
३८ सिटसहित संसद्को प्रमुख प्रतिपक्षी बेञ्चमा खुम्चिएको नेपाली कांग्रेसभित्र आन्तरिक लफडा उत्कर्षमा छ । पार्टीभित्र फरक विचार‚ फरक दृष्टिकोण र फरक मान्यताले यतिसम्म जरा गाडेको छ कि पार्टीले संसदीय दलको नेतासमेत चयन गर्न सकेको छैन ।
२१ फागुनमा निर्वाचन भएर नतिजा आएको पनि महिना दिन बितिसकेको छ । संविधानको धारा ९१ अनुसार आह्वान भएको संसद्को अधिवेशन पनि समापन भइसकेको छ । यो बीचमा संसद्ले सभामुख र उपसभामुख पाएको छ । राष्ट्रिय सभाले उपाध्यक्ष पाइसकेको छ । तर‚ नेपाली कांग्रेसले भने आफ्नो संसदीय दलको नेतासमेत चयन गर्न सकेको छैन ।
पार्टीले संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन समिति पनि बनाएको छ । सहमहामन्त्री प्रकाश स्नेहीको संयोजकत्वमा उक्त समिति छ ।
समितिले वैशाख ४ गते दलको नेता चयन गर्ने तयारी गरेको छ । स्नेहीले लोकान्तरलाई दिएको जानकारी अनुसार वैशाख २ गते साँझ कार्यतालिका ल्याउने र ४ गते लोकतान्त्रिक प्रक्रिया अपनाएर भए पनि दलको नेता चयन गरिसक्ने तयारी छ । 'वैशाख २ गते साँझ कार्यतालिका ल्याउँछौं । वैशाख ४ गते साँझसम्म दलको नेता चयन हुनुहुन्छ‚' उनले लोकान्तरसँग भने ।
यसकारण भइरहेछ ढिलाई
पार्टीभित्र सिनियर मानिएका नेताहरूले प्रत्यक्ष निर्वाचन नै जित्न सकेनन् । विशेष महाधिवेशन गरेर पार्टीको नेतृत्व परिवर्तन गरेका र आफूलाई सभापति बनाएका गगनकुमार थापाले चुनाव नै जित्न सकेनन् । त्यसबाहेक संसदीय दलको नेता बन्ने मोहसहित चुनावमा होमिएका नेताहरू शेखर कोइराला‚ विमलेन्द्र निधिजस्ता पात्रले पनि चुनाव जित्न सकेनन् ।
पार्टीबाट टिकट लिएर चुनाव लडेका महामन्त्रीद्वय गुरु बराल र प्रदीप पौडेल तथा सहमहामन्त्रीहरू पनि चुनावमा नमज्जाले पराजित भए । तिनी सबैको पहिलो त चुनाव जित्ने र दोस्रो दलको नेता बन्न पाउने मौका नै गुम्यो ।
प्रत्यक्षमा चुनाव मोहन आचार्यबाहेक अन्यले लगातार जित्न सकेनन् । नयाँ तथा युवा अनुहारहरूले चुनाव प्रत्यक्षबाट जितेका छन् ।
समानुपातिकको सिँढीबाट भने पुराना अनुहारहरू चुनाव जितेर आएका छन् । जसमा पर्छन् पञ्चायतदेखि नै सत्ता र शक्तिमा पुगेका अर्जुनरसिंह केसी तथा अर्का पुराना नेता भीष्मराज आङ्देम्बे ।
अहिले दलको नेता बन्ने मुख्य चर्चाका पात्र तीनजना छन् । आफू सिनियर र पुरानो नेता भएको भन्दै अर्जुनरसिंह केसी दलको नेता बन्न दौडिएका छन् । उनले लोकान्तरसँग पनि आफू सिनियर भएकाले स्वाभाविक रूपमा दलको नेता बन्ने दाबी रहेको बताए ।
यस्तै, अर्का नेता भीष्मराज आङ्देम्बे पनि दलको नेता बन्न दौडिएका छन् । उनले पनि लोकान्तरलाई अहिले पार्टी मिलाउने आफू सेतु बन्ने भन्दै दलको नेता बन्ने रेसमा आफू रहेको बताएका छन् ।
यी नेताहरूमध्ये उपसभापति विश्वप्रकाश शर्माको सदाशयता देखिन्छ । भेगीय राजनीति मिलाउन पनि विश्वले उनलाई अगाडि बढाउने तयारी गरेका छन् ।
विश्वले नेता अर्जुननरसिंह केसीको नाममा निरन्तर आपत्ति जनाउँदै आएका छन् । नातामा पार्टी सभापति गगनकुमार थापाका ससुरा पनि रहेका अर्जुनलाई बनाउन नहुने मत विश्वको छ ।
शुक्रबार गण्डकी प्रदेशको पोखरा पुगेर उनले केसी ०४८ सालदेखि नै संसदको अनुभवी व्यक्तित्व भएको र सबैभन्दा ज्येष्ठ पनि भएकाले केवल कांग्रेसको मात्रै संसदीय दलको नेताका रूपमा नभई सबै दलको एक साझा अभिभावकका रूपमा हेर्न चाहेको बताएका थिए ।
'उहाँले कांग्रेस संसदीय दलको नेता स्वयं बन्न चाहँदा हामीले हुन्न भन्न अप्ठ्यारो हुन्छ नै, त्यसैले हाम्रो अपेक्षा नेताको पदबाट राजनेता बन्ने मार्ग उहाँले अपनाउनु समयानुकूल हुन्छ‚' उनले भनेका छन् ।
