प्रधानमन्त्री बालेन्द्र शाहदेखि मन्त्रीसम्मको सम्पत्ति विवरण त पक्कै देख्नुभयो होला । के तपाईंले पाँच सुपर धनी मन्त्रीहरूको विवरण गहिरोसँग नियाल्नुभयो त ? नियाल्नुभएको छैन भने, आउनुहोस्, हामी तपाईंहरूलाई विस्तृतमा बताउँछौं ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रीहरूले आइतबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
सार्वजनिक भएको विवरण अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको बैंक खातामा १ करोड ४६ लाख रूपैयाँ रहेको छ, जुन उनले फेसबुक, युट्युब र टिकटक लगायत सामाजिक सञ्जालबाट कमाएको उल्लेख गरेका छन् ।
उनकी श्रीमती सविना काफ्लेको नाममा पैत्रिक सम्पत्तिका रूपमा १९० तोला सुन रहेको छ भने उनका पिता रामनारायण शाहको नाममा महोत्तरीमा ९ बिघा जमिन रहेको विवरणमा उल्लेख छ ।
उनकी आमा ध्रुवदेवी शाहको नाममा काठमाडौं वडा नं. ९ मा ५ आना र धनुषामा १.२ बिघा जमिन रहेको विवरणमा उल्लेख छ । सामाजिक सञ्जालमा पनि उनको प्रभाव उल्लेखनीय छ जहाँ फेसबुकमा ४ मिलियन, युट्युबमा १.२ मिलियन र ट्विटरमा ५ लाख सदस्य रहेका छन् ।

सरकारका अर्का धनी मन्त्री हुन्, सम्मित पोखरेल । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री समेत रहेका पोखरेलसम्पत्ति उल्लेख्य रहेको विवरणमा देखिन्छ ।
उनले आफ्नो परिवारको करिब २४ करोड १६ लाख २७ हजार रूपैयाँ बराबरको अचल सम्पत्ति सहेको विवरण सार्वजनिक गरेका छन् ।
काठमाडौं, मोरङ र ललितपुरमा घरजग्गा रहेको उनले उल्लेख गरेका छन् भने २५ तोला सुन, १०० तोला चाँदी, बैंक खातामा ४ लाख ४७ हजार ९९४ रूपैयाँ मौज्दात रहेको उनले उल्लेख गरेका छन् ।
विभिन्न कम्पनीमा करिब ३० लाख बराबरको शेयर, राष्ट्रिय बचतपत्रमा ठूलो लगानी र परिवारका नाममा सेयर खरिद गरिएको पनि उल्लेख गरिएको छ । साथै, उनी र उनकी आमाको नाममा कूल ७५ लाख रूपैयाँ ऋण रहेको छ ।
यस्तै, अर्थमन्त्री स्वर्णिम वाग्लेले १२ करोड ७५ लाख रूपैयाँ बराबरको घरजग्गा रहेको विवरण सार्वजनिक गरेका छन् । उनको नाममा ललितपुरको सानेपा र भैँसेपाटी, काभ्रेको धुलिखेल तथा तनहुँको बन्दीपुरमा जग्गा रहेको देखिन्छ ।
उनले भैँसेपाटीमा ५ करोड, सानेपामा २ करोड, धुलिखेलमा ३ करोड ७५ लाख र बन्दीपुरमा २ करोड रूपैयाँमा जग्गा खरिद गरेको उल्लेख गरेका छन् । वैदेशिक रोजगारी, निजी सम्पत्ति बिक्री, बैंक ऋण तथा व्यक्तिगत सापटीमार्फत् सम्पत्ति जोडेको उनले बताएका छन् ।

यस्तै, अर्को धनी मन्त्री गौरीकुमारी यादव हुन् । उद्योमन्त्री यादवको नाममा काठमाडौंमा १ रोपनी जग्गा र तीन तल्ले घर रहेको छ भने काठमाडौंमै १४ आना, ७ आना र ९ आना गरी तीन स्थानमा जग्गा रहेको छ । महोत्तरीमा १४ कठ्ठा, १५ कठ्ठा, ५.५ बिघा, १ बिघा र १ कठ्ठा जग्गामा पोखरी रहेको विवरणमा उल्लेख छ ।
उनीसँग १८० तोला सुन, २ किलो चाँदी र २ सेट हिरा रहेका छन् । शिवजी यादवको नाममा ३ करोड ३८ लाख ३६ हजार बराबरको शेयर रहेको छ भने बिगमार्टलाई लिजमा दिएको जग्गाबाट मासिक ९० हजार भाडा आउने उल्लेख छ ।
उनको नाममा ५७ लाखको गाडी पनि रहेको छ र विभिन्न बैंक तथा अटो कर्जासहित ऋणसमेत रहेको देखिन्छ ।
यसैगरी, गृहमन्त्री सुधन गुरुङ पनि धनी मन्त्रीका रूपमा रहेका छन् । उनीसँग धनकुटा, चितवन र गोरखा गरी ३ ठाउँमा २६० रोपनी १५ आना जग्गा रहेको उल्लेख छ ।
लक्ष्मी सनराइज बैंक, नबिल बैंक र सानिमा बैंकमा गरी उनीसँग ६१ लाखभन्दा बढी नगद मौज्दात रहेको छ । साथै, उनीसँग ८९ तोला सुन र ६ किलो चाँदी समेत रहेको विवरणमा उल्लेख गरिएको छ ।

