
नवनियुक्त शिक्षा, विज्ञान प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शुक्रबार विगतका दुई मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।
विगतमा शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद दुई छुट्टा-छुट्टै मन्त्रालय थिए । अहिले यी दुबै मन्त्रालयलाई गाभेर शिक्षा, विज्ञान प्रविधि, युवा तथा खेलकुद मन्त्रालय बनाइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्री पोखरेलले पहिले सिंहदरबारस्थित विगतको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुगेर पदभार ग्रहण गरे ।
त्यसपछि मन्त्री पोखरेलले सिंहदरबार परिसरमै रहेको विगतको युवा तथा खेलकुद मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
दुबै मन्त्रालयका सचिव, सह–सचिव, कर्मचारी लगायतले उनलाई स्वागत गरेका थिए । कर्मचारीहरूले उनलाई मन्त्रालयको गतिविधिबारे जानकारी गराएका थिए ।
मन्त्री पोखरेलले सबै पक्षसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिक्रिया दिए । सञ्चारकर्मीद्वारा सोधिएको एक प्रश्नको जवाफमा मन्त्री पोखरेलले नेपाली खेलकुदमा राजनीति हाबी रहेको बताउँदै त्यसमा सुधार गर्नुपर्ने बताए ।