयोगीहरूलाई सिधै कायरको संज्ञा दिए । जलसन्धि खोल्न मद्दत गर्नु उनीहरूका लागि सजिलो काम भए पनि उनीहरू पछि हटेको भन्दै ट्रम्पले चेतावनीपूर्ण भाषामा भने, "यो कुरा हामीले सम्झिरहनेछौँ!"
ट्रम्पको यो पछिल्लो अभिव्यक्तिले दशकौँ पुरानो सैन्य गठबन्धन नाटोको औचित्य र भविष्यमाथि नै प्रश्नचिह्न खडा गरिदिएको समाचारमा उल्लेख छ ।