
काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’ का क्रममा आज एकैदिन एक सय एक सवारी चालकलाई कारबाही गरेको छ ।
उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको उक्त अभियानअन्तर्गत मादक पदार्थ (मापसे) सेवन तथा ट्राफिक नियम उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो ।
त्यस क्रममा मापसे गरी सवारीसाधन चलाउने पाँच जना, रातो बत्ती उल्लङ्घन गर्ने दुई र लेन अनुशासन पालना नगर्ने तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ९४ वटा सवारीसाधनका चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनले भने, 'मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानूनविपरीत तथा दण्डनीय कार्य हो । यसले चालक स्वयं, यात्रु तथा सडक प्रयोगकर्ता सबैको ज्यान जोखिममा पार्दछ । सवारी चलाउँदा सावधानी अपनाऔं । अकालमै ज्यान जानबाट जोगिऔं ।'
चालकले मादकपदार्थ वा लागुपदार्थ सेवन गरेको शङ्का लागेमा तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न पनि उनले आग्रह गरेका छन् ।