
गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भन्दै सरकारले शनिबार बिहानै पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि यो घटनालाई महत्त्वका साथ कभर गरेका छन् ।
अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले ‘विरोध प्रदर्शनमा घातक दमन गरेको आरोपमा नेपालका पूर्वप्रधानमन्त्री पक्राउ’ शीर्षकमा समाचार प्रकाशित गरेको छ ।
‘गत वर्ष भएको प्रदर्शनमा घातक दमनमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल लगिएको छ । सेप्टेम्बरमा भएको विरोध प्रदर्शनका क्रममा ७० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो,’ बीबीसीको समाचारमा भनिएको छ ।
यसैगरी, अर्को अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पनि यससम्बन्धी समाचार प्रकाशित गरेको छ ।
रोयटर्सले आफ्नो समाचारको शीर्षक‘नेपालका पूर्वप्रधानमन्त्री ओली पक्राउ’ राखेको छ । ‘सेप्टेम्बरमा जेनजीले गरेको भ्रष्टाचारविरोधी प्रदर्शनमा दर्जनौंको मृत्युलाई रोक्न असफल भएको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेका बेला नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार पक्राउ गरिएको छ । उनका गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरिएको छ,’ रोयटर्सको समाचारमा भनिएको छ ।
यसैगरी, भारतीय सञ्चारमाध्यम इन्डिया टूडेले पनि ओली र लेखक गिरफ्तारीको विषयमा समाचार प्रकाशित गरेको छ । इन्डिया टूडेले आफ्नो समाचारको शीर्षक ‘बालेन शाहले शपथ लिएको भोलिपल्टै जेनजीको विरोध प्रदर्शनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री केपी ओली पक्राउ’ राखिएको छ ।
‘नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सेप्टेम्बर २०२५ मा भएको जेनजी विरोध प्रदर्शनको हिंसात्मक दमनसँग सम्बन्धित एक आपराधिक हत्या मुद्दाको सम्बन्धमा शनिबार बिहान पक्राउ गरिएको थियो । र्यापरबाट राजनीतिज्ञ बनेका बालेन शाहले देशको नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिएको एक दिनपछि यो घटना भएको हो । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि सोही मुद्दामा हिरासतमा लिइएको छ,’ इन्डिया टूडेको समाचारमा भनिएको छ ।
यसैगरी, द जापान टाइम्सले पनि यस विषयमा समाचार प्रकाशित गरेको छ । द जापान टाइम्सले समाचारको शीर्षक ‘विरोध प्रदर्शनका क्रममा गलत भूमिका निर्वाह गरेको आरोपमा नेपालका पूर्वप्रधानमन्त्री पक्राउ’ राखेको छ ।
‘सेप्टेम्बरमा प्रदर्शनकारीमाथि भएको घातक दमनमा संलग्न भएको आरोपमा नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । ७४ वर्षीय ओलीको सरकारलाई ढाल्ने सन् २०२५ को विद्रोहपछिको पहिलो चुनावपछि प्रधानमन्त्री बालेन्द्र शाह र उनको मन्त्रिपरिषद्ले शपथ लिएको एक दिनमा नै यी दुई पक्राउ परेका हुन्,’ समाचारमा भनिएको छ ।
यसैगरी, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले पनि यस विषयमा समाचार प्रकाशित गरेको छ । सीएनएनले रोयटर्सको समाचारलाई नै स्थान दिएको छ । अमेरिकी समाचार संस्था सीएनएनले शीर्षक पनि रोयटर्सकै राखेको छ ।
यसैगरी, भारतको समाचार संस्था एसियन न्यूज इन्टरनेसनल (एएनआई)ले पनि ओली र लेखक गिरफ्तारीको विषयमा समाचार प्रकाशित गरेको छ । एएनआईले आफ्नो समाचारको शीर्षक ‘पक्राउपछि नेपालका पूर्वप्रधानमन्त्री केपी ओली टिचिङ अस्पतालमा’ राखेको छ ।
‘शनिबार बिहान पक्राउ परेका नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ । ओलीलाई सेप्टेम्बर २०२५ मा जेनजीको नेतृत्वमा भएको भ्रष्टाचारविरोधी प्रदर्शनको कथित दमनसँग जोडिएको कथित अपराध–हत्या सम्बन्धी मुद्दाको सम्बन्धमा नेपाल प्रहरीले भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो,’ एएनआईको समाचारमा भनिएको छ ।
यसैगरी, साउथ चाइना मोर्निङ पोष्टले पनि यस विषयमा समाचार प्रकाशित गरेको छ । साउथ चाइना मोर्निङ पोष्टले आफ्नो समाचारको शीर्षक ‘प्रदर्शनकारीमाथि दमन गरेको आरोपमा नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ’ राखेको छ ।
‘सेप्टेम्बरमा प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पहिलो निर्वाचनपछि प्रधानमन्त्री बालेन्द्र शाह र उनको मन्त्रिपरिषद्ले शपथ लिएको एक दिनपछि उनीहरूलाई पक्राउहरू गरिएको हो,’ समाचारमा भनिएको छ ।
यसैगरी, द गार्डियनले पनि ओली र लेखक गिरफ्तारीको विषयमा समाचार प्रकाशित गरेको छ । बेलायती समाचार संस्था द गार्डियनले आफ्नो समाचारको शीर्षक ‘घातक विरोध दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ’ राखेको छ ।
यसैगरी, भारतीय सञ्चारमाध्यम एनडीटीभी यस विषयमा ‘सत्ता सम्हालेलगत्तै एक्सनमा बालेन, नेपालका पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ’ शीर्षकमा समाचार प्रकाशित गरेको छ ।
‘छानबिन आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहितका अधिकारीहरूलाई उच्च पदमा रहेर पनि आन्दोलनका क्रममा लापरबाही गरेकाले अधिकतम १० वर्ष कैदको सिफारिस गरेको छ,’ एनडीटीभीको समाचारमा भनिएको छ ।