
१३ चैतमा देशकै कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री पदका लागि बालेन्द्र शाह(बालेन)ले शपथ लिँदैछन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेनले प्रधानमन्त्री पदको शपथ लिने तयारी भइरहँदा अन्य विभागीय मन्त्रालयमा क-कसले शपथ लिन्छन् भन्ने चासो अहिले देशैभर छ ।
२१ फागुनमा भएको निर्वाचनमा रास्वपा झन्डै दुईतिहाइ नजिक सीट जित्दै पहिलो दल बनेको छ । १८२ सीट जितेको रास्वपाले नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार बनाउँदै छ । चुनावपूर्वकै घोषणाअनुसार बालेन शाह प्रधानमन्त्री बन्दैछन् ।
प्रधानमन्त्रीमा बालेनको टुंगो भइसके पनि अन्य मन्त्रालय र मन्त्री को–को हुन्छन् भन्नेचाहिँ रास्वपाले खुलाएको छैन । धेरै आकांक्षी तथा मिडिया र सार्वजनिक बहसमा गए वातावरण बिग्रने भन्दै रास्वपाले मन्त्री हुनेहरूको नाम बाहिर ल्याउन चाहेको छैन ।
रास्वपा स्रोतका अनुसार पार्टीभित्रै पनि को–को मन्त्री बन्दैछन् भन्ने जानकारी कसैलाई छैन । सबै विषय अनुमान र चाहनाको भरमा नेताहरूले प्रचार गरिरहेका छन् । पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेनबीच मन्त्रिमण्डलको विषयमा चर्चा हुने गरेको छ ।
उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डीपी अर्यालसँग पनि कतिपय विषयमा सल्लाह लिने र कतिपय विषयमा छलफल बस्ने काम भइहरेको छ । त्यसबाहेकका सांसद र नेतृत्व तहमा को मन्त्री बन्दैछन् ? के हुँदैछ ? भन्ने खास सूचना आइपुगेकै छैन ।
सभापति रवि लामिछानेनिकट स्रोतका अनुसार रवि र बालेनबीच पनि खासै धेरै भेट भएको छैन । ‘भेटभन्दा पनि धेरै विषय त टेलिफोन संवादबाटै मिल्दै आएको छ‚’ स्रोतले लोकान्तरसँग भन्यो ।
रास्वपाभित्र अहिले जितेका सबै सांसद कुनै न कुनै पदको आकांक्षामा छन् । अझ पार्टीभित्र रवि पक्ष र बालेन पक्षलाई मिलाएर लैजानुपर्ने दायित्व छ ।
सांसद संख्या धेरै र केही न केही पद खोज्ने आकांक्षी बढी नै भएकाले मन्त्री छान्ने काम गोप्य बनाउने प्रयास रास्वपाले गरेको छ । त्यसमाथि वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन शाहको स्वभावका कारण पनि रास्वपाले मन्त्री छनोट प्रक्रियालाई गोप्य बनाउन चाहेको बुझिन्छ ।
पार्टी नेता विराजभक्त श्रेष्ठ भने अन्य कारणभन्दा पनि पार्टीले नै बालेन र रविलाई मन्त्री छान्ने जिम्मेवारी सुम्पेको दाबी गर्छन् । उनी भोलि साँझसम्म सबैलाई जिम्मेवारीको जानकारी दिइसक्ने गरी तयारी भइरहेको बताउँछन् ।
‘हामीले सबै निर्णयको अधिकार सभापति र वरिष्ठ नेतालाई दिएका छौं‚’ श्रेष्ठले लोकान्तरसँग भने‚ ‘भोलि साँझसम्म मन्त्री छान्ने काम सम्पन्न हुन्छ । भोलि केन्द्रीय समिति बैठक बस्दैछ । त्यसमा पनि कुरा भइहाल्छ ।’
चर्चामा छन् केही नाम
रास्वपाले बनाउने मन्त्रिपरिषदमा केही नाम चर्चामा रहेका छन्, जसमा अर्थविद् तथा पार्टी उपसभापति स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने चर्चा छ ।
चुनावअघि सभापति रवि लामिछानेले स्वर्णिमलाई बजेट लेख्दै गर्नु भन्दै निर्देशन दिएका थिए । सोही निर्देशनका कारण पनि स्वर्णिम वर्तमान मन्त्रिमण्डलमा छुट्दैनन् भन्ने बहस रास्वपाभित्र छ ।
