२८ असार २०८३, आइतबार
आमूल परिवर्तनको प्रयास

बालेन नेतृत्वको पहिलो क्याबिनेटबाट सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक निर्णयको तयारी

मन्त्रालय घट्ने भएपछि ठाउँ सुरक्षित गर्न सिंहदरबारमा सचिवहरूको दौडधूप
चैत १२, २०८२
काठमाडौं
बालेन नेतृत्वको पहिलो क्याबिनेटबाट सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक निर्णयको तयारी

शुक्रबार प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका बालेन्द्र शाहले मन्त्रिपरिषद्को पहिलो बैठकबाटै सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही ऐतिहासिक निर्णय गर्ने तयारी गरेका छन् ।

मन्त्रिपरिषद्को पहिलो बैठकबाट गर्ने निर्णय सम्बन्धमा मुख्यसचिव सुमनराज अर्याल र बालेनको टीमका सदस्यहरूबीच बिहीबार छलफल भएको छ ।

जनताले प्रत्यक्ष अनुभूति गर्ने खालका निर्णयहरू मन्त्रिपरिषद्को पहिलो बैठकबाट गर्ने तयारी छ ।

‘निर्वाचनबाट देशमा भएको आमूल परिवर्तन जनताले महसुस गर्ने गरी सार्वजनिक सेवा प्रवाहमा केही ऐतिहासिक निर्णय हुँदैछ,’ प्रधानमन्त्री कार्यालय स्रोतले लोकान्तरसँग भन्यो ।

प्रधानमन्त्रीको शपथ लिएलगत्तै बालेनले शुक्रबार नै मन्त्रिपरिषद् विस्तार गर्दैछन् । सम्भव भए शुक्रबार नै मन्त्रिपरिषद्को बैठक राखेर सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही महत्त्वपूर्ण निर्णय गर्ने तयारी रहेको स्रोतले बतायो ।

‘उहाँमा काम गर्ने हुटहुटी रहेको पाएका छौं । प्रशासनिक क्षेत्रमा आमूल परिवर्तनसँगै जनताले राहत महसुस गर्ने गरी काम गर्न उहाँको टीमले प्रस्ताव गरेको छ,’ प्रशासनिक स्रोतले लोकान्तरसँग भन्यो ।

शिक्षा, स्वास्थ्य, रोजगारी र खानेपानीलगायत जनतासँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा महत्त्वपूर्ण घोषणा हुन लागेको स्रोतले बतायो ।

सर्वसाधारणको प्रत्यक्ष सम्पर्क रहने सरकारी अस्पताल, यातायात कार्यालय, पासपोर्ट र राष्ट्रिय परिचपयत्र लिने काम झञ्झटमुक्त बनाउने लगायत कार्यक्रम घोषणा हुने सम्भावना छ ।

भदौ २३–२४ को जेनजी आन्दोलनपछि गठन भएको सार्वजनिक प्रशासन रूपान्तरण अभियान २०८२ ले अगाडि सारेका सुधारको खाकालाई समेट्ने गरी ऐतिहासिक घोषणा हुँदैछ ।​

मन्त्रालयको संख्या घट्ने, टे«ड युनियन खारेज !

प्रशासनिक सुधारको प्रारम्भ मन्त्रालयको संख्या घटाउने, काम नभएका सरकारी कार्यालय खारेजी या गाभ्ने जस्ता कामबाट शुरू हुने स्रोतले बतायो ।

कर्मचारीतन्त्रको राजनीतिकरणमार्फत भ्रष्टाचार र कुशासन बढाएको भन्दै दलीय टे«ड युनियन खारेजी पनि सुधारको सूचीमा समावेश भएको स्रोतले बतायो ।

‘दलीय ट्रेड युनियन खारेज गर्दा उत्पन्न हुनसक्ने कानूनी झञ्झटलाई मध्यनजर गर्दै त्यसबारे आवश्यक निर्णय हुन्छ’, स्रोतले भन्यो ।

दलीय टे«ड युनियन खारेज गरेर जेनजी आन्दोलनपछि उदाएको सार्वजनिक प्रशासन रूपान्तरण अभियानलाई नै कर्मचारीको टे«ेड युनियन बनाउन लागिएको चर्चा कर्मचारीमाझ चलेको छ ।

अभियानका संयोजक गणेश घिमिरेले कर्मचारी प्रशासन जनमुखी हुनुपर्छ र नागरिकले समयमै नतिजा पाउनुपर्छ भन्ने आफूहरूको एजेन्डा रहेको बताए ।

सार्वजनिक प्रशासन रूपान्तर अभियानलाई नै ट्रेड युनियन बनाउने भन्ने गलत अफवाहबारे समयले जवाफ दिने घिमिरेले बताए ।

‘मेरो जीवनकालमा दलीय ट्रेड युनियन खोल्ने र लाभ लिने कुरा कल्पनाबाहिरको विषय हो, हामी दलीय युनियन पूर्णरूपमा खारेजीको पक्षमा छौं’, उनले भने ।

कर्मचारीको युनियन नभएपनि अभियानको तर्फबाट नयाँ बन्ने सरकारलाई पूर्ण सहयोग रहने उनले बताए ।

मन्त्रालय घट्ने भएपछि सचिव–सहसचिवको निदहराम !

बालेन मन्त्रिपरिषद्ले मितव्ययिता कायम गर्नका लागि मन्त्रालयको संख्या घटाउने तयारी गरेको छ । मन्त्रालयको संख्या घट्ने भएसँगै अहिले सचिवको जिम्मेवारीमा रहेका केही सचिव भूमिकाविहीन बन्ने भएका छन् ।

राजनीतिक पहुँचका आधारमा आकर्षक मन्त्रालयमा डेरा जमाएर बसेका सचिवहरूको निदहराम भएको कर्मचारीवृत्तमा चर्चा चलेको छ ।

‘मन्त्रालयको संख्या घटेसँगै आफूहरूको भूमिका खुम्चिने भएपछि सिंहदरबारका उच्चपदस्थ कर्मचारीमा खतराको घण्टी बजेको छ,’ स्रोतले भन्यो, ‘क्षमता र दक्षताभन्दा पनि राजनीतिक पहुँचको आधारमा आकर्षक मन्त्रालयलाई अखडा बनाएका सचिवहरूको निदहराम भएको छ ।’

स्रोतले थप्यो, ‘दौडधूप चलिरहेको छ । को काबिल हो भन्ने कुरा बालेन टीमले यकिन गरिसकेको छ । दौडधूप काम लाग्नेवाला छैन ।’

salt training

कमेन्ट गर्नुहोस्