२३ असार २०८३, मंगलबार

दशैंअघि नै १५औं महाधिवेशन ​गर्ने तयारीमा कांग्रेस, आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले कार्यतालिका ल्याउने

चैत १०, २०८२
काठमाडौं
दशैंअघि नै १५औं महाधिवेशन ​गर्ने तयारीमा कांग्रेस, आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले कार्यतालिका ल्याउने

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । मंगलबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

उनका अनुसार बैठकमा २१ फागुनमा सम्पन्न निर्वाचन र त्यसबाट कांग्रेसको पक्षमा आएको नतिजाबारे समीक्षा हुने छ। ‘बैठक सभापति गगन थापा नेतृत्वमा बस्छ,’ उनले भने ।

केही दिनअघि पार्टी सभापति गगन थापाले राजीनामा दिएका थिए । निर्वाचनमा पराजय भोगेका कारण नैतिकता देखाउँदै उनले राजीनामा दिएको उल्लेख गरेका थिए । तर गत शुक्रबार र आइतबार बसेको केन्द्रीय समिति बैठकले उनको राजीनामा अस्वीकृत गरेको थियो । अब बस्ने बैठक थापाकै सभापतित्वमा बस्ने दुलालले जानकारी दिए ।

यसैबीच, कांग्रेसले २०८३ सालको दशैं अगाडि नै नियमित महाधिवेशन गर्ने तयारी गरेको छ । बैठकमा पार्टी सभापति थापाले पार्टीको १५औं महाधिवेशनका लागि कार्यतालिका पेस गर्ने तयारी गरेका छन् ।

आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै दशैंअगावै महाधिवेशन सम्पन्न गर्ने र चुनावको तयारीमा लाग्ने तयारी कांग्रेसको छ । ‘आजबाट बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशन कार्यतालिका ल्याउने र छलफलपश्चात् पारित गर्ने छ । सभापति गगन थापाले तालिका प्रस्तुत गर्नुहुनेछ,’ ती पदाधिकारीले भने, ‘हाम्रो तयारी दशैं अगाडि नै नियमित १५औं महाधिवेशन गरेर नयाँ कार्यसमिति चयन गर्ने रहेको छ ।’

यस वर्षको दशैं असोज अन्तिम साता र कात्तिक महिनामा परेको छ । असोज २५ मा घटस्थापना तथा कात्तिक ४ गते दशैंको टीका रहेको छ । 

कांग्रेसले असोज पहिलो सातासम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका ल्याउने तयारी गरिरहेको ती पदाधिकारीले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्