
प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुविकुमारी ठाकुर निर्वाचित भएकी छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकबाट उनी उपसभामुख निर्वाचित भएकी हुन् ।
सभामुख डोलप्रसाद अर्यालले ठाकुरलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गरेका थिए ।
उक्त निर्णयको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा २२९ मत खसेको थियो । विपक्षमा ५ र तटस्थ २२ मत खसेको सभामुख अर्यालले जानकारी दिए । यो बैठकमा २५६ जना सांसदले भाग लिएका थिए ।
त्यसपछि सभामुख अर्यालले ठाकुर उपसभामुखमा बहुमतले निर्वाचित भएको घोषणा गरे ।
उपसभामुखमा निर्वाचित ठाकुर २६ वर्षीया हुन् । उनी नेपालको संसदीय इतिहासमा सबैभन्दा कान्छी उपसभामुख बनेकी छन् ।
उपसभामुखका लागि दुई जनाको उम्मेदवारी परेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपसभामुखमा सरस्वती लामालाई अघि सारेको थियो । लामाका पक्षमा जम्मा ५ मत परेको थियो ।
शुक्रबारको बैठकमा २५७ सांसद उपस्थित भएकोमा २१५ जनाले उनको विपक्षमा मत दिएका थिए भने ३७ जना सांसद तटस्थ बसेका थिए ।
रुविलाई नेपाली कांग्रेस र नेकपाले पनि मत दिएको छ भने संसद्को तेस्रो दल एमाले भने तटस्थ बसेको छ ।
सभामुखमा रास्वपाका अर्याल सर्वसम्मत निर्वाचित भए पनि उपसभामुख भने निर्वाचन प्रक्रियाबाट छानिएको हो ।