
अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरणका लागि सक्षमता विकास समाज नेपालले च्यारिटी गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
‘हामी सबै सक्षम छौं’ भन्ने स्लोगनसहित आयोजना गर्न लागिएको च्यारिटी गल्फ प्रतियोगिताको यो १०औं संस्करण हो । प्रतियोगिता २०८३ जेठ ९ गते आयोजना हुने बताइएको छ ।
आयोजकका अनुसार प्रतियोगिता गोकर्ण गल्फ क्लबमा सञ्चालन हुनेछ । सन् २०१४ मा स्थापना भएको यो संस्थाले विपन्न बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर उकास्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
आयोजक संस्थाकी जनसम्पर्क तथा कोष विकास व्यवस्थापक निर्मला ज्ञवालीका अनुसार संस्थाले च्यारिटी गल्फ प्रतियोगितालाई सामाजिक कार्यका लागि स्रोत संकलन र जनचेतना अभिबृद्धिको माध्यमका रूपमा लिँदै आएको छ ।
यसअघि भएका प्रतियोगिताबाट संकलित रकमले संस्थाले एक सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
आयोजक संस्थाका अनुसार, तीन सय १५ जना दृष्टिविहीन तथा न्यून दृष्टि भएका विद्यार्थीलाई ब्रेल तथा स्पर्शसिल शैक्षिक सामाग्री उपलब्ध गराएको छ ।
अपाङ्गता भएका थुप्रै व्यक्तिलाई पोषणयुक्त खाद्यान्नमा सहयोग पनि पुर्याउँदै आएको छ ।