०२ साउन २०८३, शनिबार

खोटाङमा पाइप खरिदमा भएको अनियमितता छानबिन गर्न मन्त्रालयद्वारा समिति गठन

चैत २९, २०८२
विराटनगर
खोटाङमा पाइप खरिदमा भएको अनियमितता छानबिन गर्न मन्त्रालयद्वारा समिति गठन

कोशी प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, खोटाङमा भएको पाइप खरिद अनियमितताको छानबिन शुरू गरेको छ । मन्त्रालयले उक्त प्रकरणको अध्ययन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

यही चैत १९ गते लोकान्तरमा ‘कोशीमा कागजी विकास : कामै नगरी करोडौं भुक्तानी’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । 

उक्त समाचारमा महालेखा परीक्षकको २०८१ को प्रतिवेदनलाई उद्धृत गर्दै खोटाङमा पाइप खरिदमा लाखौंको अनियमितता भएको उल्लेख गरिएको थियो ।  समाचार सार्वजनिक भएपछि मन्त्रालयले गम्भीर चासो देखाउँदै एक्सन लिएको हो ।

मन्त्रालयका सचिव पुष्कर पोखरेलले समाचार सार्वजनिक भएपछि जनतालाई यथार्थ जानकारी गराउनु राज्यको दायित्व भएको भन्दै छानबिन समिति बनाइएको बताए ।

मन्त्रालयका शाखा अधिकृत ईश्वर थापाको नेतृत्वमा ३ सदस्यीय टोली गठन गरिएको र उक्त समितिले काम शुरू गरिसकेको उनले बताए । 

महालेखाको प्रतिवेदन अनुसार खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, खोटाङले १८ वटा खानेपानी आयोजनाका लागि ३ करोड ६३ लाख ८८ हजार रूपैयाँ लागतमा ४ लाख २७ हजार १३२ मिटर पाइप खरिद गरेको थियो । 

कार्यालयको जिन्सी खातामा उक्त सबै पाइप खर्च भएको देखाइए पनि नापी किताबमा ३ लाख ८२ हजार ५२७ मिटर मात्र जडान भएको पाइएको छ । जडान भएको र खरिद गरिएको विवरण भिडाउँदा ४४ हजार ५४५ मिटर पाइप कम देखिएको र जसलाई प्रतिवेदनले अनियमितताको रूपमा उल्लेख गरेको छ । 

मन्त्रालयले यसअघि डिभिजन कार्यालयलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफ आए पनि चित्तबुझ्दो नभएपछि विस्तृत छानबिनका लागि समिति बनाइएको सचिव पोखरेलले बताए ।

यसैबीच, कोशी प्रदेशको सार्वजनिक लेखा समितिले पनि यो प्रकरणलाई स्थलगत अनुगमन गरिरहेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्