
कांग्रेस नेता तथा जेनजी आन्दोलन हुँदाको बखतका गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाटै पक्राउ गरेको हो ।
प्रहरी उच्च स्रोतले भन्यो, ‘शनिबार बिहान ०५ः४० बजेको समयमा जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं ५ कटुञ्जे मनोरम टोलस्थित निवासबाट पूर्व गृहमन्त्री रमेश लेखकलाई नेपाल नियन्त्रणमा लिइएको छ ।’
गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री लेखक र तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरिएको थियो ।
शुक्रबार बसेको नयाँ सरकारको पहिलो बैठकले आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय लगत्तै गृहमन्त्री सुधन गुरुङ सुरक्षा निकायका प्रमुखहरूसँग निरन्तर छलफलमा जुटेका थिए । आयोगसँगको बयानमा लेखकले गोली चलाउन आदेश नदिएको दावी गरेका थिए । जेनजी आन्दोलन दमनमा पक्राउ पर्ने उनी तत्कालीन सरकारका उच्च पदस्थ हुन् ।
प्रहरीले ओलीलाई पनि पक्राउको तयारी गरेको छ ।