यस्तै, अर्का नेता शिशिर खनाल परराष्ट्र मन्त्री बन्ने चर्चा पार्टीभित्र छ । रास्वपामा बालेनलाई जोड्न लामो समय मेहनत र संघर्ष गरेका खनालले अघिल्लोपटक एकदमै थोरै समय शिक्षा मन्त्री बन्ने मौका पाएका थिए । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिमा बसेर काम गरेका उनी पार्टीमा रणनीतिक नेताको रुपमा चिनिन्छन् ।
यसबाहेक गृह मन्त्रालयमा अर्का उपसभापति तथा रविका विश्वासपात्र डीपी अर्याल र बालेननिकट नेता पार्टी महामन्त्री सुनिल लम्सालको चर्चा रहेको एक प्रभावशाली केन्द्रीय सदस्यले लोकान्तरलाई बताए ।
बालेन निकट स्रोतले भने सुनिल लम्सालको नाम मन्त्री बन्ने सूचीको प्राथमिकतामा रहेको बतायो । त्यसैगरी, काठमाडौं ५ बाट निर्वाचित सस्मित पोखरेललाई शिक्षा मन्त्री बनाउने गरी तयारी भएको उक्त स्रोतले बतायो ।
बालेन काठमाडौं महानगरको मेयर रहेका बेला पोखरेलले विज्ञका रूपमा काम गरेका थिए ।
डा. अमरेशकुमार सिंहको नाम पनि बालेन समूहले मन्त्री बन्ने सूचीमा राखेको स्रोतले बतायो ।
रास्वपाले आयोगमा गरेको सांसद प्रशिक्षणमा बालेनसँगै अमरेश पनि अनुपस्थित रहेका थिए । माघ ५ गते जनकपुरमा भएको सभामा बालेन प्रधानमन्त्री नबने आफूले आत्मदाह गर्ने अभिव्यक्ति अमरेशले दिएका थिए ।
बालेन समूहले गुल्मी १ बाट चुनाव जितेका सागर ढकालको नाम पनि सम्भावित मन्त्रीको सूचीमा राखेको स्रोतले बतायो ।
यस्तै, अघिल्लोपटक खेलकुद मन्त्री बनेका विराजभक्त श्रेष्ठको नाम संस्कृति पर्यटन मन्त्रीको रूपमा चर्चामा रहेको छ । उनी विगतदेखिनै संस्कृति जर्गेना अभियन्ता समेत रहेका थिए ।
यसबाहेक कानून मन्त्रीमा सोविता गौतमको चर्चा छ । स्रोतका अनुसार सोवितालाई सभामुख वा अन्य कुनै निकायमा लैजाने कि भन्ने पनि बहस पनि पार्टीमा भइरहेको छ । पार्टी प्रवक्ता मनिष झाको नाम सञ्चार मन्त्रीको रूपमा चर्चामा छ । इन्दिरा राना मगर‚ प्रतिभा रावल‚ जगदीश खरेल लगायतको नाम भावी सभामुखका रूपमा चर्चामा रहेको छ ।
‘नाम यिनै हुन् । अहिलेसम्म हामीले मिहिनेत गरेर खोज्दा पाएको सूचना पनि यहीँ हो‚’ अर्का एक प्रभावशाली नेताले लोकान्तरसँग भने‚ ‘अन्तिम समयमा रवि र बालेनले कुरा फेरे भने केही होला । नभए यस्तै–यस्तै नाममा सहमति जुट्ने देखिन्छ ।’
रास्वपा आफैंले मन्त्रालयको संख्या घटाउने पनि तयारी गरेको छ । संविधानले प्रधानमन्त्रीसहित २५ जनासम्मको मन्त्रिमण्डल बनाउन सक्ने सुविधा दिएको छ ।
रास्वपाले भने १६ देखि बढीमा १८ मात्र मन्त्रालय राख्ने तयारी गरेको छ । त्यसैले पनि केही आकांक्षीलाई समायोजन गर्न असहज हुने देखिएकाले रवि र बालेन तथा केही हदसम्म उपसभापतिद्वय अर्याल र वाग्लेबाहेक अन्य धेरै मन्त्री र मन्त्रालयबारे बेखबर रहेको हुनसक्ने स्रोत बताउँछ ।
‘मेरै नाम मन्त्रीको चर्चामा सुन्छु । तर, मलाई कसैले सम्पर्क गरेर मन्त्री बन्दैछस् भनेर जानकारी दिएको छैन‚’ मन्त्रीको चर्चामा रहेका एक सांसदले लोकान्तरसँग भने‚ ‘रवि र बालेनबाहेक अरु कसैले भनेको कुरा पत्याउने स्थिति नै छैन ।’