सभापति गगनकुमार थापा पनि अर्जुनलाई बनाउनैपर्छ भन्ने पक्षमा नरहेको निकट नेताहरूको दाबी छ । त्यसैले केही पदाधिकारीहरू अर्जुनलाई भेटेरै सम्झाउने प्रयत्न पनि गरेका छन् । तर, अर्जुनले आफू ब्याक नहुने भनिरहेका छन् ।
उनले आइतबार सामाजिक सञ्जालमा लेख्दै दलको नेता चयनमा पार्टीभित्र बहस र बाहिर चासो हुनु स्वाभाविक भएको भन्दै तर 'को', 'किन' र 'कस्तो' नेता चाहिन्छ भन्नेमा स्पष्ट मापदण्ड तय हुनु आवश्यक रहेको उल्लेख गरेका छन् ।
'मेरो कारणले ढिलाइ भयो भन्ने वा नाता र नेताका भाष्य पनि बाहिर छ्याप्छ्याप्ती आएका छन् । यो असत्य र भ्रामक हो‚' उनले लेखेका छन्‚ 'मैले पार्टीभित्र र सार्वजनिक रूपमा नै भनि नै सकेको छु— सहमतिको मापदण्ड बनाऔं र सकेसम्म सर्वसम्मति गरौं ! मेरो पूर्ण समर्थन हुनेछ ।'
उनले सबैभन्दा युवालाई गरौं वा सबैभन्दा वरिष्ठलाई भन्दै अगाडि थपेका छन्‚ 'प्रत्यक्ष वा समानुपातिक जुनसुकै प्रक्रियाबाट आएका भए पनि सांसद भएपछि विभेद उचित हुँदैन । तर, पनि निर्वाचित नै गर्न हो भने निश्चित मापदण्डको आधारमा योग्यतामा आधारित, न्यायोचित र तार्किक निर्णयमा पुगौं ।'
यता‚ विश्वले चाहेका नेता भीष्मराज आङ्देम्बे पनि गगनको चाहनामा परेका छैनन् । गगन समानुपातिक भन्दा प्रत्यक्ष जितेका सांसदलाई दलको नेताको जिम्मेवारी दिनुपर्ने पक्षमा छन् ।
गगनले लगातार तीनपटक रसुवाबाट चुनाव जितेका इ. मोहन आचार्यलाई दलको नेता बनाउन चाहेका छन् । यस विषयमा विश्वको भने सहमति नभएको स्रोत बताउँछ ।
'विश्वजीले भेगीय राजनीतिक सन्तुलन खोजेजस्तो देखिन्छ‚' स्रोत भन्छ‚ 'कुरा मिलिरहेको छैन ।'
निर्वाचनबाटै नेतृत्व छान्ने तयारी
पोखरा पुगेर उपसभापति शर्माले अर्जुनरसिंह केसीले दाबी छाडे दलको नेता सर्वसम्मत चयनको बाटो खुल्ने बताएका थिए । उनले नयाँ वर्षसँगसँगै संसदीय दलको नेतृत्व चयन हुने भन्दै सर्वसम्मति नभए निर्वाचनबाट नेतृत्व चयन हुने स्पष्ट पारेका थिए ।
पार्टी महामन्त्री प्रदीप पौडेलका अनुसार दलको नेता चयन सहमतिबाट हुने सम्भावना न्यून हुँदै गएको छ । यतिका समयसम्म सहमतिको प्रयास गरे पनि त्यो सम्भावना टर्दै गएको उनले लोकान्तरसँग बताए ।
'सहमतिबाट नै दलको नेता चयन गरौं भनेर हामीले प्रयास गरेका हौं र दलको नेता चयनको प्रक्रिया रोकिएको हो‚' उनले लोकान्तरसँग भने‚ 'अब लोकतान्त्रिक प्रक्रियाबाट दलको नेता चयन प्रक्रिया अगाडि बढ्ने देखिन्छ ।'
प्रमुख प्रतिपक्षी दल भनेको 'वेटिङ गभर्मेन्ट' हो । जुनसुकै बेला सत्ताको नेतृत्व गर्नका लागि पनि प्रमुख प्रतिपक्षी दल र उसको संसदीय दलको नेता तम्तयार हुनुपर्छ ।
यद्यपि अहिले रास्वपा करिब दुई तिहाइ बहुमत नजिक हुँदा कुनै नाटकीय घटना भएबाहेक कांग्रेस सत्तामा पुग्छ भन्ने सम्भावना छँदै छैन । यसबाहेक पनि प्रमुख प्रतिपक्षी दलको नेताको भूमिका 'संवैधानिक परिषद् सदस्य'को रूपमा हुन्छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, मानव अधिकार आयोग लगायतका संवैधानिक निकायहरूमा प्रमुख र पदाधिकारीहरूको सिफारिश गर्ने अधिकार परिषद्लाई हुन्छ । त्यसैले पनि प्रमुख प्रतिपक्षी दलको नेताको महत्त्व अन्यभन्दा बढी नै हुन्छ ।
एक त पोर्टफोलियो अर्को चाहिँ संवैधानिक परिषद् जस्ता निकायमा सदस्य रहने लगायत कारणले दलको नेता बन्न मरिहत्ते भइरहेको हो ।
पार्टीका अर्का महामन्त्री गुरु घिमिरे नयाँ वर्षसँगै पार्टीले दलको नेता पाउने दाबी गर्छन् । प्रत्यक्ष कि समानुपातिक सांसदलाई दलको नेता बनाउने भन्ने प्रश्नमा भने उनी खुल्न चाहेनन् ।
'सहमति नभए निर्वाचनबाट भए पनि दलको नेता छान्छौं‚' उनले लोकान्तरसँग भने‚ 'प्रत्यक्ष कि समानुपातिक सांसद भन्नेचाहिँ अहिले खुलाउन सकिँदैन । सहमतिको प्रयास जारी छ ।'