
बुडापेस्ट - हंगेरीको आएको राजनीतिक भूकम्पले १६ वर्षदेखि एकछत्र राज गर्दै आएका प्रधानमन्त्री भिक्टर ओर्बानलाई सत्ताच्युत गरिदिएको छ। लामो समयदेखि सत्ता सम्हाल्दै आएका राष्ट्रवादी नेता ओर्बानको अनुदारवादी नीति र विश्वव्यापी दक्षिणपन्थी अभियानलाई हंगेरीका मतदाताले पूर्ण रूपमा अस्वीकार गरेका हुन् ।
मतदाताले युरोपेली पक्षधर पिटर माग्यारलाई भारी बहुमतका साथ विजयी गराएका छन् । यो चुनावी नतिजालाई विश्वभर एक ठूलो राजनीतिक परिवर्तनको रूपमा हेरिएको सीएनएनले जनाएको छ ।
निर्वाचन अधिकारीहरूका अनुसार ९८ प्रतिशतभन्दा बढी मतगणना भइसक्दा माग्यारको नेतृत्वमा रहेको मध्य-दक्षिणपन्थी 'तिस्सा' (Tisza) पार्टीले संसद्का १९९ मध्ये १३८ सिटमा जित हासिल गर्ने निश्चित भएको छ । यो जितले माग्यारलाई संविधान संशोधन गर्न आवश्यक पर्ने दुई तिहाइ बहुमत समेत प्रदान गरेको छ । अर्कोतर्फ, विगत चार निर्वाचनमा लगातार दुई-तिहाइ बहुमत ल्याउन सफल ओर्बानको 'फिडेज' (Fidesz) पार्टी यसपटक ५५ सिटमा खुम्चिएको छ । ओर्बानले चुनावी हार स्वीकार गर्दै यो नतिजालाई आफ्ना लागि 'पीडादायी तर स्पष्ट' भएको बताएका छन्।
पिटर माग्यार, जो कुनै समय ओर्बानकै पार्टीभित्रका एक प्रभावशाली पात्र थिए, उनले हंगेरीलाई ओर्बानको 'शासन बाट मुक्त गराएको घोषणा गरेका छन् । बुडापेस्टको ड्यान्युब नदी किनारमा भेला भएका हजारौँ उत्साहित समर्थकहरूलाई सम्बोधन गर्दै माग्यारले आफूहरूले मिलेर देशलाई स्वतन्त्र बनाएको बताए। माग्यारको नामको अर्थ हंगेरियन भाषामा 'हंगेरीको नागरिक' भन्ने हुन्छ र उनले विगत दुई वर्षदेखि हंगेरीका गाउँ-गाउँ र सहरहरू पुगेर भ्रष्टाचार र नातावाद विरुद्ध जनलहर सिर्जना गरेका थिए।
ओर्बानको यो पराजय उनका अन्तर्राष्ट्रिय मित्रहरूका लागि पनि ठूलो झट्का सावित भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका सहयोगी मानिने ओर्बानलाई जिताउन अमेरिकी उपराष्ट्रपति जेडी भान्सले निर्वाचनको केही दिनअघि मात्र हंगेरीको भ्रमण गरेका थिए। ट्रम्पले सामाजिक सञ्जालमार्फत ओर्बानलाई एक 'साँचो मित्र र विजेता' भन्दै मतदान गर्न अपिल समेत गरेका थिए। तर, हंगेरीका मतदाताले विदेशी शक्तिहरूको आग्रहभन्दा आफ्नै मुलुकको आन्तरिक अवस्थालाई प्राथमिकता दिएको देखिएको छ।

चुनावी अभियानका क्रममा ओर्बानले सुरक्षा र सार्वभौमिकताको मुद्दा उठाउँदै हंगेरी युक्रेन युद्धमा तानिन सक्ने भन्दै जनतामा त्रास फैलाउने कोसिस गरेका थिए। उनले युक्रेनी राष्ट्रपति जेलेन्स्की र उदारवादी अर्बपति जर्ज सोरोस जस्ता व्यक्तिहरूलाई 'शत्रु'को रूपमा उभ्याएका थिए। तर, कमजोर आर्थिक अवस्था, जीर्ण स्वास्थ्य सेवा र व्यापक भ्रष्टाचारबाट दिक्क भएका हंगेरियन जनताले ओर्बानको विदेशी शत्रु देखाउने रणनीतिलाई यसपटक पत्याएनन्।
माग्यारको विजयले हंगेरी र युरोपेली संघबीचको सम्बन्धमा पनि नयाँ सुधार ल्याउने अपेक्षा गरिएको छ। ओर्बान लामो समयदेखि युरोपेली संघको नीतिहरूको बाधक बन्दै आएका थिए। माग्यारले शिक्षा र स्वास्थ्य क्षेत्रमा ओर्बानले गरेका विवादित परिवर्तनहरूलाई उल्टाउने, न्यायपालिकाको स्वतन्त्रता पुनर्स्थापना गर्ने र सरकारी स्रोतको दुरुपयोग गर्ने 'नेर' नामक प्रणालीलाई अन्त्य गर्ने प्रतिवद्धता जनाएका छन्।

निर्वाचनको रात हंगेरीको राजधानी बुडापेस्टमा उत्सवको माहोल देखिएको थियो। धेरै मतदाताले यो परिवर्तनलाई सन् १९९० मा सोभियत संघको पतन पछिको सबैभन्दा ठूलो लोकतान्त्रिक मोडको रूपमा व्याख्या गरेका छन्। ७९.५ प्रतिशतको रेकर्ड मतदानले हंगेरीका जनता परिवर्तनका लागि कति भोका थिए भन्ने स्पष्ट पारेको छ। अब सबैको ध्यान नवनिर्वाचित प्रधानमन्त्री माग्यारतर्फ मोडिएको छ, जसले ओर्बानले निर्माण गरेको १६ वर्ष पुरानो राजनीतिक संरचनालाई भत्काएर नयाँ प्रजातान्त्रिक हंगेरी निर्माण गर्ने चुनौती सामना गर्नुपर्नेछ।