यस सूचीबाहेक अन्य मन्त्रीहरूको सम्पत्ति विवरण पनि कम रोचक छैन । परराष्ट्र मन्त्री शिशिर खनालको नाममा काठमाडौंमा ६ आना जग्गा र घर रहेको छ भने तनहुँ, पूर्वनवलपरासी र बाँकेमा २८ रोपनी २ कठ्ठा जग्गा रहेको छ ।
उनीसँग २२ तोला सुन, १३ लाख नगद, विभिन्न कम्पनीमा सेयर, ४० लाख बराबरको गाडी र करिब १ करोड ऋण रहेको छ ।
ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठसँग काठमाडौंमा २ वटा घर र ६ आना जग्गा रहेको विवरणमा उल्लेख छ । त्यसबाहेक उनीसँग १५ तोला सुन, ८० लाख ४० हजार बैंक बचत, १ करोड ४५ लाख बराबरको सेयर, ३ लाखको घडी तथा २ वटा गाडी रहेका छन् ।
भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री सुनिल लम्सालसँग रुपन्देहीमा परिवारको नाममा १ कठ्ठा १० धुर जग्गा र घर, नवलपरासीमा १० कठ्ठा १५ धुर र स्याङ्जामा २९ रोपनी जग्गा रहेको उल्लेख छ । उनीसँग ३० तोला सुन र ५० तोला चाँदी रहेको छ । त्यसैगरी, उनको खातामा ९० लाख मौज्दात रकम रहेको छ ।
त्यसैगरी, कानूनमन्त्री सोविता गौतमासँग श्रीमानको नाममा काठमाडौंमा घर रहेको उल्लेख छ । त्यस्तै, उनकी सासुको नाममा चितवनमा घर पनि रहेको छ । उनीसँग १५ तोला सुन र १ तोला हिरा रहेको उल्लेख छ । बैंकको ऋणमा आफू र श्रीमानसँग गाडी रहेको उनले उल्लेख गरेकी छन् । त्यसैगरी, उनको बैंक खातामा १० लाख रकम रहेको समेत विवरणमा उल्लेख छ ।
त्यस्तै, महिला तथा बालबालिका मन्त्री सीता बादीसँग काठमाडौंमा ससुराको नाममा घर, १८ तोला सुन, १५ तोला चाँदी, १५ लाख बैंक मौज्दात, ३ ल्यापटप, २ मोबाइल, २० वटा कुखुरा र १ वटा कुकुर रहेको उल्लेख गरिएको छ ।

संघीय मामिला मन्त्री प्रतिभा रावलसँग बूढानीलकण्ठमा ५ आना र बारामा १० धुर जग्गा रहेको उल्लेख छ । उनले २५ तोला सुन, २४ लाख ७८ हजार बैंक मौज्दात र ४४ लाखको गाडी रहेको बताएकी छन् ।
त्यसैगरी, स्वास्थ्य मन्त्री निशा मेहतासँग काठमाडौंमा ७ आना जग्गा, ३० तोला सुन, ५० तोला चाँदी, हिराको औंठी, १७ लाख बैंक मौज्दात र २५ लाखको गाडी रहेको छ ।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेलसँग पोखरामा २ करोड ६० लाखको घर, ११ तोला सुन, ५ तोला चाँदी, १८ हजार १५२ कित्ता सेयर र २ वटा स्कुटी रहेका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनासँग पत्नीको नाममा काठमाडौंमा घरजग्गा, ५ तोला सुन, १० तोला चाँदी, २३ लाखको गाडी र ४८ लाख ऋण रहेको विवरणमा रहेको छ ।
कृषि तथा पशुपन्छी मन्त्री गीता चौधरीसँग घर नभएको उल्लेख गरिएको छ । उनीसँग बर्दियाको राजापुरमा ३० लाखमा जग्गा खरिद गरेको र रुपन्देहीमा पैत्रिक जग्गा रहेको उल्लेख छ । उनले आफूसँग ५ तोला सुन, १०० तोला चाँदी, २ वटा बाख्रा, १ स्कुटर र १० वटा कुखुरा रहेको उल्लेख गरेकी छन् ।
श्रममन्त्री रामजी यादवले आफूसँग राजविराजमा घरसहित ११ आना जग्गा रहेको उल्लेख गरेका छन् । उनले राजविराजकै अन्य स्थानमा २५ रोपनी १० आना जग्गा समेत रहेको उल्लेख गरेका छन् ।
उनले यसबाहेक ८० तोला सुन, १५० तोला चाँदी, मोटरसाइकल, म्याकबुक र बैंकमा ७० लाख रूपैयाँ मौज्दात रहेको उल्लेख गरेका छन् ।
यसरी हेर्दा सार्वजनिक गरिएको सम्पत्ति विवरणले सरकारभित्रको आर्थिक अवस्था र सम्पत्तिको विविधता स्पष्ट रूपमा देखाएको छ, जहाँ केही मन्त्रीहरूसँग अर्ब नजिकको सम्पत्ति छ भने केहीसँग साधारण स्तरको सम्पत्ति मात्र देखिन्छ।
हेर्नुहोस् भिडियो :